Comments Add Comment

विमान सञ्चालक भन्छन्-विराटनगरबाटै सम्भव छ माउन्टेन फ्लाइट

माउन्टेनजति पूर्वमा, फ्लाइटचाहिँ काठमाण्डौबाट !

२२, फागुन, इटहरी । प्रदेश १ का नवनियुक्त पर्यटन मन्त्री जगदीश कुसियतले अब विराटनगरबाटै माउन्टेन फ्लाइट गर्न भूमिका खेल्ने बताएकोमा धेरैले असम्भव भन्दै सामाजिक सञ्जालमा आलोचना गरे । तर, विराटनगरमा रहेका विभिन्न एयरलाइन्सका व्यवस्थापक, विमानस्थल प्रमुख र पर्यटन व्यवसायी लगायतका सरोकारवाला भने विराटनगरबाटै माउन्टेन फ्लाइट सम्भव हुने बताउँछन् ।

प्रदेश १ मा रहेका संसारका सर्वोच्च शिखरहरूको माउन्टेन फ्लाइट गर्न विरानटगरबाट उडान हुँदैनन् । तर, मार्केट बनाएको अवस्थामा विराटनगरबाटै माउन्टेन फ्लाइट गर्न कुनै समस्या नभएको यति एयरलाइन्स विराटनगर शाखाका म्यानेजर प्रेम कुँवर बताँउछन् ।

सफल माउन्टेन फ्लाइट

केही महिना अगाडि नै विराटनगरको व्यापारिक उत्सवका बेलामा सफल माउन्टेन फ्लाइट गरिएको उदाहरण दिँदै कुँवर भन्छन्, ‘नियमित यात्रु ल्याउन प्रदेश सरकारले सहजीकरण गरेमा विराटनगरबाटै माउन्टेन फ्लाइट हुन समस्या छैन ।’ पूर्वमै रहेका सगरमाथा, मकालु, कञ्चनजंघा र ल्होत्सेजस्ता विश्वप्रसिद्ध हिमालहरू विराटनगर विमानस्थलबाटै नजिक हुने कुँवरले बताए ।

कुँवरको जस्तै भनाइ छ बुद्ध एयरलाइन्स विराटनगर शाखा म्यानेजर कौशल भण्डारीको । ग्राहकहरू पाएको अवस्थामा बुद्ध एयरलाई विराटनगरबाट माउन्टेन फ्लाइट गर्न कुनै समस्या नहुने भण्डारीले अनलाइनखबरलाई बताए ।

बुद्ध एयरले पोखरा-भरतपुर र पोखरा- भैरहवा उडान पनि गराएको उदाहरण दिँदै भण्डारीले भने, ‘नाफाको प्रत्याभूति हुनेबित्तिकै बुद्ध एयर लाइन्सलाई उडान गर्न कुनै समस्या छैन ।’

विभिन्न १० वटा जहाज भएको बुद्धलाई माउन्टेन फ्लाइट प्रदेश १ सरकारले नियमित उडानको मार्केट सहजीकरण गरेमा दैनिक, साप्ताहिक तथा मासिक उडान गर्न सकिने भण्डारी बताँउछन ।

माउन्टेनजति पूर्वमा, फ्लाइटचाहिँ काठमाडाैंबाट !

संसारका ८ हजार मिटरमाथिका १४ हिमालमध्ये नेपालमै ८ वटा छन् । तर, माउन्टेन फ्लाइट भने काठमाण्डौबाट मात्रै हुँदै आएको छ । पूर्वका माउन्टेन लाइटका पारखीहरुले उडान गर्न काठमाडौँ जानैपर्ने बाध्यता छ ।

राजधानीबाट एक घण्टामा हुने माउन्टेन फ्लाइट गर्दा हरेक यात्रुहरूलाई झ्यालको सिट प्रदान गरिन्छ । फोटो खिच्न र हिमाली जानकारी दिने गाइडहरु पनि विमानमै हुन्छन् ।

राजधानीमा विदेशीलाई २० हजार हाराहारी र नेपालीहरूलाई १० हजार आसपासको टिकटमा गरिने माउन्टेन  फ्लाइट पूर्वबाटै नियमित हुँदा हिमालको दुरी छोटो हुनाले केही सस्तो पर्न सक्ने एयरलाइन्स सञ्चालकहरु बताँउछन ।

काठमाडाैंमा बिषेश गरी यति र बुद्ध एयरलाइन्सले माउन्टेन फ्लाइट गराउँदै आएका छन् । एटीआर ४२-३२० र १९०० बीच क्राफ्टमा यात्रा गराउने बुद्ध एयरले एक पटकमा १६ जनासम्मलाई माउन्टेन फ्लाइट गराउँदै आएको छ । यतिले जेटस्ट्रिम-४१ र टर्बोप्रोप जहाजबाट माउन्टेन फ्लाइट गराउने गरेको छ ।

त्यस्तै सिमि्रक एयरले पनि विश्व प्रसिद्ध नेपाली हिमालहरूको दृश्यावलोकन गराउँदै आएको छ ।

विराटनगर एयरपोर्टले माउन्टेन फ्लाइट धान्छः विमानस्थल प्रमुख

पूर्वको व्यस्थित भनिने विराटनगर विमानस्थलमा प्रमुख सुरेशमान सिंह पनि विराटनगरबाटै माउन्टेन फ्लाइट गर्न समस्या नहुने बताउँछन् । ७२ सिटका चार वटा विमानहरू राम्रोसँग पार्किङ गरेर राख्न सकिने बताएका प्रमुख सिंहले माउन्टेन फ्लाइट गर्न एयरलाइन्सहरुले पहल गरेमा कुनै पनि नीतिगत र व्यवहारिक समस्या नरहेको बताउँछन् ।

सिंह भन्छन, ‘यो विमानस्थल फ्लाइट गर्नकै लागि हो, माउन्टेन फ्लाइट गर्न पनि केही समस्या छैन ।’ ३० मिटर चौडा भएको १५ सय मिटरको धावनमार्ग भएको विराटनगर विमानस्थलको ११५ बिघा क्षेत्रफल भएकाले माउन्टेन फ्लाइट गर्न समस्या नरहेको विमानस्थलका प्रवक्ता सन्तोस ढकाल बताँउछन ।

भारतका सेलिब्रेटी ल्याएर प्रचार गरौँ’ 

अहिलेसम्म पूर्वबाट हुन नसकेको माउन्टेन फ्लाइटको व्यावसायिक सञ्चालनका लागि भारतीय पर्यटक तान्न सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । भारतीय राज्यहरू विहार, पश्चिम बङ्गाल र सिक्किमका आगन्तुकहरुलाई आकर्षण गर्न सकेमा पूर्वको माउन्टेन फ्लाइटमा राम्रो बजारीकरण हुने पर्यटन व्यवसायीहरू बताँउछन ।

पर्यटन विषयमै स्नातकोत्तर गरेका इटहरीका पर्यटन व्यवसायी सुनिल भुसाल सीमावर्ती भारतीय राज्यका पर्यटकहरूलाई ल्याएर विराटनगरबाट माउन्टेन फ्लाइट गराउन सकिने बताँउछन् ।

‘पूर्वका धरान, इटहरी, विरानगर, दमक, बिर्तामोडका आन्तरिक पर्यटकहरूले भन्दा पनि भारतीय पर्यटकहरूले माउन्टेन फ्लाइटको राम्रो व्यवसाय चल्छ’, भुसाल भन्छन्, ‘विश्वका उच्च हिमालमाथि हवाई यात्रा गर्न नेपालबाहेक विकल्पै नभएकाले पनि सीमावर्ती भारतीय राज्यका पर्यटकहरू आउन सक्छन् ।’

भारतीय पर्यटकहरू तान्न नेपालका औसत ट्राभल एजेन्सी र विराटनगरको माउन्टेन फ्लाइटको सामाजिक सञ्जालको विज्ञापन मात्रै काफी नहुने मोरङका पर्यटन व्यवसायी राधेश्याम पौडेल बताँउछन ।

‘हामीलाई सुरुमा पूर्वको माउन्टेन फ्लाइटको भारतीय राज्यहरूमा ब्राण्डिङ गर्न जरुरत छ’, सुन्दरहरैचा नगरपालिकामा रहेको गोकुलम रिसोर्टका सञ्चालक समेत रहेका पौडेल भन्छन्, ‘त्यसका लागि विहार, बंगाल र सिक्किमका सेलिब्रेटी र पत्रकारहरूलाई प्रायोजित उडान भरेर भारतीय बजारको आँखा तान्न सकिन्छ ।’

भारतमा लाखौँको संख्यामा भक्तहरू रहेका धार्मिक बाबाहरूलाई पनि फ्लाइट गराएमा उनीहरूका भक्तहरू पनि आकषिर्त भएर माउन्टेन फ्लाइटको बजार बन्ने पौडेल बताँउछन् । पौडेल भन्छन्, ‘जसरी मोदीले भ्रमण गर्ने भनेर मिडियामा आएकैले मुक्तिनाथ र जनकपुरमा भारतीय पर्यटकहरू बढे, त्यसै गरी विराटनगरको माउन्टेन फ्लाइटको पनि सीमावर्ति राज्यका सेलिब्रेटी  र सम्पादकहरूलाई उडाउन प्रदेश सरकार, पर्यटन बोर्ड र पर्यटन मन्त्रालयले पहल गर्न सक्छ ।’

‘विहारका पर्यटक करिब १० हजार खर्चेर विराटनगर हुँदै भेडेटार आउँछन’, धरानका ट्राभल एजेन्सी सञ्चालक वासुदेव बराल भन्छन्, ‘त्यस्तै पश्चिम बङ्गालका पनि मेची क्षेत्रमा आउने गर्छन् । उनीहरूलाई करिब दश हजार रुपैयाँ हाराहारीमा माउन्टेन फ्लाइट पनि गराउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment