+

हातखुट्टा झमझमाउँछ, के उपचार गर्ने ?

२०८१ जेठ  ४ गते ११:०७ २०८१ जेठ ४ गते ११:०७
हातखुट्टा झमझमाउँछ, के उपचार गर्ने ?

हातखुट्टा झमझमाउँछ के गरौं ? धेरैले सोधिरहेको प्रश्न हो यो । लामो समय एउटै आसनमा बस्दा हात खुट्टा झमझमाउनु सामान्य हो । यद्यपि यस्तो समस्या अरुबेला पनि हुनसक्छ । यस्तो किन हुन्छ ? के यो कुनै रोगको संकेत हो ?

हातखुट्टा झमझमाउने कारण

लामो समय एउटै आसनमा बस्नु

लामो समयसम्म एउटै आसनमा उभिंदा वा बस्दा हातखुट्टा झमझमाउने समस्या हुन्छ । यस्तो अवस्थामा रक्तसञ्चार राम्ररी हुन सक्दैन र दबाब भएको ठाउँमा झनझन महसुस हुन्छ । स्नायु र मेरुदण्डमा अत्याधिक दबाबले पनि झनझन हुन सक्छ । कहिलेकाहीं झमझमाउनु सामान्य भएपनि दिनमा चारपटक नै यस्तो हुन्छ भने चाँडो परीक्षण गराइहाल्नुपर्छ ।

भिटामिन बी र ईको कमी

शरीरमा भिटामिन बी र ईको कमीले स्नायु र शरीरका अन्य अंगहरुलाई असर गर्छ । स्वस्थ शरीरका लागि पर्याप्त पोषक तत्त्वको जरुरी हुन्छ । यसको कमीले शरीरका नसाहरू कमजोर हुने भएकाले झमझमाउने समस्या हुन्छ । यो एक संकेत हो कि आफ्नो आहारमा ध्यान दिनुपर्छ ।

अत्याधिक मदिरा सेवन

मदिराको अत्याधिक सेवनले स्नायु र तन्तुलाई नोक्सान पुर्‍याउँछ । अत्याधिक मात्रामा रक्सी पिउनाले शरीरमा आवश्यक पोषक तत्त्वहरू जस्तै भिटामिन बी १२ र फोलेट कम हुन्छ । जसकारण स्नायुमा नराम्रो असर पर्छ र हातखुट्टा झमझमाउने समस्या हुनसक्छ ।

थाइराइडको कारण

हाइपोथाइराइडिज्मको समस्या हुने व्यक्तिले पनि हातखुट्टा झमझमाउने समस्या भएको गुनासो गर्छन् । थाइराइडको समस्यालाई नियन्त्रणमा राखिएन भने यो समस्या हुन्छ ।

मधुमेहको कारण

मधुमेहका बिरामीमा हातखुट्टा झमझम हुनु एक लक्षण हुनसक्छ । मधुमेह रोगीको शरीरमा रगतमा चिनी र इन्सुलिन बढ्न थाल्छ, जसले स्नायुमा असर गर्छ । मधुमेह अनियन्त्रित हुँदा बारम्बार यस्तो महसुस हुन्छ । यसैगरी बाथरोगका बिरामी, डिप्रेसन वा एन्जाइटीको समस्या भएकालाई पनि हातखुट्टा झमझझाउने समस्या देखा पर्न सक्छ ।

मिर्गौलामा समस्या हुँदा

मिर्गौलाको समस्या भएका व्यक्तिमा प्रत्यक्ष असर स्नायुमा पर्छ, जसकारण स्नायु कमजोर हुन्छ । मिर्गौला फेल हुँदा पनि शरीरमा केही तरल पदार्थ जम्मा हुन थाल्छ, जसले स्नायुमा नराम्रो प्रभाव पार्छ र हातखुट्टा झमझमाउने हुन थाल्छ ।

रक्तसञ्चार सामान्य नहुँदा

शरीरमा रक्तसञ्चार सामान्य नहुँदा पनि हातखुट्टा झमझमाउन सक्छ । शरीरमा रक्तसञ्चार नहुनु वा अवरोध भएमा यसले स्नायुमा असर पार्छ, जसकारण शरीरका धेरै भागमा अक्सिजन पुग्दैन र हातखुट्टा झमझमाउन सक्छ ।

के गर्ने ?

कहिलेकाहीं हातखुट्टा झमझमाउनु सामान्य हो । हातखुट्टा झमझमाएको बेला वरिपरि हिंडडुल गर्नुपर्छ । यसो गर्दा शरीरमा रक्तप्रवाह राम्रो हुन्छ र स्नायुहरूमा अक्सिजन पुग्छ, जसले गर्दा झमझमाउने समस्या कम हुन्छ ।

यो समस्याले बारम्बार समस्या दिइरहेको छ भने योग र ध्यानले समस्यालाई कम गर्न सक्छ । यी अभ्यासले रक्तसञ्चारमा सुधार गर्छ । स्नायुहरू स्वस्थ रहन मद्दत गर्छ । जसकारण हातखुट्टा झमझमाउने समस्या कम हुन्छ ।

पोषणको कमीले पनि हातखुट्टा झमझमाउने हुँदा दैनिक आहारमा विभिन्न प्रकारका स्वास्थकर खाना समावेश गर्नुपर्छ । यसले शरीरमा भिटामिन र खनिजको मात्रा कायम राख्न मद्दत गर्छ ।

मदिराको अत्याधिक सेवनले पनि हातखुट्टा झमझमाउने समस्या देखापर्ने भएकाले रक्सी सेवन नगरेर पनि यो समस्याबाट बच्न सकिन्छ ।

कस्तो अवस्थामा चिकित्सकलाई भेट्ने ?

कहिलेकाहीं हातखुट्टा झमझमाउँछ भने आत्तिनु पर्दैन । तर बारम्बार यस्तो भइरहेको छ, हातखुट्टा झमझमाउनुका साथै शरीर कमजोर भएको महसुस हुँदैछ, दैनिक जीवनमै प्रभाव पारेको खण्डमा तुरुन्त परीक्षण गराउनुपर्छ ।

सुरुमा ब्लड सुगरको मात्रा जाँच्नुपर्छ । त्यसपछि बाथरोग, थाइराइड भएको वा नभएको छुट्याउन जाँच गर्नुपर्छ । यसरी प्रक्रियागत रुपमा जाँच गर्दा केही देखिएन भने न्युरोलोजिस्ट वा न्युरो सर्जनलाई देखाउनुपर्छ ।

निकै कमजोरी महसुस भयो, झमझमाइरहँदा हातले केही समाउन मुस्किल पर्न थाल्यो र हिंड्न मुस्किल भयो, ढाड, गर्धन दुख्यो भने सुषुम्ना नलीको समस्या हुनसक्छ । यस्तो भए तुरुन्त अस्पताल गएर हातखुट्टा झमझमाउने कारण पत्ता लगाएर उपचार गर्नुपर्छ ।

डा. सुनिलराम कोइराला स्वास्थ्य हातखुट्टा झमझमाउने
डा. सुनिल कोइराला
लेखक
डा. सुनिल कोइराला
वरिष्ठ कल्सल्टेन्ट न्युरोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३०२७ एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), डीएम (न्युरोलोजी) हाल वीर अस्पतालको न्युरोलोजी विभागमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय