१७ फागुन, सप्तरी । शपथ ग्रहण गर्ने समयमा लगाएको माला घाँटीमा झुण्डिएकै थियो । निधारमा लगाइएको टिका पनि त्यसै थियो । यस्तै अवस्थामा प्रदेश २ का एक मन्त्रीले झाडू बोके र दुई घण्टासम्म सरसफाइ अभियन्तालाई साथ दिए ।
समाज विकास मन्त्री नियुक्त भए लगत्तै आफ्ना गृह जिल्ला सप्तरी आएका नवलकिशोर साह राजविराजमा झाडू बोकेर सरसफाइमा जुटे । त्यो पनि रात्रीकालिन समयमा ।
सप्तरी युथ नेपालको आयोजनामा बुधबार राति ९ बजेदेखि दुई घण्टासम्म सरसफाइ गरिएको हो । अभियानमा मन्त्री मात्र होइन, प्रदेश सांसद नेत्रबिक्रम साह, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेश साहसहित स्थानीय केहि नेता र क्लिन काठमाडौं अभियानका केपी खनाल पनि सहभागी भए ।
मन्त्री साहले गजेन्द्र चोकमा माल्र्यापण गरेपछि सुरु भएको सरसफाइ अभियान जनआन्दोलन चोकमा पुगेर सकिएको थियो ।
नवनियुक्त समाज विकास मन्त्री नवलकिशोर साहले समाज विकासको अचुक उपाय सरसफाइ भएकाले सबैले ध्यान दिनुपर्ने बताए । सरसफाइ सम्बन्धमा प्रदेश सरकारले राम्रो निर्णय गर्ने बताउँदै यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4