Comments Add Comment

छोरो नजन्माएको भन्दै बुहारीलाई बोक्सी आरोप लगाउने ३ पक्राउ


१७ फागुन, महोत्तरी । बोक्सीको आरोप लगाउँदै मुलमुत्र खुवाएको आरोपमा इलाका प्रहरी कार्यालय बर्दिवासले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बर्दिवास नगरपालिका ३ बस्ने आफूलाई माता भन्ने अप्सरा बराल र बाराको गढीमाई नगरपालिका १६ बस्ने बरुणा गौतम र सीता गौतमलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।

गढीमाई नगरपालिका बस्ने दुर्गा देवी गौतमले इलाका प्रहरी कार्यालय बर्दिवासमा दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने दुईजना बरुणा र सीता उजुरीकर्ता दुर्गाको नातामा आमाजू र सासू रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनाले दुर्गालाई अमानवीय क्रियाकलाप गर्नुका साथै मानव मलमुत्र खुवाएको उजुरीमा उल्लेख छ ।

तीन छोरीकी आमा दुर्गाबाट छोराको अपेक्षा गर्दै सासू र आमाजूले बर्दिवास ३ स्थित आफूलाई माता भन्ने अप्सरा बराललाई भेट्न आएका थिए । माता भन्ने बरालले दुर्गा नै बोक्सी रहेको भन्दै झारफुक गर्ने बाहनामा कुटपिट गर्दै मानव मलमुत्र खुवाउनुका साथै दुर्व्यहार रहेको दुर्गाले बताइन् ।

माताले झारफुक गर्नुका साथै बोक्सी भन्दै एक मुठी कालो कपाल, एउटा मरेको माउसुली, मानव मलमुत्र जबरजस्ती सबै मुखमा कोच्चाएको पीडित दुर्गाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

प्रहरी नायव उपरीक्षक पोखरेलको अनुसार पीडितले दिएको उजुरीको आधारमा पक्राउ गरिएको तीनै जनामाथि अनुसन्धान थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment