
सिड्नी । अष्ट्रेलियामा यहाँका प्रमुख राजनीतिक पार्टीहरुले नेपाली लगायत दक्षिण एसियाली मूलका वासिन्दाहरुतर्फ आफ्नो ध्यान केन्द्रित गरेका छन् ।
बहुसांस्कृतिक देश अष्ट्रेलियामा दशौं हजार मानिस नेपाली मुलका वासिन्दा छन् भने दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका लगायत देशका लाखौं मानिस यहाका स्थानीय वासिन्दा छन् ।
दक्षिण एसियाली मुलुकबाट यहाँ स्थायी बसाई सर्नेको संख्या बढ्दै गर्दा यहाँका ठूला राजनीतिक दलहरुले आफ्ना राजनीतिक गतिविधि यी समुदायसग बढाएका हुन् ।
अष्ट्रेलियाको सत्तारुढ दल लिवरल पार्टी र उक्त पार्टीका नेता तथा प्रधानमन्त्री माल्कम टर्नवुलले अष्ट्रेलियामा पछिल्लो दशकहरुमा स्थायी रुपमा बसाई सरेर आएका नयाँ अष्ट्रेलियनहरुका स-साना व्यापारलाई सहयोग गर्ने नीति लिएका छन् ।
उनी यहाँका साना व्यपारहरुलाई प्रोत्साहन गर्न कहिले म.म. पसलमा त कहिले कफी सपमा झुल्किन्छन् । उनी यहाँका ‘स्मल विजनेस’हरुको प्रगति विना अष्ट्रेलियाको प्रगति सम्भव छैन भन्ने सन्देश दिइरहेका हुन्छन् ।
हालै अष्ट्रेलियाको संघीय सरकारका अर्थ राज्यमन्त्री डेभिड कोल्मन यहाँको बाक्लो नेपाली वस्ती भएको सेन्ट जज इलाकाका नेपाली समुदायको बैठकमा अन्तरक्रिया गर्न आइपुगेका थिए ।
लिवरल फ्रेन्ड्स अफ नेपाल तथा स्थानीय पेंसर्ट नेपालिज कम्यूनिटीका तर्फबाट आयोजित अन्तरक्रियात्मक कार्यक्रममा आएका मन्त्री कोल्मनले नेपालबाट आएका पूर्ववर्ती शेरबहादुर देउवा सरकारका अर्थराज्यमन्त्री उदयसमशेर राणासँग एउटै मन्चमा उपस्थित भएर नेपालको सरकार तथा अष्ट्रेलियाका नेपालीको विचार सुनेका थिए ।
सोही कार्यक्रममा उपस्थित भएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाली समुदायका वीचमा उपस्थित भएर नेपाली समुदायका आवाज सुन्ने प्रयास गरिरहेकोमा मन्त्री कोल्मनमार्फत यहाँको सरकारलाई धन्यवाद दिइन् ।

यहाँको नेपाली समुदायका माग र अपेक्षको लामो पत्र बुझेका मन्त्री कोल्मनले भने-‘म सबै पूरा गर्न सक्छु त अहिले भन्दिन तर संघीय सरकारसग पहल गर्छु ।
यहाँका नेपालीहरुले नेपालबाट विद्यार्थी तथा अभिभावकहरुको आवागमन बढेकोले प्रवेशाज्ञा काठमाडौं बाटै जारी गर्न अनुरोध गरेका छन् ।
अहिले भारतको राजधानी नयाँ दिल्लीबाट त्यो जारी हुने गरेको छ । त्यस्तै स्थानीय पेन्सर्ट इलाकामा नेपालीहरुको सामुदायिक भवन निर्माण गर्न जमिनको माग पनि नेपाली समुदायले गरेका छन् ।
यद्यपि त्यो राज्य सरकार र काउन्सिलहरुको अधिकार क्षेत्रभित्र पर्ने भएकोले आफूले ती निकायहरुलाई सुझाव दिने मन्त्री कोल्मनको धारणा थियो ।
नेपाली समुदायका तर्फबाट यहाँको सत्तासिन लिवरल पार्टीमा प्रतिनिधित्व गरिरहेका श्रीनापितले अस्ट्रेलियामा बसोबास गरेका सबैले राजनीतिमा चासो राख्नु पर्ने बताए । उनले भने- ‘आफनो मौलिक संस्कृति बचाउन , यहाँको मूलप्रवाहको राजनीतिक व्यवस्था बुझ्न र हाम्रो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिमा चासो दिनुपर्छ’ ।
उनी यहाँको लिवरल फ्रेन्ड्स अफ नेपालका संयोजक हुन् । गत चुनावमा उनी उम्मेदवार पनि थिए ।
लेबरको ध्यान झन गहिरो
अष्ट्रेलियाको दक्षिण एसियाली समुदायसग घनिष्ट सम्बन्ध राख्न यहाँको प्रतिपक्षी लेवरपार्टी अलि अगाडि छ ।
उसले पनि विभिन्न देशका समुदायसग मित्रता गास्न सम्पर्क समितिहरु बनाएको छ । दक्षिण एसियालीहरुसँगको सम्बन्ध विस्तार गर्न लेवर पार्टीकी नेत्री आयशा अम्जाद र नेता हरिश वेलजी निकै खटेका छन् ।
उनीहरुको पछिल्लो योजना अनुसार यहाको दक्षिण एसियाली समुदायसग सम्पर्क विस्तार गर्न दक्षिण एसियाली भाषाका संचार माध्यमहरुको ठूलै जमघट गरे ।
यही शनिबार गरिएको उक्त जमघटमा यहाको फेडरल सरकारका लागि छाया अर्थमन्त्री क्रिस बोवेन, छाया संचार मन्त्री मिशेल रोनाल्ड, न्यू साउथ वेल्सको संसदका प्रतिपक्षी नेता तथा भावी प्रिमिएरका दावेदार लुक फायर लगायत दर्जन भन्दा बढी निर्वाचित नेताहरु दक्षिण एसियाली मिडियाकर्मीहरुसग अन्तरक्रिया गर्न आइपुगे ।
कार्यक्रमको आयोजक टिममा नेपाली समुदायका अस्ट्रेलियन नेता गोवा कट्टुवाल पनि एक थिए । उनी नेपलिज फ्रेन्डस अफ लेवरका संयोजक पनि हुन् । उनले भने-‘यहा बढ्दै गएको दक्षिण एसियाली समुदायका भावनाहरु यहा क्रियाशील ती समुदायका संचारमाध्यमहरुलाई थाहा छ । र, लेवर पार्टीका धारणा ती समुदायसग पुर्यायउने माध्यम पनि ती संचार माध्यम हुन् ।’

अष्ट्रेलियामा नेपाली, हिन्दी, उर्दु, बंगाली लगायत एक दर्जन जति दक्षिण एसियाली भाषामा विभिन्न आमसंचार माध्यमहरु संचालित छन् ।
केही आमसंचार माध्यमहरुले अष्ट्रेलियामा बढ्दै गएको आफ्नो भाषागत समुदायहरुलाई लक्षित गरी प्रतिनिधिहरु खटाउने गरेका छन् ।
लेवर पार्टीका तर्फबाट आगामी सरकार बन्ने दावी गरेका नेताहरुले यहाको बढ्दै गएको पछिल्लो दक्षिण एसियाली समुदायको संस्कृति बचाउनेदेखि उनीहरुका भावनाहरुको उचित सम्बोधन गर्ने बताएका छन् ।
दक्षिण एसियालीहरुको यहाँ संख्या बढेपनि दक्षिण एसियामा आष्ट्रेलियाको लगानी कम भएको भन्दै जनस्तर र सरकारी स्तरबाट सम्बन्धहरु बढाइने उनीहरुले दावी पनि गरे ।
दक्षिण अष्ट्रेलियामा पनि ध्यान
दक्षिण आष्ट्रेलियाको एडलाइडमा लेवर सरकार छ । त्यहाँको लेवर सरकारले दक्षिण एसियाली मूलका बासिन्दालाई बोलाएर सरकारी स्तरमा संस्कृति सस्कृति सम्रक्षन्को पहल गरेको छ ।
बिजया दशमीमा राज्य संसदमा टिका लगाउने कार्यक्रम हुन्छ भने सबै समुदायका गतिविधिमा राजनीतिक नेताहरुको उपस्थिति हुने गरेको छ ।
दक्षिण आष्ट्रेलियामा भएका दक्षिण एसियालीहरुले निर्माण गरेको साउथ एसियन मल्टिकल्चरल एशोसिएसन अफ साउथ अष्ट्रेलिया (समस) ले आगामी हप्ता बृहत बहुसांस्कृतिक कार्यक्रम आयोजना गर्दै छ ।
उक्त संस्थामा नेपाली समुदायको प्रतिनिधत्व दीपक लामा घिसिङले गरेका छन् । दक्षिण आष्ट्रेलियाकि लेबर पार्टीकि नेत्री जिङलि पनि नेपाली समुदायसग निकै भिजेकि छिन् ।
उनले नेपाल भ्रमण पनि गरिसकेकि छन् । निकट चुनाव लाइ ध्यानमा राखेर यहाँ विभिन्न पार्टीहरुलाई जिताउन पहल पनि सुरु भएको छ ।
प्रतिक्रिया 4