
१८ फागुन, अछाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने बताएका छन् ।
बिहीबार अछाम पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा फोरम सरकारमा सहभागी हुने सहमति भइसकेको बताएका हुन् । `संघीय समाजवादी फोरमसंग सहमति भइसक्यो´ उनले पत्रकारहरुसँग भने ।
उपेन्द्र यादव नेतृवको उक्त पार्टी सरकारमा सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवाद केन्द्र तयार भइसकेको पनि प्रचण्डले बताए । मधेस आन्दोलनका क्रममा उठाइएका मुद्दालाई राजनीतिक छलफल र सहमतिका आधारमा संविधान संशोधन गरिने उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले संघिय सरकारको पुर्णता पाएसंगै आफूहरु सुशासन र समृद्धि सहितको विकास निर्माणमा केन्द्रित हुने बताए । `सुशासन र विकास निर्माणका कामहरूलाई प्राथमिकीकरण गरेर देशमा नयाँ गति दिने हाम्रो योजना छ ´ प्रचण्डले भने ।
उनले एमाले र माओवादी केन्द्रबीचको एकता चैत पहिलो साताभित्र हुने पनि जानकारी दिए । `छिटो भयो भने यही यही महिनाको लाष्ट, अलि ढिलो भयो भने चैतको पहिलो हप्तासम्म नयाँ पार्टी बन्छ’ प्रचण्डले भने ।
राजनीतिक एजेण्डा र विधान निर्माण गर्न गठित दुई कार्यदलले फागुन २५ गतेभित्र प्रतिवेदन बुझाएपछि पार्टी एकता हुने उनको भनाइ छ ।
प्रतिक्रिया 4