Comments Add Comment

किरण पछि हटे, पृथ्वीसुब्बा प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का

२८ माघ, पोखरा । एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् । आइतबार प्रदेशसभा सदस्यीय दलले उनलाई संसदीय दलको नेता चुनेको छ ।

मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि प्रतिनिधिसभा सांसद खगराज अधिकारी, रवीन्द्र अधिकारी लगायत पार्टीका नेता र दुई मुख्यमन्त्रीका दाबेदारबीच लेकसाइडमा छलफल भएको थियो ।

पृथ्वीसुब्बा र किरणले पनि वान टु वान छलफल गरेका थिए । निर्वाचनमै जाने र मुख्यमन्त्रीबाट फिर्ता नहुने बताउँदै आएका किरणलाई पार्टीका शीर्ष नेताले समेत सहमतिमा पृथ्वीसुब्बालाई आग्रह गरेको एमाले एक नेताले बताए ।

लगतै बसेको बैठकमा किरणले पृथ्वीसुब्बालाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए, जसलाई संसदीय दलले अनुमोदन गरेको छ । बैठकपछि एमाले प्रदेश इन्चार्जसमेत रहेका किरणले खादा, माला र हात मिलाएर पृथ्वीसुब्बालाई बधाइ दिए ।

माथिका नेता, प्रदेश संयोजक र प्रदेश सभा सांसदको सहयोगले आफू मुख्यमन्त्री बनेको पृथ्वीसुब्बाले बताए । ‘वाम घटकबीच एमाले संसदीय दलको नेता मुख्यमन्त्री बन्ने सहमति छ । हाम्रो बहुमत पनि छ,’ पृथ्वीसुब्बाले भने ।

किरणले भने दलभित्र गुटबन्दी चल्नु हुँदैन भनेर आफूले मुख्यमन्त्री पद सहज रुपमा पृथ्वीसुब्बालाई छाडेकोे बताए । आफू र पृथ्वीसुब्बा मुख्यमन्त्री हुनुमा कुनै फरक नरहेको भन्दै उनले कुनै लनदेनको सहमति नभएको दाबी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment