Comments Add Comment

धुर्मुसको नयाँ इनिङः मेरी बास्सैमा कमब्याकदेखि फिल्म निर्माणसम्म

२०७२ सालको महाभूकम्पछि ‘सामाजिक अभियन्ता’ को अवतार ग्रहण गरे हास्यकलाकार धुर्मुसले । त्यसयता उनको कलाकारिता यात्रा भने अवरुद्ध बन्यो ।

हालै मात्र रौतहटको सन्तपुरमा नमूना बस्ति निर्माण र हस्तान्तरण गरेपछि उनी अब आफ्नो कलाकारिताको नयाँ इनिङ सुरु गर्ने तयारीमा छन् । आफ्नो हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा कमब्याक गर्नेदेखि व्यवसायिक फिल्म निर्माणसम्मका योजना उनको मथिंगलमा सल्बलाइरहेका छन् ।

त्यसो त उनलाई आफ्नो महत्वाकांक्षी ‘नमूना नेपाल’ परियोजनाले पनि थिचिरहेको छ । तर, पाँच वर्षे यो परियोजना हाँक्दै गर्दा उनी आफ्नो कलाकारितालाई पनि नयाँ शिराबाट अघि बढाउन चाहन्छन् । एकैचोटि दुई वटा डुंगामा टेकेर यात्रा गर्नु उनको लागि चुनौतिपूर्ण त हुनेछ, तर उनी चुनौतिमै रमाउने योद्धा हुन् ।

‘अब हामी फिल्म निर्माणमा होमिने सल्लाह भइरहेको छ’ उनले अनलाइनखबरसँगको कुराकानीमा भने ।

आफूले बनाउने फिल्म हास्यप्रधान हुनुका साथै यसले बलियो सामाजिक सन्देश पनि छोड्नुपर्छ भन्ने धुर्मुसलाई लाग्छ । यसका लागि उनी अहिले सही विषयवस्तुको खोजीमा छन् । यो बीचमा उनलाई फिल्ममा अभिनयका लागि धेरै प्रस्ताव आए पनि उनले गरेका छैनन् । यसअघि हास्यकलाकारहरुको समुहले बनाएको ६ एकान ६, वडा नम्बर ६ र छक्का पञ्जामा धुर्मुसले लगानी गरेका थिए । तर, छक्का पञ्जा २ र छक्का पञ्जा ३ मा उनी संलग्न छैनन् ।

‘म उहाँहरुको टिमबाट अलग हुनु वाध्यताको उपज हो,’ धुर्मुसले भने, ‘वस्ति निर्माणमा जुट्नुपरेकाले मैले समय निकाल्न सकिनँ ।’ उक्त टिमसँग आफ्नो कुनै मनमुटाव नरहेको र भविष्यमा फेरि सहकार्य हुन सक्ने उनले बताए ।

टेलिभिजन र फिल्ममा नदेखिए पनि देश-विदेशका स्टेज कार्यक्रमहरुमा धुर्मुस सुन्तली सक्रिय नै छन् । स्टेज कार्यक्रम र विभिन्न कम्पनीको ब्रान्ड एम्बेसडर भएवापत आउने पैसाबाट अहिले आफूहरुको रोजिरोटी चलिरहेको धुर्मुसले बताए ।

मेरी बास्सैमा फर्किन सक्ने

धुर्मुस र सुन्तली मेरी बास्सैमा देखिन छोडेको लामो समय भयो । उनीहरु यो सिरियलमा अब फर्किने कि भन्नेमा छन् । तर, फिल्म निर्माणमा हात हालेपछि उनले सिरियलका लागि समय निकाल्न गाह्रो होला कि भन्ने चिन्ता धुर्मुसलाई छ ।

धुर्मुस-सुन्तलीकै नाममा प्रशारण भइरहे पनि मेरी बास्सैलाई अहिले नयाँ कलाकारहरुले धानिरहेका छन् । तर, यसको लोकपि्रयता दिनदिनै खस्किँदो छ । त्यही भएर मिडिया हबले धुर्मुसलाई फर्काउन जोडबल गरिरहेको छ । तर, आफूले सञ्चालन गरिरहेका हास्य टेलिश्रृंखलाका कलाकारहरुलाई उसले समयमा पैसा दिन सकेको छैन ।

नमूना नेपालले गति लियो 

रौतहटमा नमूना वस्ती हस्तान्तरण लगत्तै धुर्मुसलाई ‘नमूना नेपाल’ को महत्वाकांक्षी परियोजनाले पनि थिचेको छ । पछिल्ला केही दिनमा नमूना नेपालले केही गति लिएको धुर्मुसले बताए ।

उनका अनुसार नेपाल इन्जिनीयर्स एसोसिएसन र धुर्मुस-सुन्तली फाउन्डेसनबीच परियोजनाको विस्तृत परियोजना प्रतिवेदन -डिपीआर- र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तयार गर्ने सम्वन्धमा हालै एमओयू भएको छ । ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको ‘नमूना नेपाल’ का लागि ललिपुरको लेलेस्थित खावाडाडामा १६ सय रोपनी वन क्षेत्रको जग्गा धुर्मुस सुन्तली फाउन्डेसनले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment