Comments Add Comment

बहुमतको बलमा अघि बढ्ने देउवाको दाउ

सभापतिलाई किसुनजी जस्तै बनाउन खोजियोः खाँड

१६ फागुन, काठमाडौं । होलीको अवसर पारेर पार्टी महामन्त्री शशांक कोइरालाले गरेको ‘लञ्ज मिटिङ’ मा कांग्रेस पुगेका सभापति शेरबहादुर देउवालाई सञ्चारकर्मीले सोधे-तपाई संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गर्ने कि नगर्ने ?

देउवाको जवाफ- ल घोषणा भयो भयो ।

फेरि प्रश्न- तपाई उम्मेदवार हुनुभयो होइन ?

जवाफ- भयो, भयो ।

महामन्त्री कोइरालाले होलीको नाम दिएर सर्वसम्मत संसदीय दलको नेता बन्ने वातावरण बनाउन ‘लञ्च मिटिङ’ राखेका थिए । तर, शशांकको निम्तो मान्न पुगेका देउवाले महामन्त्रीको योजना पूरा हुन नसक्ने संकेत गरे ।

देउवाको अभिव्यक्तिसँगै शशांकलाई सर्वसम्मत नेता बनाउनुपर्छ भनेर लबिङ गर्नेहरु पनि केही निराश देखिएका छन् । यद्यपि २० गते उम्मेदवारी दर्ता अघिसम्म प्रयास जारी रहने बताउँछन् ।

रामचन्द्रको ‘लेटर बम’

आम चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरपछि नै पार्टीभित्रबाट देउवाको आलोचना सुरु भएको थियो । गगन थापा, चन्द्र भण्डारीसहितका युवा नेताहरुका साथै प्रकाशमानसिंह लगायतका नेताहरुले नेतृत्व परिर्वतनको माग राखे ।

तर, पछिल्लो केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल देउवामाथि खनिए । चार पन्ने लिखित धारणा राखेका उनले पार्टी सभापति देउवामाथि पार्टी र सरकार दुबै चलाउन असफल भएको लगायतका थुप्रै आरोप लगाए ।

एक नेताका अनुसार पौडेलको यो ‘लेटर बम’ ले कांग्रेसमा उनले चाहेको जस्तो धेरै ठूलो तरंग त ल्याएको छैन । तर, देउवालाई अथ आक्रोशित भने बनाएको छ ।

देउवालाई किसुनजी बनाउन खोजियोः खाँड

पौडेलको पत्रबारे देउवाले मुख खोलेका छैनन् । तर, उनीनिकट एक नेताले भने वरिष्ठ नेता रामचन्द्र पौडेलले नै असफल भनेर आरोप लगाउनु गम्भीर भएको बताए ।

नेता बालकृष्ण खाँडले देउवालाई पार्टीबाट किनारा लगाउने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन् । उनले अनलाइनखबरसँग भने ‘जसरी किसुनजीलाई धकेलेर भित्तामा पुर्‍याइयो । उहाँको पनि त्यही नियति हुने खतरा छ । त्यसबाट गम्भीर भएर तपाई नै दलको नेता हुनुस् भनेर सल्लाह दिएका छौं ।’

पार्टी सभापति देउवाले मधेसी दललाई समेत समेटेर निर्वाचन गराएको तथा वरिष्ठ नेता पौडेलकै सल्लाह अनुसार चलेको उनले बताए । खाँडले भने, ‘धेरै लामो समयपछि कार्यसम्पादन समिति बनाउनुभयो । शेरबहादुर, रामचन्द्र लगायतकै नेताहरु बसेर टुंगो गगाएर कार्यसमितिबाट पास गरेको हो ।’

तर, नेता पौडेलले आफ्ना लागि अनुकुल नहुनासाथ अवैधानिक भन्ने गरेको उनको आरोप छ ।

चुनावपछि रामचन्द्र पौडेल समूहले कार्यसम्पादन समिति र संसदीय समिति पार्टीको विधान विपरीत भएको भन्दै खारेज गर्नुपर्ने माग उठाउँदै आएको छ ।

देउवाको लाइनः अब बहुमतको बल

रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पार्टी सभापति असफल भएको भन्दै दलको नेता नबन्न आग्रह गरेका छन् । नमाने आफू सभापतिसँग लड्ने सिंहको दाबी छ ।

महामन्त्री कोइरालाले देउवाको आलोचना गरेका छैनन् । चुनाव लडि्दँन तर, सर्वसम्मत भए दलको नेता बन्छु भन्दै उनी देउवासँग समदुरीमा बस्न चाहेका छन् । साथै आफ्नो नाममा सहमति जुटाउन नेताहरुमार्फत लबिङ गराएका छन् ।

देउवा समूहमै रहेका प्रदिप गिरीदेखि विश्वप्रकाश शर्मासहितका नेताहरुले यही लबिङ गरेका छन् । तर, बालकृष्ण खाँड, विमलेन्द्र निधिसहितका नेताहरुले सभापति देउवालाई कुनै हालतमा दलको नेता नछाड्न दबाव दिइरहेका छन् ।

कांग्रेस नेताहरुका अनुसार देउवाले पनि शशांकलाई दलको नेता बनाउने मुडमा छैनन् । संसदीय दलमा आफ्नो पकड भएकाले बहुमतका आधारमा भएपनि अघि बढ्ने देउवा समूहको रणनीति छ । त्यसको संकेत गर्दै नेता खाँडले भने, अब आफूसँग भएको केन्द्रीय समिति र बहुमतलाई प्रयोग गर्नु पर्ने देखिन्छ ।’

आलोचना गरेर नेतृत्वको कमजोर बनाउने प्रउास भइरहेको भन्दै उनीहरुले अनुशासनको डन्डा चलाउन र बहुमतको बलमा अघि बढ्न देउवालाई सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment