२९ माघ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार शिवरात्रीको दिन पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ।
सहप्रवक्ता मुकुन्द मरासिनीका अनुसार महाशाखाले गौशाला हुँदै ओहोरदोहोर गर्ने गाडीलाई पूर्ण रुपमा रोक लगाएको छ । चावहिलबाट मित्रपार्क हुँदै आउने, पुरानो बानेश्वरबाट बत्तीसपुतली हुँदै आउने, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै आउने र द्वारिका होटल पछाडिको शाखा मार्गबाट गौशाला आउने गाडीलाई बीच बाटोबाटै फर्काइनेछ ।
लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनलाई गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी बौद्धतर्फबाट आउने गाडी चुच्चेपाटीबाट चावहिलतर्फ रोक लगाएको छ ।
गौशाला क्षेत्रमा भने विशेष पास लिएका गाडीहरु मात्र गुड्न पाउँछन् । दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकका सवारी साधनलाई तिलगंगा क्षेत्रमा, पास लिएका सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय ट्राफिक प्रभाग गौशालामा र पास लिएका अन्य सवारी साधनलाई पशुपति क्षेत्र विकास कोषको कार्यालयमा पार्किङको व्यवस्था मिलाइएको छ ।
यस्तै गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण, बौद्धतर्फबाट आउने तीर्थयात्रीको गाडीलाई गुह्येश्वरी पारी बिसौनीको व्यवस्था मिलाइएको छ ।
पुरानो बसपार्क, माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने गाडी त्यहाँबाट अगाडि बढ्न पाउने छैनन् । पुरानो बसपार्क, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी र साँखुतिर जाने गाडीहरुलाई भने अवरोध हुने छैन । ती गाडीहरु पुरानो बसपार्क फर्किनुपरेमा जुन बाटो गएका छन्, त्यहीबाटो फर्किनुपर्नेछ ।
यसैगरी कालोपुल हुँदै कपन चल्ने सवारी साधन खानी विभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने व्यवस्था गरिएको छ ।
महाशाखाले सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चावहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पो महेन्द्र शालिक, जय नेपाल, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, लामपोखरी, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने व्यवस्था गरेको छ । जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पो चावहिल नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा जानुपर्छ ।
जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगञ्जतर्फ जाने मालबाहक गाडी चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्ण हल हुँदै सुकेधारा, महाराजगञ्जतर्फ जानुपर्नेछ । कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक गाडी कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगञ्ज, गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जानुपर्नेछ ।
गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधन जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने व्यवस्था ट्राफिक प्रहरीले मिलाएको छ ।
प्रतिक्रिया 4