+
+
Shares

प्रदेश ४ : आज उपसभामुखको निर्वाचन, एमालेकी सिर्जना र कांग्रेसकी मनकुमारीको मनोनयन

अमृत सुवेदी अमृत सुवेदी
२०७४ फागुन ६ गते १२:३९

६ फागुन, पोखरा । उपसभामुख चयनका लागि प्रदेशसभा ४ को बैठक आइतबार दिउँसो १ बजे बस्दैछ ।  प्रदेशसभा उपसभामुखमा एमाले सांसद सिर्जना शर्माले बिहान ९ बजे मनोनयन दर्ता गराएकी छन् । एमाले सांसद मायानाथ अधिकारीको प्रस्ताव र माओवादी प्रदेश ४ का प्रमुख सचेतक गायत्री गुरुङको समर्थनमा शर्माले उपसभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।

सभामुखमा माओवादी केन्द्रका सांसद नेत्रनाथ अधिकारी चयन भइसकेका छन् । सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंगका हुनुपर्ने संवैधानिक प्रावधान अनुसार एमालेबाट महिला सांसद शर्मालाई वाम गठबन्धनले समर्थन गरेको छ ।

३ जना आकांक्षी भएपछि एमालेले शनिबार नै उपसभामुखको टुंगो लगाउन भने सकेको थिएन । उपसभामुखमा सिर्जनासँगै मित्रकुमारी सुवेदी गुरुङ र नरदेवी पुनको पनि आकांक्षा थियो । आइतबार बसेको एमाले संसदीय दलको बैठकले सिर्जनालाई सिफारिस गरेको थियो ।

वाम गठबन्धनको बहुमत रहे पनि कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाएको छ । कांग्रेस सांसद मनकुमारी गुरुङले  पनि मनोनयन दर्ता गराएकी छन् । उनी नेपाल महिला संघको गोरखा जिल्ला अध्यक्ष हुन् ।

वाम गठवन्धनको वहुमत हुँदाहुँदै कांग्रेसको उम्मेदवारी किन त ? सांसद कृष्णचन्द्र नेपाली भन्छन्, ‘सभामुखमा हामीले कुनै दाबी गरेनौं, उपसभामुखमा उहाँहरुको सौहार्दता रहने अपेक्षा गरेका छौं ।’ ज्येष्ठ सदस्यको नाताले कांग्रेस सांसदहरुलाई चुनावका लागि सांसद नेपालीले नै ह्वीप जारी गरेका छन् ।

एमाले र माओवादी एकीकृत हुने प्रक्रियामा रहेकाले पछिलाई हेरेर अहिले नै उक्त पद प्रमुख प्रतिपक्षका लागि छोड्दा उपयुक्त हुने कांग्रेस नेताहरुको दाबी छ । सांसद विन्दुकुमार थापाको प्रस्ताव र ओमकला गौतमको समर्थनमा मनकुमारी मनोनयन दर्ता गराएकी हुन् ।

सभामुख छान्नका लागि सांसदहरु प्रदेश सभास्थलमा चहलपहल सुरु भइसकेको छ । ६० सदस्यीय प्रदेश सभामा एमालेको सबैभन्दा बढी २७, कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाको ३ र नयाँ शक्तिको २ जनाको प्रतिनिधित्व छ । एमालेको समर्थनमा मनाङबाट प्रदेशसभा सदस्य बनेका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ भने ज्यान मुद्धामा दोषी ठहर भइ फरार छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?