Comments Add Comment

टाइब्रेकरमा विकेश चम्किँदा आर्मीलाई हेटौंडा गोल्डकपको उपाधि

१२ फागुन, हेटौंडा । साबिक विजेता नेपाल आर्मीले दोस्रो पटक पनि हेटौंडा गोल्डकपको उपाधि उचालेको छ । नेपाल प्रहरीलाई टाइब्रेकरमा हराउँदै आर्मीले उपाधि चुमेको हो ।

अघिल्लो संस्करणमा मनाङ मस्र्याङ्दीलाई पाखा लगाउँदै आर्मी विजेता बनेको थियो । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा शनिबार भएको खेलमा नेपाल पुलिसलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै आर्मीले उपाधि जित्यो ।

उपाधि जितेसँगै आर्मीले नगद ५ लाखसहित मेडल र ट्रफी हात पारेको भने भने नेपाल पुलिस क्लबले ३ लाख रुपैयाँ, मेडल र ट्रफीमा चित्त बुझाएको छ ।

निर्धारित समयसम्म खेल गोलरहित बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।

पुलिसका तर्फबाट तेज तामाङ र बुद्ध लामाको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गराए ।

आर्मीका लागि गोलरक्षक कुथु, सन्तोष तामाङ, दिप लामा र विवेक बस्नेतले गोल गरे भने नवयुग श्रेष्ठको प्रहार गोलपोष्टमा लागेर बाहिरिएको थियो ।

पुलिसका लागि सुमन लामा, अजितराज भण्डारी र दिनेश राजबंशीले गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भएका आर्मीका कुथु प्रतियोगिताको उत्कृष्ट गोलरक्षक समेत भए ।

उनले नगद १५ हजार पाएका छन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट फरवर्ड नेपाल पुलिसका अभिषेक रिजाल, मिडफिल्ड तेज तामाङ र डिफेन्स दिनेश राजवंशी घोषित भए ।

उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिको रुपमा नेपाल आर्मीका बिमल पाण्डेले नगद ५० हजार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment