+

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

२०८१ जेठ  ३ गते १८:२९ २०८१ जेठ ३ गते १८:२९
के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

नुन सोडियम क्लोराइडबाट बनेको खनिज हो, जसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ । शरीरका लागि सीमित मात्रामा नुन आवश्यक हुन्छ, किनकि शरीरमा पानीको मात्रा नियन्त्रित राख्नका लागि हामीलाई सोडियमको जरुरत हुन्छ । नुन यसको प्रमुख स्रोत हो ।

दिमागदेखि शरीरका अन्य अंगसम्म सूचना आदानप्रदान गर्नका लागि सोडियमको महत्त्वपूर्ण भूमिका हुन्छ । साथै मांसपेशीलाई सक्रिय बनाइराख्नका लागि सोडियम चाहिन्छ । तर नुनको बढी प्रयोग हानिकारक हुनसक्छ । उच्च रक्तचाप जस्ता समस्यामा त नुन झन् धेरै हानिकारक हुनसक्ने चिकित्सक बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले मानव शरीरका लागि दैनिक पाँच ग्राममुनि नुन आवश्यक हुन्छ भनेको छ । त्यसभन्दा बढी भएमा स्वास्थ्यलाई हानि पुर्‍याउँछ ।

धेरै मात्रामा नुन खाँदा के हुन्छ ?

उच्च रक्तचाप

अत्याधिक नुन सेवनको सबैभन्दा ठूलो असर रक्तचापमा वृद्धि हुनु हो । नुनमा सोडियम हुन्छ र जब धेरै सोडियम खाइन्छ, हाम्रो शरीरमा पानी जम्मा हुन्छ, जसले रगतको मात्रा बढाउँछ र रक्तनलीहरूमा दबाब दिन्छ ।

मिर्गौला बिग्रन सक्छ

शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्न मिर्गौलाले ठूलो भूमिका खेल्छ । धेरै नुन सेवन गर्दा मिर्गौलामा दबाब पर्न सक्छ र तिनीहरूको काममा बाधा पुग्न सक्छ, जसले समयको साथ मिर्गौलालाई क्षति पुर्‍याउँन सक्छ ।

हृदयरोगको जोखिम बढ्छ

अत्याधिक नुनको सेवनले उच्च रक्तचाप बढ्छ । उच्च रक्तचाप हृदयरोगको प्रमुख कारण हो । यसले मस्तिष्कघात, हृदयघात र अन्य मुटुरोगको जोखिम बढाउँछ ।

छिट्टै बुढ्यौली निम्तिन सक्छ

अत्याधिक नुन सेवनले छिट्टै बुढ्यौली बनाउन सक्छ । किनभने अधिक नुनले आँखाको स्वास्थ्यलाई हानि पुर्‍याउँछ । अत्याधिक नुन सेवनले रगतको गुणस्तर घटाउँछ, जसकारण शरीरमा चाँडो बुढ्यौलीको लक्षण देखिन थाल्छ ।

शरीरमा पानी जम्मा हुन्छ

धेरै नुनको सेवनले शरीरमा पानी जम्मा हुन सक्छ, जसले हात र खुट्टालगायत शरीरका धेरै भाग सुन्निन सक्छन् ।

हड्डी कमजोर हुन्छ

शरीरमा सोडियमको मात्रा बढी हुँदा हड्डी कमजोर हुन्छ । जब हामी धेरै नुन खान्छौं, हड्डी भित्रबाट खोक्रो हुन थाल्छ । जसकारण कम्मर दुख्ने, घुँडा दुख्ने जस्ता समस्या देखिन सक्छ ।

छालामा समस्या

नुन धेरै सेवन गर्दा छालामा पनि विभिन्न खालका समस्या आउँछन् । शरीरमा नुनको मात्रा बढ्यो भने एलर्जी, जलन, सुन्निने जस्ता समस्या देखिन सक्छ ।

नुनको अत्याधिक सेवनबाट बचौ

नियमित आहारमा प्रयोग गरिएको सामान्य नुनबाट शरीरलाई आवश्यक पर्ने सोडियमको परिपूर्ति हुन्छ । हाम्रो खानामा नुन छर्किने बानी छ । नियमित खाना बाहेक हामी उमालेको खाना तथा फल सलादमा नुन छर्किन्छौं, जसले शरीरमा अतिरिक्त सोडियमको भण्डारण गर्छ । त्यसैले अतिरिक्त नुन खानबाट बच्नुपर्छ ।

यूएस फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनका अनुसार हाम्रो आहारमा ७० प्रतिशतभन्दा बढी सोडियम प्याकिङ गरिएको खानाबाट आउँछ । त्यसैले शरीरमा नुनको मात्रा कम गराउन तरकारीमा राख्ने नुनको मात्रा मात्रै घटाएर पुग्दैन । प्याकेट बन्द खानेकुरा र अतिरिक्त नुन थपेर खाने बानी हटाउनुपर्छ ।

नेपाल जस्तो समुन्द्री सतह भन्दा टाढा भएको र समुन्द्री खाना कम खाइने मुलुकमा आयोडिन प्राप्त गर्न नुनको सेवन गर्नुपर्ने हुन्छ । त्यसैले आयोडिनका लागि दुई बालबालिकाको चिन्ह भएको आयो नुनको प्रयोग गर्नुपर्छ । नुनको प्रयोग गर्दा यसको मात्रा कम गर्ने कुरामा भने ध्यान दिनैपर्छ ।

उज्ज्वल रायमाझी नुन स्वास्थ्य
लेखक
उज्ज्वल रायमाझी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय