Comments Add Comment

इटहरी-धरान सडक ६ लेनको बन्दै, बीचमा ३ मिटरको बगैंचा

९ फागुन, इटहरी । विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको ६ लेनको सडकको केही खण्डमा काम रोकिए पनि इटहरी-धरान खण्डमा भने काम धमाधम भइरहेको छ ।

पूर्वको एक्लो महानगर विराटनगरदेखि दुई उपमहानगर इटहरी र धरान जोड्ने २ लेनको ४९ किलोमिटर सडकलाई ६ लेनको बनाउन २०७० साल असारदेखि नै काम सुरु गरिएको थियो ।

इटहरी- तरहरा सडक खण्ड बगैंचासहितको अत्याधुनिक हुने

यस सडक खण्डको इटहरीदेखि तरहरासम्मको ५ किलोमिटर सडक अत्याधुनिक बन्दैछ । परियोजनाका इन्जिनियर सुुमोद पोखरेेलका अनुसार इटहरीको मुख्य चोकदेखि तरहरासम्म हालको सडकको बीच भागबाट २५-२५ मिटर दायाँ बायाँसम्म सडक फैलिने छ ।

सडक निर्माणमा विभिन्न कानुनी उल्झन देखिए पनि सडक विभागको पक्षमा फैसला भएको हुँदा सडक निर्माण नरोकिने इन्जिनियर पोखरेलले बताए ।

राजमार्ग निर्माण व्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी-धरान सडकलाइ सेन्टर लाइनबाट दायाँ बाँया २५/२५ मिटरको बाटो बनाउने निर्णय भएको अभिलेख छ ।

इन्जिनियर पोखरेलका अनुसार इटहरी-तरहरा सडक ५ किलोमिटर लामो हुनेछ भने चौडा ५० मिटरको हुनेछ । सडकको बीच भागमा ३ मिटरको बगैंचा हुनेछ । बगैंचाको बीचमा सोलार बत्तीको लागि पोल गाडिनेछ । सडकको दाँया बाँया फुुटपाथ र साइकल लेन हुनेछ । यो सडक खण्डमा दोहोरो गाडी कुदाउन मिल्ने सर्भिस लेन रहनेछ ।

यो सडक निर्माणका लागि दशैंपछि १ करोड ८० लाख रुपैयाँमा ठेक्का लागेको छ । आशिष सन्तोषी लुुम्बिनीले तरहरादेखि काम शुरु गरिसकेको छ भने स्वच्छन्द कान्छाराम सैलुङ जेभीले इटहरीदेखि काम शुरु गरेको छ ।

भनेको समयमा रकम भुुक्तानी गर्न सकेमा निर्धारित २ वर्षभित्र निर्माण सक्ने ती कम्पनीहरुले बताएका छन् ।

पैसा निकासा नभएर निर्माणमा सुस्तता

इन्जिनियर पोखरेलका अनुसार सरकारले विराटनगरदेखि सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । यो सडक निर्माण आर्थिक वर्ष २०७५/२०७६ भित्र गरिसक्नुपर्नेछ । १३ प्याकेजमा काम भइरहे अहिलेसम्म ३५ प्रतिशत मात्र काम सकिएको छ । विराटनगर-इटहरी सम्मको ३० किलोमिटर सडक खण्ड बजेट अभावका कारणले अत्यन्तै सुस्त छ ।

निर्माण कम्पनी तुुन्दीरमण जेभीका सञ्चालक कृष्ण बोहोराले रकम निकासा गरे मात्र थप मजदुर लगाएर काम चाँडो सक्ने बताए । उनले निर्माण सामग्रीको मूल्य दिनदिनै बढिरहेको बजेट अभाव हुँदा दैनिक काममा प्रभाव परिरहेकेा बताए ।

चाँडै सक्न मुख्यमन्त्री शेरधन राईको ताकेता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने यो सडक निर्माणको काममा चासो राखेका छन् । सडक निर्माणको गति सुस्त भएको भन्दै मुख्यमन्त्री राईले काम अगाडि बढाउन फागुन ६ गते नै सडक निर्माण आयोजनालाई निर्देशन दिइसकेका छन् ।

पूर्वका मुख्य तीन शहर हुँदै किमाथांका-जोगबनी अन्तरदेशीय सडक सञ्जालमा जोडिने भएकोले विराटनगर-धरान ६ लेन सडक खण्ड प्रदेशकै गौरवको परियोजना भएको मुख्यमन्त्री राईले बताउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment