Comments Add Comment

प्रदेशसभा १ मा दुई समिति गठन, चैत ७ सम्म बैठक स्थगित

१४ फागुन विराटनगर । प्रदेशसभा १ को बैठकले कार्यव्यवस्था परामर्श समिति र नियमावली मस्यौदा समिति गठन गरेको छ ।

कार्यव्यवस्था परामर्श समितिमा सभामुख प्रदीप भण्डारीको अध्यक्षतामा ८ सदस्यीय र प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीको अध्यक्षतामा ११ सदस्यीय प्रदेशसभा नियमावली २०७४ मस्यौदा समिति गठन भएको हो

सभामुख भण्डारीले पेश गरेको प्रस्तावलाई प्रदेशसभा सदस्य ज्योति सुब्बाले समर्थन गरेकी थिइन् । कार्यव्यवस्था परामर्श समितिमा इन्द्रमणि पराजुली, बुद्धिकुमार राजभण्डारी, जसमाया गजमेर, केदार कार्की, मोहनबहादुर खड्का, जयराम यादव, इन्दिरा राई र विष्णु तुम्बाहाम्फे सदस्य रहेका छन् ।

संसद बैठकमा पेश हुने विषयहरुको प्राथमिकता, समयावधिको निर्धारण र बैठक सञ्चालनका लागि सभामुखलाई परामर्श दिन गठित समितिमा सभामुख अध्यक्ष, उपसभामुख उपाध्यक्ष र कानुनमन्त्री पदेन सदस्य रहेको कार्यव्यवस्था परामर्श समिति गठन गर्ने प्रचलन छ ।

नियमावली मस्यौदा समितिमा एकराज कार्की, सावित्रा रेग्मी, सूर्यमाराज राई, शान्तादेवी पौडेल, झलकबहादुर मगर, रामकुमार राई, रामचन्द्र लिम्बु, इन्दिरा राई र विष्णु तुम्बाहाम्फे सदस्य रहेका छन् ।

संसद बैठकको सुव्यवस्था कायम गर्न र समितिहरुको गठन, संसदको काम कारबाही नियमित गर्न नियमावली मस्यौदा समिति गठन गरिएको हो । सोमबारको बैठकमा मुख्यमन्त्री शेरधन राईले संबोधन गरेका थिए । प्रदेशसभाको अर्को बैठक आगामी चैत ७ गते बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment