+

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

२०८१ जेठ  ३ गते ११:३६ २०८१ जेठ ३ गते ११:३६
सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

भिटामिन ‘डी’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो । यो प्राकृतिक रुपमा दूध तथा दूधबाट बनेका परिकार, अन्डा, फिस आयल, माछामासु लगायतका खानेकुरामा पाइन्छ । तर भिटामिन डी को प्रमुख स्रोत सूर्यको किरण हो ।
बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरूलाई घाममा बस्ने फुर्सद नै कम छ ।

सहरका घरहरू एकापसमा जोडेर बनाइएकाले कोठाकोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन । सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसमा भिटामिन डीको कमी देखिन थालेको छ ।

सहरमा धेरैजसो मानिस बिहानै खाना  खाएर अफिस जाने र दिनभरि कोठामा बसेर काम गर्ने अनि बेलुका मात्रै मात्र घर फर्किने गर्छन् । यस्तोमा उनीहरू घामको सम्पर्कमा कम आउने भएकाले भिटामिन डीको कमी हुन्छ ।

सनस्क्रिन मलम लगाउने मानिसमा पनि भिटामिन डी कम भएको पाइन्छ, किनभने सनस्क्रिनले अल्ट्राभाइलेट किरणलाई परावर्तन गर्छ । जसले घामबाट पाइने भिटामिन डी छालाले भित्र सोस्न पाउँदैन र भिटामिन डीको कमी हुन्छ ।

पहिले घाममा बसेर तेल लगाउने चलन थियो त्यो अहिले छैन । अझ सहरी क्षेत्रमा धेरै मानिस भाडामा बस्ने भएकाले घाममा बस्ने अनुकूलता पनि मिल्दैन । बस्न पाउनेहरूको पनि बस्ने समय हुँदैन, पढाइ र जागिरका कारण । त्यसैले सहरवासीहरुमा भिटामिन डीको कमी देखिन्छ ।

भिटामिन डी बोसोमा घुलमिल भएर रहने तत्त्व हो । जहाँ बोसोको मात्रा बढी हुन्छ, त्यहाँ गएर भिटामिन डी निष्क्रिय हुने भएकाले मोटो मानिसमा भिटामिन डीको मात्रा कम हुन्छ ।

भिटामिन डी किन आवश्यक हुन्छ ?

भिटामिन डीले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । यसले शरीरको रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।

शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा क्याल्सियम सोस्ने क्षमता कम हुने गर्छ । जसकारण शरीरमा हड्डी, मांसपेशी तथा जोर्नीमा विभिन्न समस्या उत्पन्न हुन्छ । हड्डी कमजोर हुने, भाँचिने आदि समस्या हुने गर्छ । शरीरमा भिटामिन डीको कमी हुने महिलालाई मधुमेह हुने जोखिम समेत हुने बताइन्छ । त्यसैले शरीरमा भिटामिन डीको सन्तुलन मिलाउनुपर्छ ।

अनावश्यक रुपमा सप्लिमेन्ट खानु हुँदैन

सामान्यतया कुनै पनि भिटामिन सप्लिमेन्ट यत्तिकै खाने सल्लाह दिइँदैन । खानपानबाट नै त्यसको आवश्यकता पूरा गर्ने सल्लाह दिइन्छ । तर कुनै पनि भिटामिन एकदमै कमी छ, कुनै रोगको कारण खानपानबाट भिटामिन पाउन गाह्रो हुन्छ भने मात्र भिटामिनको सप्लिमेन्ट खानुपर्छ । भिटामिन डी पनि प्राकृतिक रुपमा प्राप्त भएन एकदमै कमी भयो भने मात्र खानुपर्छ ।

अन्य भिटामिन शरीरमा बढी भयो भने पिसाब मार्फत बाहिर निस्कन्छ । तर भिटामिन डीको कमी छैन र सप्लिमेन्ट खाएर शरीरमा भिटामिन डी बढी भयो भने विषाक्त भएर  शरीरमा जम्मा भएर बस्छ ।

शरीरमा चाहिने भन्दा बढी भिटामिन डी भएपनि नसा र मांसपेशीले संगठित रुपमा कार्य गर्न नसक्ने, बेचैनी बढ्ने, कोमल तन्तुहरूमा क्याल्सियम जम्मा हुने, मिर्गौलामा पत्थरी बन्ने, मिर्गौला फेल हुने र हड्डी तथा कलेजो असाधारण रूपले बढ्ने जस्ता समस्या देखा पर्दछ । त्यसैले भिटामिन डी सप्लिमेन्ट लिनुअघि कमी छ कि छैन भनेर जाँच  गरेर मात्र लिनु राम्रो हुन्छ ।

अनुश्री आचार्य आहार तथा पोषण भिटामिन 'डी' स्वास्थ्य
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय