+

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

२०८१ जेठ  ३ गते १८:२९ २०८१ जेठ ३ गते १८:२९
के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

नुन सोडियम क्लोराइडबाट बनेको खनिज हो, जसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ । शरीरका लागि सीमित मात्रामा नुन आवश्यक हुन्छ, किनकि शरीरमा पानीको मात्रा नियन्त्रित राख्नका लागि हामीलाई सोडियमको जरुरत हुन्छ । नुन यसको प्रमुख स्रोत हो ।

दिमागदेखि शरीरका अन्य अंगसम्म सूचना आदानप्रदान गर्नका लागि सोडियमको महत्त्वपूर्ण भूमिका हुन्छ । साथै मांसपेशीलाई सक्रिय बनाइराख्नका लागि सोडियम चाहिन्छ । तर नुनको बढी प्रयोग हानिकारक हुनसक्छ । उच्च रक्तचाप जस्ता समस्यामा त नुन झन् धेरै हानिकारक हुनसक्ने चिकित्सक बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले मानव शरीरका लागि दैनिक पाँच ग्राममुनि नुन आवश्यक हुन्छ भनेको छ । त्यसभन्दा बढी भएमा स्वास्थ्यलाई हानि पुर्‍याउँछ ।

धेरै मात्रामा नुन खाँदा के हुन्छ ?

उच्च रक्तचाप

अत्याधिक नुन सेवनको सबैभन्दा ठूलो असर रक्तचापमा वृद्धि हुनु हो । नुनमा सोडियम हुन्छ र जब धेरै सोडियम खाइन्छ, हाम्रो शरीरमा पानी जम्मा हुन्छ, जसले रगतको मात्रा बढाउँछ र रक्तनलीहरूमा दबाब दिन्छ ।

मिर्गौला बिग्रन सक्छ

शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्न मिर्गौलाले ठूलो भूमिका खेल्छ । धेरै नुन सेवन गर्दा मिर्गौलामा दबाब पर्न सक्छ र तिनीहरूको काममा बाधा पुग्न सक्छ, जसले समयको साथ मिर्गौलालाई क्षति पुर्‍याउँन सक्छ ।

हृदयरोगको जोखिम बढ्छ

अत्याधिक नुनको सेवनले उच्च रक्तचाप बढ्छ । उच्च रक्तचाप हृदयरोगको प्रमुख कारण हो । यसले मस्तिष्कघात, हृदयघात र अन्य मुटुरोगको जोखिम बढाउँछ ।

छिट्टै बुढ्यौली निम्तिन सक्छ

अत्याधिक नुन सेवनले छिट्टै बुढ्यौली बनाउन सक्छ । किनभने अधिक नुनले आँखाको स्वास्थ्यलाई हानि पुर्‍याउँछ । अत्याधिक नुन सेवनले रगतको गुणस्तर घटाउँछ, जसकारण शरीरमा चाँडो बुढ्यौलीको लक्षण देखिन थाल्छ ।

शरीरमा पानी जम्मा हुन्छ

धेरै नुनको सेवनले शरीरमा पानी जम्मा हुन सक्छ, जसले हात र खुट्टालगायत शरीरका धेरै भाग सुन्निन सक्छन् ।

हड्डी कमजोर हुन्छ

शरीरमा सोडियमको मात्रा बढी हुँदा हड्डी कमजोर हुन्छ । जब हामी धेरै नुन खान्छौं, हड्डी भित्रबाट खोक्रो हुन थाल्छ । जसकारण कम्मर दुख्ने, घुँडा दुख्ने जस्ता समस्या देखिन सक्छ ।

छालामा समस्या

नुन धेरै सेवन गर्दा छालामा पनि विभिन्न खालका समस्या आउँछन् । शरीरमा नुनको मात्रा बढ्यो भने एलर्जी, जलन, सुन्निने जस्ता समस्या देखिन सक्छ ।

नुनको अत्याधिक सेवनबाट बचौ

नियमित आहारमा प्रयोग गरिएको सामान्य नुनबाट शरीरलाई आवश्यक पर्ने सोडियमको परिपूर्ति हुन्छ । हाम्रो खानामा नुन छर्किने बानी छ । नियमित खाना बाहेक हामी उमालेको खाना तथा फल सलादमा नुन छर्किन्छौं, जसले शरीरमा अतिरिक्त सोडियमको भण्डारण गर्छ । त्यसैले अतिरिक्त नुन खानबाट बच्नुपर्छ ।

यूएस फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनका अनुसार हाम्रो आहारमा ७० प्रतिशतभन्दा बढी सोडियम प्याकिङ गरिएको खानाबाट आउँछ । त्यसैले शरीरमा नुनको मात्रा कम गराउन तरकारीमा राख्ने नुनको मात्रा मात्रै घटाएर पुग्दैन । प्याकेट बन्द खानेकुरा र अतिरिक्त नुन थपेर खाने बानी हटाउनुपर्छ ।

नेपाल जस्तो समुन्द्री सतह भन्दा टाढा भएको र समुन्द्री खाना कम खाइने मुलुकमा आयोडिन प्राप्त गर्न नुनको सेवन गर्नुपर्ने हुन्छ । त्यसैले आयोडिनका लागि दुई बालबालिकाको चिन्ह भएको आयो नुनको प्रयोग गर्नुपर्छ । नुनको प्रयोग गर्दा यसको मात्रा कम गर्ने कुरामा भने ध्यान दिनैपर्छ ।

उज्ज्वल रायमाझी नुन स्वास्थ्य
लेखक
उज्ज्वल रायमाझी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?