Comments Add Comment

विमानै नभएको बीबी एयरवेजले माग्यो लाइसेन्सको नवीकरण

मन्त्रालय भन्छ: अहिलेकै अवस्थामा नवीकरण असम्भव


१८ फागुन, काठमाडौं । एउटा विमान पनि नभएको बीबी एयरवेजले वायुसेवा सञ्चालन इजाजतपत्र (लाइसेन्स) नवीकरण गर्न आवेदन दिएको छ । उक्त एयरवेज गैर–आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको स्वामित्वमा छ ।

यसअघि पाएको लाइसेन्सको म्याद गत मंसिरमै सकिएको थियो । नेपाल वायुसेवा निगमले कवाडीमा बिक्री गरेको ९एन–एसीए कलसाइनको बोइङ–७५७ खरिद गर्न लागेको बताउँदै लाइसेन्स नवीकरणका लागि आवेदन दिएको हो ।

‘अपरेटिङ प्लान’ प्राप्त नभई नवीकरण नगरिने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कम्पनीसँग कम्तिमा तीन वटा विमान हुनुपर्छ । तर, बीबी एयरवेजसँग अहिले एउटा विमान पनि छैन ।

कम्पनीले बैना गरेको निगमको विमान नामसारी भएको छैन । यही अवस्थामा लाइसेन्स नवीकरण असम्भव रहेको आचार्य बताउँछन् । ‘एउटा मात्र विमान भएर उडान थाल्न मिल्दैन । विमानमा समस्या आउनासाथ यात्रु अलपत्र पर्छन्,’ आचार्य भन्छन्, ‘अन्य धेरै पक्षमा पनि बीबी एयरवेज सबल देखिएको छैन ।’

नवीकरण गर्नुअघि मन्त्रालयले कम्पनीको वित्तीय अवस्थाबारे पनि अध्ययन गर्ने भएको छ । वित्तीय रूपमा कमजोर पाइए नवीकरण गर्न नमिल्ने मन्त्रालयको भनाइ छ । सँगै जनशक्तिको अवस्था, जहाजको संख्या र अवस्थालगायत विषयबारे अध्ययन गरेर मात्र नवीकरण गर्ने/नगर्ने टुंगो लाग्ने सहसचिव आचार्य बताउँछन् ।

‘अहिले निगमको ह्यांगरमा राखिएको जहाज किन्छौं भनेर देखाएकै आधारमा नवीकरण गर्न सकिँदैन,’ आचार्य भन्छन्, ‘अरू कस्ता विमान ल्याउने हो, त्यसका लागि ब्यालेन्स सिट कस्तो छ, कम्पनीको अपरेटिङ प्लान के हो भन्ने पनि हेर्नुपर्छ ।’

बीबी एयरवेजलाई उडान अनुमति दिनुअघि नागरिक उड्डयन प्राधिकरणसँग विमानस्थलमा पार्किङलगायत पूर्वाधारको व्यवस्था उपलब्ध रहे/नरहेकोबारे राय मागिएको आचार्य बताउँछन् । थपिने विमानहरूका कारण ‘ग्राउन्ड ह्यान्डलिङ’मा असहज हुने प्राधिकरणले औंल्याउन सक्ने मन्त्रालयको आकलन छ । अहिले त्रिभुवन विमानस्थलमा पार्किङ अभावको समस्या चर्को छ ।

उक्त कम्पनीले सन् २०१२ मा कम्बोडियाको टोन्ले साप एयरलाइन्सबाट एउटा बोइङ–७५७ भाडामा ल्याएर केही समय काठमाडौं–मलेसिया उडान गरेको थियो । तीन महिनापछि नै उडान बन्द भयो ।

त्यसबेला उडानमा गम्भीरता नदेखिएका कारण पनि लाइसेन्स नवीकरण गर्ने/नगर्ने भन्नेमा मन्त्रालय द्विविधामा देखिन्छ । यसअघि उक्त कम्पनीले पाँच वटा रुटका लागि लाइसेन्स पाएको थियो । ती सबै रुटको अनुमति नवीकरण गर्दा पाँच लाखका दरले २५ लाख रूपैयाँ तिर्नुपर्नेछ । र, म्याद गुजारेर नवीकरणको आवेदन दिएकाले हर्जाना पनि लाग्नेछ ।

यसकारण अड्कियो नामसारी

बीबी एयरवेजले आफ्नो एयरलाइन्स अपरेटिङ सर्टिफिकेट (एओसी) खारेज भएपछि निगमको थोत्रो विमान खरिद गरेको हो । लाइसेन्सको म्याद सकिएको र एओसी खारेज भएको कम्पनीले प्राधिकरणसँग अनुमति लिएर मात्र विमान खरिद गर्नुपर्छ ।

त्यस्तो अनुमति नलिई बोइङ–७५७ खरिद गरेकाले बीबी एयरवेज समस्यामा परेको छ । प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार शुरुमा निगमले उक्त विमानको दर्ता खारेज गरिदिन आग्रह गर्दै प्राधिकरणमा पत्राचार गरेको थियो ।

तर, विमान विदेशी कम्पनीलाई बिक्री गर्ने र पूर्ण रूपमा क्षतिग्रस्त भएको अवस्थामा मात्र दर्ता खारेज गर्न मिल्छ । नेपालमै राखिने भएकाले दर्ता खारेज गर्न मिल्दैन ।

निगमले विमानको नामसारी गरिदिन आग्रह गर्दै प्राधिकरणमा पत्र पठाएको छैन । बीबी एयरवेजसँग एओसी नभएका कारण नामसारी गर्न नसकिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठ बताउँछन् । बीबी एयरवेजले नामसारीका लागि केही समय कुर्न आग्रह गरेको छ ।

मन्त्रालयबाट लाइसेन्स पाएपछि एओसी लिने र त्यसपछि नामसारीको प्रक्रिया थाल्ने बीबी एयरवेजको योजना देखिन्छ ।

निगमका प्रवक्ता श्रेष्ठ भन्छन्, ‘यो विमानका कारण हामीलाई पार्किङमा समस्या पर्दैछ । चिनियाँ जहाज ल्याउने र यो विमान बिक्री गरेर पठाउने हाम्रो योजना थियो ।’ निगमका सबै चिनियाँ जहाज काठमाडौं आइसकेका छन्, बोइङ–७५७ भने ह्यांगरमै थन्किएको छ ।

बीबी एयरवेजले १४ लाख ६० हजार अमेरिकी डलरमा उक्त विमान खरिद गरेको हो । त्यसको मर्मतमै करिब ८० करोड रूपैयाँ खर्च हुन्छ । अहिले नै नयाँ इन्जिन फेर्ने हो भने एक अर्ब ५० करोड रूपैयाँभन्दा बढी खर्च हुने निगमका अधिकारीहरू बताउँछन् ।

निगमले सन् १९८७ मा खरिद गरेको विमान चैत ०७२ देखि ग्राउन्डेड छ, जसले ८६ हजार चार सय १० घण्टा उडान भरिसकेको छ । अब यात्रु बोक्न उचित नभएको बताउँदै निगमले लिलामीको प्रक्रिया अगाडि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment