Comments Add Comment

ओलीको सरप्राइज : अर्काको सपथमा पुगेका लालबाबु आफैं….

चर्चा थियो, ईश्वर र प्रदीपको, मन्त्री बने पण्डित र थापा


३ फागुन, काठमाडौं । एमाले सांसद लालबाबु पण्डित नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण समारोहमा सहभागी हुन बिहीबार शीतलनिवास पुगेका थिए ।

तर, एमाले अध्यक्ष समेत रहेका ओलीले लालबाबुलाई सरप्राइज दिए । ओलीले एमाले सांसदद्वय लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएर सरप्राइज दिएका हुन् ।

प्रधानमन्त्री ओली आफ्नो सपथलगत्तै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा थिए । मन्त्रीको सम्भावित नाममा एमाले महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीको चर्चा थियो ।

तर, भयो अर्कै ! लालबाबु पण्डित बिहीबार नै मन्त्री बन्छन् भनेर धेरैले अनुमान नै गरेका थिएनन् । उनी स्वयंले पनि त्यसको सुइँको पाएका थिएनन् । तर, प्रधानमन्त्रीको सपथ सुरु हुनु केही मिनेटपछि उनलाई खबर आयो कि तपाई मन्त्री हुँदै हुनुहुन्छ ।

आफूले सम्हाल्ने मन्त्रालय त उनले राष्ट्रपति कार्यालयका सचिवले सपथका लागि बोलाउँदा मात्रै थाहा पाएका थिए ।

पण्डित भन्छन्, ‘मन्त्री बन्ने कुरा थाहा थिएन । मन्त्रालय त सचिवले भनेपछि थाहा पाएँ ।’

अर्की मन्त्री थममाया थापाको अवस्था पनि त्यस्तै रहृयो । प्रधानमन्त्रीको सपथमा सहभागी हुन शीतलनिवास पुगेकी एमाले सांसद थापा महिला तथा बालबालिका मन्त्रीको सपथ लिएर फर्किएकी छन् ।

एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा टुंगो लाग्न बाँकी छ । पार्टीका शीर्ष नेताहरुलाई नै मन्त्री बनाउँदा मन्त्रालय तोक्नुपर्ने र भोलि त्यसले भागवण्डामा अप्ठ्यारो पार्न सक्ने भएपछि प्रधानमन्त्री ओलीले मधेसी र महिलाबाट लालबाबु र थममायालाई रोजेको स्रोतको दाबी छ ।

नेताहरुका अनुसार मन्त्रालय हेरफेर हुनेछ । केन्द्रमा १५ मन्त्रालय मात्र राख्न पुनर्संरचना समितिले सिफारिस गरेको छ र बाँकी मन्त्रालयहरु एकापसमा गाभिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment