Comments Add Comment

यौन जिज्ञाशाः मादक पदार्थ सेवन गरेर यौन सम्पर्क गर्दा के हुन्छ ?

करुणाजी, नमस्कार

मैले अन्तरजातीय विवाह गरेकी हुँ । म लिम्बूकी छोरी भए पनि कहिल्यै मादक पदार्थ रुचाइनँ । जबकि, हाम्रो घरमै रक्सी बन्थ्यो । बुवा रक्सी खाएर चाँडै बित्नु भयो । यही कारण मैले चार वर्षअघि रक्सी नखाने बाहुन केटासँग अप्ठ्यारो परिस्थितिलाई झेल्दै विवाह गरेकी हुँ ।

अहिले मेरो उमेर २८ वर्ष छ । मेरो श्रीमान् ३२ को हुनुहुन्छ । विवाह गर्नेबित्तिकै हामी काठमाडौं आयौं र निकै संघर्ष गरेर स्थापित भयौं । यस अर्थमा हाम्रो जीवन राम्रो हुन थालेको छ ।

एउटा सानो कुरामा भने डर लाग्न थालेको छ । मेरो श्रीमान् एक वर्षयता यौन सम्बन्ध राख्नुअघि बियर वा रक्सी पिउन रुचाउनु हुन्छ । बियर वा रक्सी नखाई यौन इच्छा नै नहुने बताउनुहुन्छ । अहिलेसम्म हाम्रो सम्बन्धमा कुनै असर परेको छैन तर यस्तो व्यवहारले भविष्यमा असर पर्न सक्छ कि भन्ने डर लाग्छ । के मेरो डर साँचो हो या अनुमान मात्र ।

बी. जी,

अन्तरजातीय विवाह गर्नुभएकामा बधाइ छ । तर, तपाईंले चेतनापूर्वक यो विवाह गर्नु भएको नभई रक्सीसँग टाढा हुन बाहुन केटोसँग विवाह गर्नुभएको बताउनु भएको छ । र, रक्सीबाट पर हुने उपायका रुपमा अन्तरजातीय विवाह गर्नुभएको महशुस भयो ।

जब श्रीमानले यौन सम्पर्कका बेला रक्सी खान थाल्नुभयो, तपाईंलाई चिन्ता लाग्नु स्वाभाविकै हो । जे कुराबाट तपाईं बच्न चाहनुहुन्थ्यो, कुनै न कुनै रुपमा यो कुरा प्रकट हुनु चिन्ताको विषय हो ।

तर, तपाईंको प्रश्न हेर्दा तपाईंका श्रीमानमा रक्सीको लत लागेको देखिँदैन । केवल ‘फन’ वा ‘रोमान्स’का रुपमा लिनु भएकाले यसलाई नराम्रो अवस्था आएको भनिहाल्न मिल्दैन । तपाईंको चिन्ता अहिलेभन्दा भोलि केही हुने त होइन भन्ने देखिन्छ । बुवाको देहान्त रक्सी सेवनबाटै भएका कारण यस्तो सोच्नु सामान्य नै हो ।

शुरुमै बताइहालौं, रक्सी सेवन स्वास्थ्यका लागि हानिकारक हो । तर, यसलाई कहिलेकाहीं रमाइलोका रुपमा विशेष अवसरमा पिउने चलन संसारभर छ ।

सचेत भएर थोरै मात्रामा तर कहिलेकाहीं पिउनुलाई ‘सोसल ड्रिंक’ भन्ने गरिन्छ । तपाईंको श्रीमानमा त्यही कुरा त लागू भएको छैन तर करिब-करिब त्यस्तै सोच देखिन्छ ।

संसारभर मादक पदार्थको सेवनपछि यौनमा रमाइलो हुन्छ भन्ने मान्यता छ । यही कारण ठूला शहरका पार्टीहरुमा जोडीलाई मात्र विशेष महत्व दिइन्छ । वा पार्टीमै जोडी खोज्ने अवसर प्राप्त हुन्छ ।

मनोवैज्ञानिकहरुले पनि रक्सी र यौनबीच के सम्बन्ध छ भन्ने कुराको लामो समयसम्म खोज गरेका छन् । यसमध्ये सबैभन्दा लोकपि्रय सर्वेलाई ‘बियर गुगल’ भन्ने गरिन्छ । ‘बियर गुगल’ मनोविज्ञानको क्षेत्रमा प्रयोग हुने चर्चित् पदावली हो ।

मनोवैज्ञानिकहरुले मध्यपान गर्ने व्यक्तिहरुबीच गरेको ‘बियर गुगल’ सर्वेमा एउटा रमाइलो तथ्य आएको थियो । त्यस्ता व्यक्तिहरुलाई बियर वा रक्सी पिउन दिएपछि फोटोमा हेर्न लगाई केही व्यक्तिहरुको प्रतिक्रिया लिइएको थियो ।

बियर वा रक्सी पिएर र नपिएको अवस्थामा व्यक्तिमा एउटै फोटोलाई हेर्दा देखिने प्रतिक्रियाका आधारमा नतिजा निकालिएको थियो ।

रक्सी वा बियरको सेवनले यौन व्यवहारमा धेरै असर पर्न सक्छ । यसको प्रभावले यौन क्रियाकलाप घटाउँछ । आफ्नो लाजलाई लुकाउन खोज्दा मनोवैज्ञानिक असर पर्छ । क्षणिक रुपमा उत्तेजित गरिसकेपछिको अवस्थामा सेवनकर्तामा दिक्दारीपन बढाउँछ ।

रक्सी सेवनपछि शारीरिक प्रणालीको सन्तुलनमा प्रतिकूल असर पर्न थाल्छ । रक्सी सेवनले खुशी र रमाइलो हुने अधिकांशको धारणा पाइन्छ । तर, यसको सेवनले दिक्दारीपन वा रिस बढ्न सक्छ । सन्तुलन वा समन्वयहरुमा पनि नकारात्मक असर पर्न सक्छ ।

मादक पदार्थ सेवनले स्खलनमा समस्या ल्याउने मात्र नभई नपंुसकता पनि बढाउँदै लैजान्छ । सबैभन्दा बढी रक्सीको असरले आत्मबल घटाउँछ । परिणाम, पुरुषको यौन व्यवहारमा नाटकीय असर पार्छ ।

अनुसन्धानहरुले देखाएअनुसार, थोरै पनि मादक पदार्थ सेवनले अण्डकोषबाट उत्पादन हुने टेस्टोस्टेरोन हर्मोनमा कमी आउँछ । टेस्टोस्टेरोन हर्मोन यौन उत्तेजनाका लागि महत्वपूर्ण मानिन्छ ।

त्यसकारण रक्सी सेवनले पुरुषको यौन क्रियाकलापमा असर पार्छ । अनुसन्धानअनुसार यौन सन्तुष्टि, यौन उत्तेजना, वीर्य स्खलन र चरम आनन्दमा पनि यसले कमी ल्याउँछ । यौन सम्पर्क गर्नुअघि रक्सी सेवनले विभिन्न जोखिम निम्त्याउने सम्भावना पनि हुन्छ ।

जस्तै- असुरक्षित यौन सम्बन्ध, अनिच्छित गर्भधारण, बलात्कार साथै यौन रोगको पनि उच्च जोखिम हुन्छ । तर, धेरै युवा यसलाई स्वीकार गर्दैनन् । सेक्सपियरको एउटा पुरानो भनाइअनुसार यसले इच्छालाई त बढाउँछ तर दक्षतालाई घटाउँछ ।

यौन सम्पर्क गर्नुअघि थोरै रक्सी सेवनले केही मात्रामा लाज हटाएर आफ्नो अगाडि भएको व्यक्तिसँग खुल्न सजिलो बनाउने र रोमान्टिक महशुस गर्न मद्दत गर्छ । जो पुरुष यौन सम्बन्धलाई लिएर नर्भस हुने गर्छन्, उनीहरुलाई यौन आनन्द लिन र शीघ्रस्खलन कम गर्न मद्दत गर्छ । तर, रक्सी नै यसको समाधान होइन ।

तपाईंको श्रीमानले यौन सम्बन्धअघि रक्सी सेवनलाई नै मुख्य रुपमा सहयोगी तत्वका रुपमा लिनुभएको छ भने यसले लामो समयपछि उहाँको शारीरिक र मानसिक स्वास्थ्यमा असर पुर्‍याउन सक्छ ।

अर्को कुरा यसले तपाईंहरुको आत्मीय सम्बन्धमा पनि असर पार्छ । माथि उल्लेख भएअनुसार विस्तारै यौन दक्षतामा कमी आउने र एकअर्काप्रतिको सम्मानमा पनि कमी आउँछ ।

तपाईंहरुबीच रक्सी नखाई यौन सम्बन्ध नै शुरु नहुने अवस्था आएको हो भने यसलाई यथाशीघ्र रोक्नु बुद्धिमानी हुन्छ । कहिलेकाहीं रमाइलोका लागि हो भने सचेत रुपमा प्रयोग गर्न सकिन्छ । फेरि पनि माथि भनियो, सर्वेक्षणले भने यसलाई गलत देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment