Comments Add Comment

विकासका काम तोकिएकै समयमा सक्न पूर्वाधारमन्त्री सोनारको निर्देशन

२० फागुन, वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनारले विकास र समृद्धिलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएका छन् ।

पर्सा जिल्लामा विभिन्न विकास निर्माणका काम गरिरहेको सरकारी तथा गैरसरकारी संस्था, ठेकेदार कम्पनीलाई पहिलोपटक उनले विकासका काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

‘पृथ्वी राजमार्ग भन्दा अगाडि निर्माणको परिकल्पना गरिएको हुलाकी राजमार्ग बन्न सकेको छैन, कछुवाको गतिमा निर्माणको कार्य अघि बढेको छ,’ उनले भने ‘पुरानो मानसिकताको कारण विकास काम हुन सकेको छैन । अब मानसिकता बदल्नुपर्छ । विकास निर्माणका काममा ढिलासुस्ती सैहृय हुँदैन ।’

सडक विस्तारका कामहरु सरकारी निकायले नगरेर आयोजनाहरुले गर्दा समस्या खडा भएको बताउँदै उनले समन्वय गरेर विकासका काम अघि बढाउनुपर्ने बताए । ‘विकासका काम गर्दा विद्युत, दुर संचार, खानेपानीबीच आपसी समन्वयको आवश्यकता पर्छ । विकासका काममा सबै एकजुट हुनुपर्छ ।’ उनले भने ।

निर्माणाधीन सडकबाट धुलो उडेर नागरिकले सास्ती भोग्नु परेको प्रति आक्रोश पोख्दै मन्त्री सोनारले भने-‘ निर्माणाधीन सडकबाट धुलो उडेर जनस्वास्थ्यमा असर परिरहेको छ । सम्झौतामा पानी हाल्नुपर्ने कुरा उल्लेख हुँन्छ तर ठेकेदार कम्पनीले पालना गरिरहेको हुँदैन । जनताको स्वास्थ्यसँग खेलवाड गर्न पाइँदैन । यसरी खेलवाड गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउँछौं ।’

उनले पावर हाउसदेखि पदमरोडको समस्या तत्काल समाधान गर्न आग्रह गर्दै परवानीपुरदेखि गण्डकसम्मको फोरलेन सडकको काम पनि समयमै सक्न निर्देशन दिए ।

मुआब्जा विवादले सडक निर्माणमा समस्या भएको गुनासो आउने गरेको भन्दै प्रजिअ मार्फत समन्वय गरेर मुआब्जा सम्बन्धि समस्या समाधान गर्नुपर्ने बताए ।

१५/१५ दिनमा सरोकारवाला सरकारी निकाय र निर्माण कम्पनीबीच बैठक बसेर विकासका काममा आइपरेका समस्या समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले सडक निर्माणमा ठेकेदार कम्पनीको लापरवाही देखिएको बताए । ‘समयमा काम सम्पन्न नभएका कारण नागरिकले सास्ती भोग्नु परेको छ । कुनैपनि बहानमा विकास निर्माणको काम रोकीनुहुँदैन भन्ने पक्षमा हामी छौं,’ उनले भने ‘हामीले सक्ने र मिल्नेसम्मको सहयोग गर्छौ ।’

हुलाकी राजमार्ग निर्माणमा समेत लापरबाही देखिएको भन्दै उनले आएका समस्याको बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए । ‘समयमा समन्वय नगर्ने अनि विभिन्न झन्झट भएको भन्ने देखाएर विकासमा ढिलासुस्त गर्ने प्रवृत्ति देखिन्छ,’ उनले भने, ‘ समयमै जानकारी गराएर प्रशासनको सहयोग लिन आग्रह गर्छु ।’

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले समन्वयको अभावमा वीरगञ्जका विकासे आयोजनाहरु लथालिंग अवस्थामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment