Comments Add Comment

एक महिनाभित्रै नागढुंगा सुरुङको डीपीआर र ग्लोबल टेन्डर

सुरुङमार्ग बनेमा नौबिसेबाट २० मिनेटमै काठमाडौं प्रवेश गर्न सकिने


१८ फागुन, काठमाडौं । सरकारले नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माणका लागि एक महिनाभित्रै टेन्डर गर्ने तयारी गरेको छ । यो सुरुङमार्ग बनाउन सरकारले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेको छ ।

सुरुङमार्गको डिजाइन जापान सरकारले तयार गरिसकेको छ । अहिले सडक विभाग आफैंले त्यही डिजाइनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्दैछ । त्यसको रिपोर्ट तयार हुनासाथ टेन्डरमा जाने योजना बनाइएको विभागको वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

‘मार्चभित्रै डीपीआरलाई अन्तिम रूप दिएर ग्लोबल टेन्डरमा जाने योजना छ,’ श्रेष्ठले भने, ‘यो परियोजना सडक विभागको लागि निकै उपयोगी सिकाइ हुने अपेक्षा छ ।’ उनका अनुसार सुरुङमार्ग निर्माण थाल्न ढिलाइ गर्ने पक्षमा विभाग छैन ।

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ । सरकारले यस वर्ष पाँच अर्ब ९४ करोड रुपैयाँ छुट्याएको छ ।

सुरुङको लम्बाइ २.३५ किलोमिटर हुनेछ, जसमार्फत् नागढुंगाको जामबाट छुटकारा पाइनेछ । राजधानीको एक मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौं प्रवेश गर्न नौबिसेदेखि तीन घण्टासम्म लाग्छ । सुरुङबाट २० मिनटमै काठमाडौं प्रवेश गर्न सकिनेछ ।

आयल निगमको थानकोट डिपोभन्दा मुनि निस्किने सुरुङलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न दुई दशमलव २५ किमिको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ । पहुँच मार्ग टेलिकम कार्यालयनजिक मुख्य राजमार्गमा जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने सडक निर्माण गर्नुपर्ने छैन ।

दुवैतर्फका सडक बेला–बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टिको सडक दुई लेन हुँदा अर्काेपट्टि एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ

१२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १/१ मिटरको पेटी राखिने छ । सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइने छ ।

सुरुङमार्ग ‘२ प्लस वान लेन’ मापदण्डको हुन्छ । ‘२ लेन प्लस वान लेन’मा दुवैतर्फका सडक बेला–बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टिको सडक दुई लेन हुँदा अर्काेपट्टि एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ ।

सुरुङमार्गमा प्रज्वलनशील पदार्थ बोकेका र मालवाहक सवारी तथा मोटरसाइकल चलाउन नदिने योजना छ । मोटरसाइकललाई सुरुङ मार्ग पार गराउन विशेष गाडीको व्यवस्था हुनेछ । मोटरसाइकल चालक सोही गाडीमा बसेर आउने र पार गरेपछि तोकिएको शुल्क तिर्ने व्यवस्था मिलाइने छ ।

पहुँचमार्गका लागि साविकका महादेवस्थान, दहचोक, बलम्बु र थानकोट गाविसभित्र पर्ने जग्गा अधिग्रहणका लागि प्रक्रिया बढेको छ । विभागले सुरुङमार्गअन्तर्गत् पूर्वी सडक निर्माणका लागि चार सय ३७ कित्ता जग्गा अधिग्रहण गर्दैछ । त्यसमा सरकारले तीन लेनको सडक तयार निर्माण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment