Comments Add Comment

सुवर्णपुरमा आन्दोलन जारी, एक मोटरसाइकलमा आगजनी

फाइल तस्वीर

२ फागुन, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा सेवा केन्द्र सार्ने विषयलाई लिएर आन्दोलन अझै जारी छ । वडा नम्बर ५ सुवर्णपुरका आन्दोलनकारीहरुले आज एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले नेवा आयल स्टोरका सन्चालक समसाद आलमको ना ४८ प ४६०० नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आयल स्टोर बिजय बस्तिबाट पेट्रोलको ट्यांकर स्कर्टिङ गरेर फर्किदै गर्दा आन्दोलनकारीहरुले मोटरसाइकलमा तोडफोड गरी आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गाउँपालिकाको वडा नम्बर ५ सुवर्णपुरले सेवा केन्द्र सार्न नहुने अडान राखेको छ भने वडा नम्बर ३ मा मध्यभागमा सेवा केन्द्र हुनुपर्ने माग उठेको छ । एकपटक सुवर्णपुरबासीसँग वार्ता भएपनि समस्या समाधान हुन सकेको छैन ।

दुवै वडामा संघर्ष समिति नै गठन गरेर यातायात-बजार बन्द, प्रदर्शन लगायतका आन्दोलन चलिरहेको छ । गत माघ १५ गते ठोरी गाउँपालिकाको प्रथम गाउँ परिषदले वडा नम्बर ५ सुवर्णपुरमा रहेको सेवा केन्द्र वडा नम्बर ४ घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासी माघ १६ गतेदेखि नै आन्दोलनमा छन् ।

एक घरमा आगलागी, २ लाखको क्षति

यसैबीच पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ गादीको मकवानीटोलमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । स्थानीय विजय मिश्राको घरमा मंगलबार राति आगलागी भएको हो ।

आगो ताप्न बालिएको घुरबाट आगो लाग्दा घरमा रहेका लत्ताकपडा, धान, चामल जलेर नस्ट भएको स्थानीय मुन्ना तिवारीले बताए । आगलागीमा एउटा भैंसी पनि जलेर घाइते भएको छ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट अन्दाजी २ लाख बराबरको क्षती भएको प्रहरीचौकी रंगपुरले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment