११ फागुन, धनगढी । प्रदेश ७ को सरकार सञ्चालनमा सकस देखिएको छ ।
कर्मचारी अभावनमा मन्त्रालयहरुको उचित वयवस्थापन नहुँदा प्रदेश सञ्चालनमै समस्या आएको प्रदेश सरकारका मन्त्रीहरुले बताएका छन् ।
प्रदेश ७ का सबै मन्त्रीहरुकोसरकार सञ्चालनमा अनुभव समेत नभएको र कार्यकक्ष नै अस्तव्यस्त भएकोले कसरी काम सञ्चालन गर्ने भन्ने समस्यामा परेका छन् । मन्त्रालयका कार्यालयसमेत अझै व्यवस्थापन हुन सकेका छैनन् ।
केन्द्रले खटाएका कर्मचारी अझैसम्म नपुग्दा कार्यालय व्यवस्थापनमा समस्या देखिएको हो । अहिले ६ वटै मन्त्रालयमा मन्त्रीहरुकै कार्यकक्ष समेत अस्तव्यस्त अवस्था छन् ।
मन्त्रीको कार्यकक्षको अझै मर्मत हुन सकेको छैन । मन्त्रालयमा कर्मचारीसमत नहुँदा मन्त्रीहरु नै अलमलमा परेका छन् ।
सरकारले प्रदेश राजधानी तोकेको करिब डेढ महिना बित्दापनि मन्त्रालयका भवनहरुको रङरोगन तथा मर्मत कार्य पूरा भएको छैन ।
मन्त्रालयमा मन्त्रीहरुले पदबहाली गरिसकेपछि भवनहरुको मर्मतकार्य सुरु गरिएकोमा अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।
प्रदेश मन्त्रालयहरुमा नत बिजुली लाइननै मर्मत गर्न सकेको छ, नत मन्त्रीका कार्यकक्षमा टेलिफोन नै छ ।
मन्त्रालयहरुमा सामान्य सरकारी कार्यालय जतिकोपनि चहलपहल छैन । मन्त्रालयका भवनहरुको समयमा मर्मत नभएको र कर्मचारी नपुगेकाले कामकाज गर्न समस्या आएको मन्त्रीहरुले नै गुनासो गर्ने गरेका छन् ।
प्रदेशका ७ का सबै मन्त्रीहरु सरकारको कुनै अनुभव नगरेका मन्त्रीहरु छन्, त्यसमा झन अहिलेसम्म पर्याप्त कर्मचारी नहुनु र समयमा भवनहरु निर्माण नहुनुले संघीयता कार्यान्वयनमा समस्या आउने आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले बताए ।
प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका लागि २९ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिलेसम्म १२ जना मात्र कर्मचारी आइपुगेका छन् ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २९ जनाको दरबन्दीमा ९ जना, सामाजिक बिकास मन्त्रालयमा सवारीचालक बाहेक ३० जनाको दरबन्दीमा तीन जना मात्र कर्मचारीहरु मन्त्रालय पुगेका छन् ।
आर्थिक मामिला तथा योजना र उद्योग वन तथा वातावरण मन्त्रालयमा पनि ७/७ जना मात्रै कर्मचारी पुगेका छन् ।
भूमि व्यबस्थापन, कृषी तथा सहकारी मन्त्रालयमा २९ जनाको दरबन्दी भएकोमा अहिलेसम्म ५ जना मात्रै कर्मचारी आइपुगेका छन् ।
भौतिक पूर्वाधार बिकास मन्त्रालयमा तीन जना मात्र कर्मचारी पुगेका छन् । अहिलेसम्म मन्त्रालयका सचिवसमेत पुगेका छैनन् ।
मन्त्रालय स्थापना भएको एक साता भन्दा बढी समय बितिसक्दासम्म मन्त्रालयको सचिव समेत नपुगेपछि मन्त्रालयको कामकाजका बारेमा समेत स्पस्ट हुन नसकेको भौतिक पूर्वाधार बिकास मन्त्री पठान सिहं बोहराले बताए ।
मन्त्री नियुक्त भएको करिब सातादिन बितिसक्दा समेत प्रदेश मन्त्रालयको कर्मचारी तथा भौतिक व्यवस्थापन अलपत्र छ ।
कर्मचारीमात्रै होइन उनीहरूका लागि बस्ने कुर्ची, टेबुल छैनन् । उत्साही भएर मन्त्रालय छिरेका मन्त्री कर्मचारीको अवस्था हेरेर खिन्न देखिएका छन् ।
बिषयगत मन्त्रालयमा २ सय ८७ जना कर्मचारीको दरबन्दी रहेको भएपनि दरबन्दी अनुसार कर्मचारी नपठाएको र पठाएका कर्मचारी अहिलेसम्म मन्त्रालयमा नपुगेपछि कामकाजमा समस्या आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव प्रदिपराज कंडेल बताए ।
उनले सम्बन्धित क्षेत्रको दक्ष कर्मचारीलाई मन्त्रालयमा पठाएमा सहज किसिमले प्रदेश सञ्चालन गर्न सकिने भएपनि अहिलेसम्म कर्मचारीहरु नपुगेकेा बताए ।
मन्त्रालय स्थापना लगत्तै भवनको मर्मत र रङरोगन गर्ने कार्य तीब्र पारिएको छ । उता मन्त्रालयमा कर्मचारी नपुगेपछि मन्त्रीहरु दलबलसहित विभिन्न कार्यालय र योजनाहरुको अनुगमन तथा भ्रमणमा व्यस्त छन् ।
आफ्नै मन्त्रालयको उचित व्यवस्थापन गर्न नसकिरहेको बेला अन्य कार्यालयको अनुगमनलाई लिएर स्थानीयहरु भने आक्रोश छन् ।
प्रतिक्रिया 4