२१ फागुन, काठमाडौं । उपहार परेको छ भन्दै ठगी गर्नेहरु खोज्ने क्रममा हुण्डी कारोबारीलाई पक्राउ परेका छन् ।
पवि क्षेत्री र लक्ष्मीदेवी चपाईलाई ४० हजार पाउण्डको उपहार परेको भन्दै ५१ लाख ठगेको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले हुण्डी कारोबारीलाई पक्राउ परेको हो ।
पक्राउ पर्नेमा कुरियर सञ्चालक जयराम कार्की, जय दुर्गा ट्रेड ईन्टरनेशनल नामक कस्मेटिक होलसेल पसलका म्यानेजर कृष्ण गोपाल अग्रवाल र नेपाल लोजेष्टिक प्रा.लि. खिचापोखरीमा कार्यरत मुष्कान तामाङ छन् ।
यस्तो थियो घटना
पवि र लक्ष्मीदेवीलार्इ फेसबुकमा बेलायत घर बताउने एक जना अपरिचित व्यक्तिले ४० हजार पाउन्ड उपहार परेको भन्दै म्यासेज गर्यो । र, त्यो उपहार दिल्ली हुँदै नेपालसम्म अाइपुग्ने बताइएको थियो ।
केही दिनपछि उनीहरूलार्इ उपहार दिल्ली अाइपुगेको भन्दै फोन अायो । त्यहाँबाट नेपाल ल्याउनलार्इ निश्चित रकम चाहिने भन्दै माग भयो । सोही अनुरूप उनीहरू ५१ लाख रूपैयाँ पठाउन राजी भए ।
बेलायती पाउण्ड पाउने लोभमा उनीहरूले नागार्जुन–४, सितापाइलाका जयराम कार्कीलाई ४६ लाख बुझाए ।
कार्कीले त्यो रकम खिचापोखरीमा जयदुर्गा ट्रेड इन्टरनेशन नामक कस्मेटिक होलसेलका म्यानेजर नारायण अग्रवाललाई दिए । अग्रवालले दिल्लीमा पंकज अग्रवाललाई त्यो रकम पठाएको भेटिएको छ ।
अनुसन्धनका क्रममा नारायण अग्रवाल हुण्डी कारोबारी भएको खुलेको प्रहरीले जनाएको छ । उनको पसलबाट स्रोत नखुलको रकम १५ लाख ६२ हजार ९२० र म्यानेजर कृष्णगोपाल अग्रपालको मोबाइलमा हुण्डी कारोबार हुल्ने एसएमएस भेटिएको छ ।
मुख्य कारोबारी फरार
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार हुण्डीको मुख्य कारोबारी नारायण अग्रवाल र नेपाल लोजेस्टिक प्राली खिचापोखरीका सञ्चालक राकेश गुप्ता भएको खुलेको छ । तर, दुबै फरार छन् ।
कुरियरमा काम गर्ने जयराम र कस्मेटिक होलसेलका म्यानेजर कृष्णगोपाल हुण्डी कारोबारको मतियार भएको प्रहरीले बताएको छ ।
थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
प्रतिक्रिया 4