
१४ फागुन, सुर्खेत । दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गर्न थालिएको छ ।
कर्णाली प्रदेशबाट लामो दूरीमा सञ्चालन हुने सवारी साधनलाई दुर्घटनाबाट बचाउन प्रदेश सरकारको ४० बुँदे योजनाअनुसार जीपीएस जडान गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए ।
कर्णाली प्रदेशको कर्णाली राजमार्गका केही स्थानमा सञ्चार सम्पर्क हुन नसक्ने हुँदा उक्त प्रणाली जडान गरेपछि सवारी साधन कहाँ, कति दूरीमा पुग्यो भन्ने थाहा पाउन, तत्काल दुर्घटना भएमा त्यसको जानकारी पाउन र उद्धार गर्न सहज हुने उनले जानकारी दिए ।
पहिलो चरणमा प्रहरीका सात वटा गाडीमा र सार्वजनिक यातायातका एउटा गाडीमा अाजै जीपीएस जडान गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।
कर्णाली राजमार्गअन्तर्गत सबै ठाउँमा सञ्चार सम्पर्क नहुने भएकाले कालीकोटको कालिका डाँडामा नेपाल टेलिकमको रिपिटर टावर राखिएमा कर्णाली राजमार्गका सबै सडकमा जीपीएस ट्रयाकरका माध्यमबाट सम्पर्क हुने मन्त्री भण्डारीले जानकारी दिए ।
डिजिटल प्रदेश निर्माणअन्तर्गत पहिलो चरणमा गाडीमा जीपीएस जडान गरिएको र भोलि प्रादेशिक राजधानी वीरेन्द्रनगर नगरपालिकाको वडा नं ६ को केन्द्रमा सामुदायिक साइरन जडानसमेत गरिने भएको छ ।
प्रतिक्रिया 4