+

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

२०८१ जेठ  ३ गते ७:५८ २०८१ जेठ ३ गते ७:५८
Shares
‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

पहिले–पहिले मानिसहरू भन्थे— ‘छारेरोग लागेकालाई जुत्ता सुँघाउनुपर्छ ।’ तर, यो एकदमै पुरातन र अवैज्ञानिक बुझाइ हो । हुनसक्छ, त्यसबेला यसबारे मान्छेमा ज्ञान थिएन । कोही अचानक बेहोश भएमा जुत्ता सुँघाउने गरियो र उक्त व्यक्ति तंग्रिए होलान् । यो संयोग मात्र हो ।

छारेरोग लागेका व्यक्ति जब बेहोश हुन्छ, सामान्यतः त्यो केही सेकेन्डको लागि मात्र हुन्छ । केही गर्नै पर्दैन, आफैं होश खुल्छ । तर, कसैमा यो अवधि लम्बिन सक्छ र समस्या जटिल बन्न सक्छ । कतिपय अवस्थामा मृत्यु नै पनि हुनसक्छ ।

तर, हामीकहाँ छारेरोग आम समस्या जस्तो भइसकेको छ । मैले दिनमा ५० जना बिरामी हेरें भने त्यसमध्ये ११ देखि १५ प्रतिशतमा छारेरोगको कुनै न कुनै समस्या देखिएको छ । यो सामान्य संख्या होइन ।

भनिहालौं, अब छारेरोगको उपचार नयाँ एवं उन्नत प्रविधिबाट सुरु भएको छ । यो सुरुवात नेपालकै जेठो अस्पताल वीर अस्पतालबाट भएको हो । सो प्रविधिलाई ‘भेगस नर्भ स्टिमुलेशन’ भनिन्छ । यसले छारेरोग भएकालाई सम्भावित जोखिमबाट बचाउँछ । यो एकदमै सामान्य शल्यक्रियाबाट जडान गरिने प्रविधि हो ।

तर, हामीकहाँ धेरैलाई यसबारे थाहा छैन । त्यसैले मानिसहरू छारेरोग बोकेरै बाँचिरहेका छन् ।

डीप ब्रेन स्टिमुलेशन भनेको के हो ? यसले कसरी काम गर्छ ? यो प्रविधि जडान गर्न कति खर्च लाग्छ ? यावत् प्रश्नको जवाफ खोज्नुअघि सरल भाषामा छारेरोगलाई बुझौं ।

के हो छारेरोग ?

हाम्रो शरीरका गतिविधिलाई नियन्त्रण गर्न मस्तिष्कमा तरंग पैदा हुनेगर्छ । सो तरंग पैदा गर्ने संयन्त्रमा कहिलेकाहीं खराबी आउन सक्छ । यस्तो अवस्थामा शरीरको कुनै अंग चलाउन नसक्ने हुनसक्छ । वा बेहोश हुनसक्छ । यस स्थितिलाई छारेरोग भन्ने गरिएको छ ।

अहिले छारेरोगले धेरैलाई सताएको छ । यही कारण हामीकहाँ यो आम समस्या मानिन्छ ।

छारेरोग किन हुन्छ ?

छारेरोग हुनुमा धेरै कारण छन् । मस्तिष्कमा कुनै पनि समस्या भएमा जस्तो; संक्रमण, ट्युमर, ब्रेन ह्यामरेज छारेरोग हुनसक्छ । कतिपय अवस्थामा जन्मजात पनि यो समस्या आउन सक्छ । छारेरोग भएकामध्ये ८० प्रतिशतको रोग पत्ता लाग्छ । बाँकीको के कारणले भएको हो भन्ने थाहा हुँदैन । त्यसलाई हामी इडियोपेथिक सिजर डिसअर्डर भन्छौं ।

१. कीराको फुल

एक किसिमको कीराको फुल (अण्डा) खाना र पानीको माध्यमबाट हाम्रो पेटमा पुग्छ । त्यो सूक्ष्म अण्डा रगत हुँदै दिमागसम्म पुग्छ । दिमाग यस्तो छ कि, त्यहाँ उक्त कीराको अण्डा पुगेपछि मर्छ । यद्यपि त्यो मरे पनि फर्कने बाटो छैन ।

त्यसले दिमागमा एउटा दाग बनाइदिन्छ । त्यही कारणले हाम्रो देशमा धेरैजसोलाई छारेरोग देखिएको हो ।

२. ब्रेन ट्युमर

ब्रेन ट्युमर छ भने पनि छारेरोगको लक्षण देखिन्छ । ट्युमर, जसले मस्तिष्कलाई असर गरेको हुनसक्छ ।

३. टाउकोमा चोटपटक

टाउकोमा कुनै पनि किसिमको चोटपटक लागेको छ भने त्यसले मस्तिष्कमा असर गर्छ ।

४. ब्रेन ह्यामरेज

छारेरोग हुनुको एउटा कारणमा ब्रेन ह्यामरेज पनि हो ।

मस्तिष्कभित्र अर्बौं संख्यामा नसा हुन्छन्, बिजुलीको तार जस्तै एकअर्कामा जेलिएका । उक्त तारमा कुनै खराबी भएमा पनि छारेरोग देखापर्छ ।

छारेरोग कसलाई हुन्छ ?

यो समस्या जो–कोहीलाई हुनसक्छ । यसमा उमेरको कुनै सीमा छैन । बुढापाका, तन्नेरी, किशोर मात्र होइन शिशुलाई पनि हुनसक्छ । कतिमा जन्मनसाथ यो समस्या हुनसक्छ । कतिमा मृत्युको अघिल्लो दिनसम्म पनि यो समस्या हुनसक्छ । यो जहिले पनि र जसलाई पनि सताउन सक्ने समस्या हो ।

यसको जटिलता के छ ?

छारेरोगकै कारण मृत्यु हुने भन्ने हुँदैन । तर, छारेरोग लागेका कतिपयमा लामो समयसम्म बेहोश हुने जोखिम हुन्छ । यसरी बेहोश हुँदा मस्तिष्कमा अक्सिजन प्रवाह हुन पाउँदैन । यही कारण मान्छेको मृत्यु हुनसक्छ ।

त्यस्तै कतिपय व्यक्ति घाँस–दाउरा गर्न जंगलमा पुगेका हुनसक्छन्, भीर पहरामा काम गरिरहेका हुनसक्छन्, बार्दली, घरको छानो, भित्तामा रंगरोगन वा कुनै काम गरिरहेका हुनसक्छन्, पौडी खेलिरहेका हुनसक्छन् । यस्तो अवस्थामा अचानक बेहोश हुँदा दुर्घटना हुने जोखिम उच्च हुन्छ ।

अब के गर्ने त ?

अवश्य पनि छारेरोगको औषधि खानुपर्छ । यदि ट्युमरले त्यस्तो समस्या ल्याएको हो भने त्यसको शल्यक्रिया गर्नुपर्छ । मस्तिष्कमा रगत जमेको छ भने शल्यक्रिया गर्नुपर्छ । जे समस्या हो, त्यस अनुसार उपचार गर्नुपर्छ ।

छारेरोगको औषधि एक हप्ता, वा महिना दिन खाएर पुग्दैन । सामान्यतः यसको औषधि कम्तीमा पनि दुई वर्षसम्म निरन्तर रूपमा खानुपर्छ । त्यसपछि क्रमशः घटाउँदै बन्द गरिन्छ ।

यसको पनि एउटा, दुईवटा होइन धेरै औषधि छन् । पहिलेको भन्दा अहिलेको औषधि धेरै राम्रो छ । सुरुमा त एउटा औषधि दिएर हेर्ने हो । त्यसले काम गरेन भने दुईवटा, चारवटा औषधि पनि दिनुपर्छ । त्यस्तो अवस्थामा पनि औषधिले काम गरेन भने फेरि अरू उपचार खोज्नुपर्छ ।

हामीले सामान्य हिसाबले के बुझ्नुपर्छ भने कुनै पनि व्यक्तिलाई दुई वटा औषधि खान दिंदा छारेरोग नियन्त्रण भएन भने विकल्प खोज्नुपर्छ । यस्ता व्यक्तिका लागि नयाँ–नयाँ उपचार प्रविधि आएको छ । जस्तो एउटा हो, भीएनएस । यो भनेको भेगस नर्भ स्टिमुलेशन ।

भीएनएस के हो ? 

हाम्रो मस्तिष्कसँग जोडिएको एउटा नसा हुन्छ, जुन मुटुसम्म पुग्छ । त्यसैमा एउटा तार जोडिन्छ, जसलाई तरंग दिन छातीभन्दा अलि माथि ब्याट्री जडान गरिन्छ । साथै हामीले उनीहरूको हातमा घडी लगाइदिएका हुन्छौं ।

अक्सर छारेरोग लागेको मान्छेलाई यसले सताउन लागेको क्षण थाहा हुन्छ । जब उनीहरूलाई छारेरोगले सताउन लाग्यो भन्ने शंका लाग्छ, तब नाडीको घडीलाई छातीसम्म पुर्‍याउनुपर्छ । यसो गरेपछि छारेरोग हराएर जान्छ वा एकदमै सामान्य असर मात्र गर्छ ।

वीर अस्पतालमा भीएनएस सेवा 

अहिले यो सेवा हामीले वीर अस्पतालमा सुरु गरेका छौं । धेरैले यसको उपचार पनि लिइरहेका छन् । यसरी प्रविधिबाट जतिले उपचार गराएका छन्, त्यसको नतिजा एकदमै राम्रो छ ।

यो प्रविधि त्यही बिरामीका लागि उपयुक्त हुन्छ, जसलाई औषधिले काम गरेको छैन ।

यसरी भेगस नर्भ स्टिमुलेशनले छारेरोगको उपचारमा ठूलो फड्को मारेको छ । तर, दुःखलाग्दो कुरा यसबारे नेपालमा त्यति सचेतना छैन । साथसाथै यो खर्चालु पनि भएकाले मान्छेहरू उपचार गर्न डराउँछन् ।

अहिले हामीले वीर अस्पतालमा यसको उपचार निःशुल्क गरिदिएका छौं । तर, यसको सामग्री महँगो हुन्छ । सामानको मूल्य मात्र ८–१० लाख बराबर हुन्छ । यत्तिको पैसा सामान्य नेपालीले उपचारमा खर्च गर्न त्यति सम्भव पनि नहोला ।

त्यसो भए के गर्ने त ?

यसका लागि सरकारले आफ्नो दायित्वबोध लिनुपर्छ । हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यसबारे कुरा गरेका छौं । हामी न्युरो सर्जनहरू गएर सर्वसाधारणलाई यो उपचार सहज बनाइदिनका लागि स्वास्थ्य सचिवसँग आग्रह गरेका छौं । उनले आश्वासन दिएका छन् । यदि सरकारले नै आवश्यक सरसामानमा छुट वा सुविधा दिएमा छारेरोगका बिरामीले धेरै ठूलो राहत पाउनेछन् ।

फोटो, भिडियो : शंकर गिरी

ग्राफिक्स : अरुण देवकोटा

भिडियो सम्पादन : नवराज महरा 

छारेरोग भेजल नर्भ स्टिमुलेशन
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ