Comments Add Comment

‘ब्लाइन्ड रक्स’ बन्ला त बेनिशाको करिअरमा टर्निङ प्वाइन्ट ?

नायिका बेनिशा हमाल नेपाली चलचित्रमा सक्रिय भएको ८ वर्ष भइसक्यो । तर भर्खरै-भर्खरै मात्र उनी मुलधारका अभिनेत्रीको रुपमा गणना हुन थालेकी छिन् ।

प्रसन्न पौडेल निर्देशित फिल्म ‘स्वर’ मा दुई नायिकाले डेब्यू गरेका थिए, बेनिशा र केकी अधिकारी । उनीहरु असाध्यै मिल्ने साथी पनि हुन् । सांगीतिक जनराको यो फिल्मले व्यवसायिकरुपमा सफलता पाउन सकेन । तर, दुवै अभिनेत्रीलाई आशालाग्दा प्रतिभाका रुपमा हेरियो ।

समयक्रममा केकी फिल्मी करिअरमा बेनिशालाई अगाडि ओभरटेक गर्दै अगाडि बढिन् । केकीका फिल्महरुले व्यवसायिक सफलता नपाए पनि संख्यात्मक रुपमा उनी सर्वाधिक व्यस्त नायिकामा गनिइन् ।

बेनिशा भने फरक शैलीमा अगाडि बढिन् । उनले थोरै तर राम्रा चलचित्र खेल्न खोजिन् । तर, ती चलचित्रले पनि व्यवसायिक रुपमा सफलता पाउन नसक्दा बेनिशाको करिअरले गति लिन सकेन । फिल्ममा भन्दा उनी म्युजिक भिडियोमै जमिरहिन् ।

जहाँ केकीका दुई दर्जन फिल्म आइसक्दा बेनिशाले भने पाँच वटा फिल्ममा मात्रै अभिनय गर्न भ्याएकी छिन् । स्वरपछि उनले प्रविण श्रेष्ठ निर्देशित ‘मोक्ष’ मा अभिनय गरिन् । समिक्षकहरुबाट यो बायोपिकले खुबै प्रशंसा पायो । तर फिल्मले व्यवसायिक सफलता नपाउँदा राम्रो अभिनयका बाबजुद बेनिशालाई खासै फाइदा भएन ।

त्यसपछि उनले अभिनय गरेको ‘महसुस’ पनि राम्रो थियो । यसमा बेनिशा सपोर्टिङ एक्ट्रेसका रुपमा थिइन् । यो फिल्मले पनि हलहरुमा बलियो खुट्टा टेक्न सकेन । चौथो फिल्म किङमा उनी निखिल उप्रेतिको ओझेलमा परिन् ।

बेनिशाले अभिनय गरेको अर्को स्मरणीय फिल्म हो ‘कालोपोथी’ । फरक धारको यो फिल्मले राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रशंसा पायो । अबार्डहरु जित्यो । तर, बेनिशाको खासै चर्चा भएन ।

पछिल्लो फिल्म ‘झ्यानाकुटी’ मा चाहिँ बेनिशा राम्रैसँग नोटिस भइन् । केही समयअगाडि मात्र रिलिज भएको कमेडी जनराको यही फिल्मले उनलाई मुलधारमा ल्याइदिएको छ । यसमा उनको अभिनयको प्रशंसा भएको छ । यद्यपि यसले पनि बक्स अफिसमा कुनै चमत्कार गरेको भने होइन ।

बेनिशा यतिबेला ‘ब्लाइन्ड रक्स’ को पर्खाइमा छिन् । यही शुक्रबार रिलिज भएको यो फिल्म उनका लागि निकै महत्वपूर्ण हुनेछ । किनकी दृष्टिविहिन सृष्टी केसीको वास्तविक जीवनमा आधारित फिल्ममा उनले केन्दि्रय भूमिका निर्वाह गरेकी छिन् । यो फिल्मका लागि उनले निकै मिहिनेत पनि गरेकी छिन् । यदि फिल्म सफल भयो भने यसको सबैभन्दा ठूलो श्रेय बेनिशालाई नै जानेछ ।

बेनिशा भन्छिन्, ‘नेपालमा बायोपिक कमै बन्छन् र सृष्टी केसीको बायोपिकमा काम गर्न पाउनुलाई मैले गर्वको कुरा ठानेकी छु । मलाई आशा छ यो फिल्मले मेरो करिअरलाई बुस्ट गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment