+

किन बढ्दैछ सिजेरियन डेलिभरी ? सुबिधा छ भन्दैमा हतार नगर्ने कि ?

२०७४ माघ  २८ गते ११:३२ २०७४ माघ २८ गते ११:३२
किन बढ्दैछ सिजेरियन डेलिभरी ? सुबिधा छ भन्दैमा हतार नगर्ने कि ?

संगिता मण्डल २४ वर्षीया गृहणी हुन् । सानै उमेरमा बिवाह गरेको कारण २२ वर्ष नपुग्दै तेस्रो सन्तानको जन्म दियो । २ पटक घरमा नै प्रसव गरेकी सुनितालाई यस पटक भने लामो समय (२ दिन) ब्यथा लागेर पनि सन्तान नजन्मेपछि मात्र अस्पताल ल्याइयो ।

अस्पतालमा उनको परीक्षण गर्दा बच्चा आउन नसकेर बच्चाको टुटुल्को (क्यापुट) मात्र बनेको थिएन, बच्चाको ढुकढुकी पनि कम भइसकेको थियो । चिकित्सकले तुरुन्त शल्यक्रिया (सिजर) गरे मात्र बच्चालाई बचाउन सकिने बताए । शल्यक्रिया भन्ने बितिकै उनको सासु डरायो । तर सन्तानको मायाले गर्दा नाई भन्न सकेनन् ।

प्रसव एक जटिल प्रक्रिया

समान्य अर्थमा भन्नु पर्दा सन्तान जन्माउने अर्थात प्रसव गराउने तरिकालाई ‘डेलिभरी’ भनिन्छ । बच्चा जन्माउने र बंश बढाउने कामलाई समान्य भनिए पनि यो एउटा जटिल प्रक्रिया हो र यस क्रममा भएका जटिलताहरुको कारणले आमाको, बच्चाको वा आमा र बच्चा दुवैको मृत्यु समेत हुने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको तथ्याङ्क अनुसार सन् २०१६ मा नेपालको मातृ मृत्युदर २३९ रहेको छ जुन सन् २००६ मा २८१ थियो । १९९० मा ७७० र १९९६ मा ५३९ रहेको थियो ।

गर्भावस्थाको ब्यवस्थापनमा भएको सुधार, स्वास्थ्य संस्थामा प्रसुति गराउनेहरुको संख्यामा बृद्धि, स्वास्थ्य सेवाको बिस्तार अनि गर्भपतनलाई कानुनी मान्यता र उचित ब्यवस्थापन जस्ता महत्वपूर्ण सुधारले मातृ मृत्युदरमा उल्लेखनीय प्रगति भएको हुनुपर्छ ।

नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ का अनुसार हाल ८४ प्रतिशत गर्भवती महिलाहरुले तालिम प्राप्त स्वास्थ्यकर्मी (चिकित्सक, नर्स वा अ.न.मी.) बाट गर्भको परीक्षण गराउने गरेका छन् जुन सन् १९९६ मा मात्र २४ प्रतिसत रहेको थियो ।

सन् १९९६ मा कुल प्रसुति (डेलिभरी) को १८ प्रतिसत मात्र स्वास्थ्य संस्थामा हुने गरेको थियो भने सन् २०११ मा सो संख्या बढेर ३५ प्रतिसत र २०१६ मा यो संख्या ५७ प्रतिसत पुगेको सो सर्भेले देखाएको छ । अहिलेको आधुनिक युगमा पनि ४१ प्रतिशत प्रसुति घरमा हुने गरेको सर्भेले देखाएको छ ।

किन हुँदैन नर्मल डेलिभरी ?

डेलिभरी धेरै किसिमका हुन्छन् । प्राकितिक रुपमा वा कुनै बाहृय सहयोग बिना हुने डेलिभरीलाई सामान्य वा ‘नर्मल डेलिभरी’ भनिन्छ । धेरै अवस्थामा नर्मल डेलिभरी नै हुने गर्छन ।

नर्मल डेलिभरी हुन नसक्ने अवस्थाहरुमा आमा, बच्चा वा दुवैलाई जोगाउन औजार (भ्याकुम तथा फोरसेप) प्रयोग गर्ने अर्थात ईन्स्टुमेन्टल डेलिभरी अथवा सिजरियन सेक्सन अर्थात शल्यक्रिया गरेर डेलिभरी गराउनु पर्ने हुन्छ ।

यसरी डेलिभरी गराउनु भनेको एउटा बाध्यात्मक अवस्था पनि हो । प्रसव पीडा सुरु भएको बेला आमा वा बच्चमा कुनै समस्या देखिएमा तथा प्रसव पीडा सुरु भएको लामो समय बितिसक्दा पनि डेलिभरी हुन नसकेको अवस्थाहरुमा डेलिभरी गराउन भ्याकुम वा फोरसेपको प्रयोग गर्नु पर्ने हुन सक्छ । तर यस्ता सबै अवस्थाहरुमा औजारहरुको प्रयोग गर्न सकिदैन ।

यसका लागि पाठेघरको मुख पूर्णरुपले खुलिसकेको हुनुपर्ने, ब्यथा लागेको हुनुपर्ने लगायत अन्य धेरै अवस्थाहरु मिलेको हुनु पर्छ । औजार प्रयोग गर्दा सावधानी नअपनाएको अवस्थामा बच्चाको टाउकोमा चोट लाग्न सक्ने, टुटुल्को उठ्न सक्ने, स्नायुमा चोट लाग्न सक्ने तथा आमाको योनीमार्गमा घाउ लाग्न सक्ने, पिसाब तथा दिसाका समस्याहरु थपिन सक्ने जस्ता जोखिम हुन सक्छ ।

त्यसैले औजार प्रयोग गरेर डेलिभरी गराउन सकिने अवस्थामा पनि कति बिमारी तथा बिमारीका आफन्तहरुले यस लागि अनुमती (कन्सेन्ट) दिन चाहदैनन् । जसले गर्दा पछिल्लो समयमा औजार प्रयोग गरेर हुने डेलिभरीमा कमी आएको देखिन्छ । तर आवस्यक रहेको अवस्थामा उचित समयमा सहि तरिकाले औजार प्रयोग गर्न सके आमा र बच्चा दुवैलाई खतरा नरहने र अनावश्यक रुपमा सिजरियन गर्नु नपर्ने निश्चित छ ।

कुन अवस्थामा सिजेरियन डेलिभरी ?

डा. बालकृष्ण साह

पछिल्लो समयमा सिजरियन डेलिभरी अर्थात बच्चाको जन्म योनीमार्गबाट नगराएर, पेटको तल्लो भाग र पाठेघरमा शल्यक्रिया गरेर सोझै बच्चा जन्माउनेहरुको संख्या बढेको देखिन्छ ।

वर्तमान अवस्थामा औषधि तथा अन्य आवश्यक सामग्री सजिलै उपलब्ध हुने र राम्रो तरिकाको बिकास भइसकेको कारणले सिजरियनलाई सुरक्षित मान्न सकिन्छ ।

गर्भवती महिलाको अन्य रोगहरु नभएको अवस्थामा (बिशेषगरी मुटु, मृगौला, फोक्सो, रगतको समस्या नभएको) सिजरियन गरे, यसैको कारण महिलाको मृत्यु हुने सम्भावना निकै न्यून रहन्छ ।

समान्य अर्थमा भन्नु पर्दा बच्चा जन्माउने अन्तिम बिकल्पका रुपमा सिजरियन डेलिभरीलाई लिने गरिन्छ । सिजरियन नै गर्नुपर्ने कारणहरु धेरै रहेका छन् ।

१. आमाको पेल्भिस् सानो भएको अवस्थामा बच्चाको टाउको सो बाटो भएर आउन नसक्ने वा पेल्भिस् ठिकै भए पनि बच्चाको टाउको नै ठूलो भएको अवस्था सिजरियन डेलिभरीको प्रमुख कारण रहने गरेको पाइन्छ ।

२. बच्चा उल्टो, तेर्सो वा अन्य नमिलेको अवस्थामा रहेको, बच्चाको मुटुको धडकन सामान्य भन्दा कम वा बढी भएको, शालनाल पाठेघरको मुखमा रहेको, ब्यथा लगाएर पनि डेलिभरी नभएको जस्ता अवस्थाहरुमा पनि सिजरियन गर्नु पर्ने हुन्छ ।

३. पहिलाको डेलिभरी सिजरियन भएको कतिपय अवस्थामा पुनः डेलिभरी गराउदा सिजरियन गर्नुपर्ने हुन सक्छ ।

धरानको बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २००६ जनवरी देखि २००७ डिसेम्बर सम्म २ बर्ष लगाएर डा. शैलजा क्षेत्रीले गरेको अध्ययनले सो अस्पतालमा सो अवधि गरिएको कुल ३ हजार ७ सय ६३ सिजरियन मध्ये ८ सय ८३ अर्थात २३ दशमलव ४ प्रतिसत लाई बच्चाले पाठेघरभित्र नै दिशा गरिसकेका कारणले सिजरियन गरेको देखाएको छ ।

बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सो २ बर्षको अवधिमा छ सय पचास अर्थात १७ दशमलव २७ प्रतिसतलाई पहिले सिजरियन डेलिभरी भएका कारणले दोस्रो पटक पनि सिजरियन डेलिभरी गर्नु परेको देखाएको छ ।

सिजेरियन कति सुरक्षित ?

पछिल्लो समयमा सिजरियनको सेवा दिन सक्ने क्षमता मात्र बढेको छैन, सिजरियन हुने संख्यामा पनि निकै गुणाले बृद्धि भएको सन् १९७० मा अमेरिकामा ४ दशमलव ५ प्रतिसतमा मात्र सिमित रहेको सिजरियन डेलिभरी सन् २००७ मा सोहि मुलुकमा ३१ दशमलव ८ प्रतिसतमा पुगेको अध्ययनले देखाएको छ ।

नेपालमा पनि सिजरियन डेलिभरीको दरमा उल्लेखनीय बृद्धि भएको देखिन्छ । नेपालमा रहेका सबै अस्पतालहरुमा एउटै दरमा सिजरियन हुने गरेका छैनन् । अस्पतालमा रहेको सुबिधा, बिमारीको चाप र प्रकार अनि अस्पतालको नीतिले पनि सिजरियन हुने दरमा असर गर्न सक्छ ।

सिजरियन सुबिधा नभएको स्वास्थ्य संस्थामा सिजरियन भएको नदेखिने हुन्छ भने यस्ता संस्थाहरुबाट संपे्रषन -रिफर) गर्ने अस्पतालमा सो बढि देखिने हुन्छ ।

सन् १९९७ को मार्च देखि सन् २००२ को अप्रील सम्मको ५ बर्ष अवधिमा नेपाल मेडिकल कलेज जोरपाटिमा भएको कुल १ हजार ७ सय २७ डेलिभरी मध्ये १ सय ६३ जना (९ दशमलव ४ प्रतिसत) लाई मात्र सिजरियन गरिएको थियो ।

तर आज अवस्था त्यस्तो छैन । नेपालको सबै भन्दा ठुलो तथा बढि डेलिभरी हुने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थपाथलीमा गत आ.ब.२०६९/७० मा भएको कुल २३ हजार १ सय ५५ डेलिभरी मध्ये ४ हजार ६ सय २ जना (१९.८७ ) लाई सिजरियन गरेको सो अस्पतालको स्मारिकामा उल्लेख गरिएको छ । गत आर्थिक बर्ष अर्थात २०७३ श्रावण देखि २०७४ अषाढ मसान्त सम्ममा मोरङ्ग सहकारी अस्पतालमा मैले गरेको १४० सिजरियन मध्ये बढि २७ प्रतिसतको कारण गर्भमा बच्चाको ढुकढुकी कम (फेटल डिस्ट्रेस) भएकोले गर्नु परेको थियो ।

त्यस्तै बच्चाले गर्भमा दिशा गरेको, व्यथा नलागेर तथा समयमा प्रसव हुन नसकेर, रक्तचाप बढेकोले जटिल्ता थपिएकोले सिजरियन गर्नु परेको थियो । कुनै कुनै अवस्थामा प्रसवको दुखाई सहन नसकेर गर्भवतीको अनुरोधमा तथा सायत हेरेर भनेको समयमा नै बच्चाको जन्म दिनका लागि पनि ७ प्रतिसत सिजरियन गरेको थिए ।

सिजेरियन डेलिभरीको अदृश्य कारण

पहिलो बच्चा जन्माउने उमेर बढि हुनु, बच्चाको अवस्थाको बारेमा जन्मनु भन्दा अगाडि नै थाहा पाउनु, औजार प्रयोग गरेर बच्चा जन्माउन नचाहनु, बच्चा उल्टो रहेको थाहा हुनु जस्ता कारणहरु मात्र होईन ‘साईत’ हेरेर बच्चा जन्माउने प्रबृति पनि बढेको छ ।

गर्भवती महिलाहरुले प्रसव पिडा सहन नसक्ने, चाडै आत्तिने र जोखिममा बस्न नचाहने भएकोले पनि सिजरियन डेलिभरीको दर बढ्दै गएकोे छ । बच्चाको अवस्थालाई निरन्तर निगरानी गर्न नसकिने अवस्थामा चिकित्सकहरुले पनि जोखिम लिएर नर्मल डेलिभरीका लागि पर्खन नसक्ने बाध्यता हुन सक्छ ।

आजभोलि मानिसहरु जीवन ब्यस्त रहने गरेको र योजना बनाएर गर्भ राख्ने अनि सो गर्भको लागि सानो जोखिम लिन नचाहने र दम्पतीले नै सिजरियनका लागि अनुरोध गर्ने तथा आमा वा बच्चामा कुनै असर देखिएमा अस्पताल र चिकित्सक माथि नै हाथपात समेत हुन सक्ने खतरा रहेकोले पनि सिजरियन गर्न हतार गरिने गरेको पनि देखिन्छ ।

तर, सचेत हुनुहोस्

सिजरियन डेलिभरी प्रसुतिको अन्तिम बिकल्पका रुपमा रहे पनि धेरै दन्पितीहरुको पहिलो रोजाईमा पर्नु राम्रो होईन । नर्मल डेलिभरी हुन सक्ने अवस्थामा पनि आत्तिएर सिजरियन गर्नु हुदैन । सिजरियन गरे पछि केहि लामो समय अस्पताल बस्नु पर्ने, गर्भवती महिलालाई बेहोस गर्नु पर्ने र बेहोस गर्दा थप जटिल्ता हुन सक्ने जस्ता खतरा रहने हुन्छ ।

नर्मल डेलिभरीको तुलनामा सिजरियन गरेकाहरुमा संक्रमण देखिने वा घाउ पाक्ने सम्भावना बढि रहेको हुन्छ । सिजरियन गरेका महिलाहरुमा दुध ढिला आउने तथा शिशुको श्वासप्रश्वास सम्बन्धि समस्या देखिने हुन सक्छ । यिनीहरुको दोस्रो गर्भमा शाल तल (पाठेघरको मुख छेउ) हुन सक्ने तथा पुनः सिजरियन गर्नु पर्ने हुन सक्छ ।

जति पटक सिजरियन दोहरिने हुन्छ उत्ति नै जटिल्ता थपिदै जाने भएकोले तुरुन्त तुरुन्त र धेरै पटक सिजरियन गर्न वा बच्चा जन्माउन नमिल्नु पनि सिजरियनको एउटा नाकारात्मक पक्ष हो । आवस्यक परेको अवस्थामा सिजरियन गर्न सके आमा र बच्चा दुवैलाई जोगाउने भरपर्दो उपाय हो । त्यसैले दम्पती, चिकित्सक वा अन्य पक्षहरुको अनुकुल हेरेर सिजरियन नरोजेर गर्भवती महिला र गर्भमा रहेको बच्चाको अवस्थालाई राम्ररी मुल्याङ्कन गरेर उपयुक्त तरिका -नर्मल, औजार वा सिजरियन) रोज्न सके आमा, बच्चा र भविष्यका लागि राम्रो हुनेमा दुईमत नहोला ।

सिजेरियन डेलिभरीको इतिहास

विलियमस् अब्सट्रेटिक्सको २२ औं संस्करणमा सिजरियनको इतिहास उल्लेख गरिए अनुसार १०० बी.सी. भन्दा अगाडि नै जुलियस सिजरको जन्म पेट चिरेर गरेको र उनकै नामबाट ‘सिजरियन’ रहेको मान्यता रहे पनि यससंग अनगिन्ति कथाहरु जोडिएको देखिन्छ ।

सन् १८६५ सम्म पनि सिजरियन डेलिभरीलाई सफल मानिएको थिएन । त्यस अवस्थामा बेलायतमा मात्र सिजरियन गर्दा आमाको मृत्यु दर ८५ प्रतिसत रहेको थियो । त्यसबेला पाठेघर सिलाउने र रक्तश्राव रोक्ने प्रबृद्धिको राम्रो बिकास भईसकेको थिएन ।

सन् १८८२ मा पाठेघर सिलाउन चाँदिका तारलाई प्रयोग गरे पछि सिजरियन डेलिभरीका लागि थप अवसरको बिकास भयो । सन् १९१२ पछि पनि यसमा धेरै सुधार देखिएको छ र हाल गरिने सिजरियन डेलिभरी यस भन्दा बिल्कुलै फरक र सुरक्षित रहेको छ ।

सिजेरियन डेलिभरी
लेखक
डा. बालकृष्ण साह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड कसरी हुन्छ ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?