Comments Add Comment

प्रदेशसभा ३ : मुख्यमन्त्री पौडेलविरुद्ध खनिए राजेन्द्र पाण्डे

'अनुगमन र निर्देशन गर्दै हिँड्नु ठीक होइन'

१४ फागुन, हेटौंडा । प्रदेशसभा ३ मा सत्तारुढ नेकपा एमालेकै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

सोमबारको संसद बैठकपछि सांसद राजेन्द्र पाण्डेले पत्रकारहरुसँग सरकार नीति निर्माणतिर नलागी अनावश्यक अनुगमन र निर्देशनको काम गर्दै हिँडिरहेको आरोप लगाए । भने, ‘मैले सकारात्मक सुझाव दिएको हुँ ।’

मुख्यमन्त्री नियुक्त भएसँगै डोरमणि पौडेलले नारायणगढ-काठमाडौं सडकमार्गको अनुगमन गरेका थिए भने विभिन्न जिल्लामा गई निर्देशनहरु दिएका थिए । सोही विषयलाई सांसद पाण्डेले असन्तुष्टि जनाएका हुन् ।

सांसद पाण्डेले मुख्यमन्त्री पौडेल ऐन कानुन बनाएर सरकारी कामलाई सहज बनाउँदै जानुपर्नेमा अनुगमन र निर्देशन गर्दै हिँड्नु उपयुक्त नभएको बताए ।

नेकपा एमाले प्रदेश ३ प्रदेश कमिटी संयोजक एवं उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र सरकारको कामबारे प्रश्न उठाउनेबारे छलफल नभएको बताइन् ।

पाण्डेले गरेको आलोचनाबारे शाक्यले भनिन् ‘उहाँले संसद सञ्चालन नियमावली चाँडै तयार गरी प्रदेश सरकार जनताको भावना अनुसार चल्ने वातावरण बनाउनुपर्छ भन्ने आशयले सरकारलाई सुझाव दिनुभएको होला ।’

सोमबार संसदले प्रदेश सभा सञ्चालन नियमावली पारित गरेसँगै आलोचनाको विषय सकिएको शाक्यले बताइन् । ‘पार्टीको तर्फबाट मुख्यमन्त्री पौडेललाई धेरै समय बधाइ ग्रहण गर्दै नहिँड्नुहोस्, जनताको भावना र आवश्यकता अनुसार सरकारले काम गर्दै विश्वास दिलाउनुपर्छ भनेका छौं’, शाक्यले भनिन् ।

पाण्डेको आलोचनाप्रति मुख्यमन्त्री पौडेलले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

राजधानी सार्ने बहसले तात्यो हेटौंडा

केही दिनअघि चितवन पुगेर भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले प्रदेश ३ को राजधानी सार्ने संकेत गरेसँगै हेटौंडामा विरोध सुरु भएको छ ।

उनले चितवनमा पत्रकारहरुसँग राजधानी सार्ने स्थान, भौतिक संरचनाहरु निर्माण गर्ने स्थान लगायत सबै पक्षको अनुगमन गरी उपयुक्त स्थान खोजी भइसकेको बताएका थिए ।

सोही विषयलाई लिएर हेटौँडा निबासी मुख्यमन्त्री पौडेललाई यतिखेर दबाब पुगेको छ । हेटौंडामा रहेको जन सरोकार केन्द्रले राजधानी सार्ने विषयको विरुद्ध जनदबाब सिर्जना गर्न विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment