Comments Add Comment

अर्जुनबहादुर थापाः ‘हेड सर’देखि प्रदेशसभाको ‘हेड’सम्म


१ फागुन, डोटी । २६ वर्षसम्म स्कुलका ‘हेड सर’ रहेका अर्जुनबहादुर थापा अब प्रदेशसभा–७ का ‘हेड’ अर्थात सभामुख भएका छन् ।

शिक्षण पेशामा ‘अर्जुन’ ठहरिएका उनी राजनीतिमा चाहिँ ‘बहादुर’ कहलिएका छन् । यो सफलता उनलाई शिक्षण पेशा छाडेर सक्रिय राजनीतिमा लागेको करीब दुई दशकमै हात लागेको हो । ०५५ सालसम्म उनी बझाङको लामातोला माविको प्रधानाध्यापक थिए ।

वाम गठबन्धनका तर्फबाट अरु कसैको उम्मेदवारी नपरेपछि थापा सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । प्रदेशसभाको सोमबारको बैठकमा अध्यक्षता गरिरहेकी जेष्ठ सदस्य दिव्यश्वरी शाहले थापा सभामुख निर्वाचित भएको औपचारीक घोषणा गरिन् ।

बझाङ्गको छान्ना गाउँपालिका–२ मा ०१२ सालमा जन्मिएका थापा ०२८ सालमा प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण भएलगत्तै शिक्षण पेशामा लागेका थिए । ०३६ सालदेखि शिक्षक संगठनबाट राजनीति सुरु गरेका थापा संगठनको केन्द्रीय सदस्यसम्म भए । ०४२ सालमा उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र भूगोलमा स्नातक गरे ।

२०४७ सालमा बझाङमा पहिलोपटक तत्कालीन नेकपा मालेको जिल्ला कमिटी गठन भयो । त्यतिबेला थापालगायत नौजना शिक्षक र दुई जना पूर्णकालीन कार्यकर्ता थिए । पार्टीभित्र थापाको नाम थियो, ‘कमरेड अनिल’ ।

‘पेशा व्यवसायमा लागेकाहरुलाई त्योबेला भूमिगत नाम दिइन्थ्यो,’ थापा भन्छन्, ‘हामी सबै शिक्षकहरुलाई पार्टीभित्र छुट्टै नाम दिइएको थियो ।’

२०५५ साल माघमा शिक्षण पेशा छोडेर थापा सक्रिय राजनीतिमा आएका हुन् ।

‘म लामातोला माविको प्रधानाध्यापक थिएँ, पार्टीले ०५६ सालको संसदीय निर्वाचनमा उठ्न निर्देशन गर्याे’, थापा भन्छन् ‘पार्टीको निर्देशनअनुसार नै जागिरबाट राजिनामा गरेँ ।’

त्यो चुनावी परिणाम उनको पक्षमा आएन । प्रतिस्पर्धीसँग उनी दुई सय ८१ मतले पछाडि परे । ०५४ सालमा एमाले विभाजन भएपछि तत्कालीन मालेले छुट्टै उम्मेदवार खडा गर्नु, नेपाली कांग्रेसले चार ठाउँमा बुथ कव्जा गर्नु र आफूलाई पनि चुनावी राजनीतिको ज्ञान नहुनु नै हारको कारण भएको उनी बताउँछन् ।

‘शिक्षण पेशा छोडेर चुनाव हार्दा मलाई कुनै पछुतो भएन, बरु अबको जीवन पार्टी संगठन र समाजलाई दिने निर्णय गरें,’ उनी भन्छन् ।

यसबीचमा जनतामाझ आफूलाई इमानदार, कतव्र्यनिष्ट र विकासवादी नेताको रुपमा स्थापित गर्न उनी सफल भए । ०६२ सालमा पार्टी जिल्ला कमिटी सचिव भएका थापा ०६६ मा जिल्ला अध्यक्ष भए ।

जनताको नेताले बोलेको कुरा पूरा गर्नैपर्छ । यही मान्यता बोकेका थापाले छान्ना गाउँपालिका–१ जराडी खोलादेखि थामलेकसम्मको करीब १३ किलोमिटर सडक जनताबाट पैसा उठाएर काट्न सफल भए ।

‘एक व्यक्ति, एक लिटर तेल’ को अभियान चलाएर सडक निर्माणको नेतृत्व गरेका उनले सेती नदीमा काठको पुल हालेर आफ्नो क्षेत्रमा गाडी पनि गुडाए । वाम गठबन्धनका तर्फबाट बझाङ प्रदेश सभा ‘क’ मा सहजै चुनाव जित्न थापालाई यस्ता केही कामले सघाए ।

हुन त थापा यसपटक मुख्यमन्त्रीकै दावेदार थिए, तर भए सभामुख ।

‘वाम गठबन्धनको सहमतिमा यदि प्रदेश नं. ७ को मुख्यमन्त्री एमालेले पाउँथ्यो भने मेरो दावी रहन्थ्यो,’ थापा भन्छन् ‘अब सभामुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment