Comments Add Comment

विस्तृतमा बुझ्नुहोस् सिरियाली द्वन्द्व : नेपालले के सिक्ने ?

इस्लामिक संस्कृतिलगायत विभिन्न सांस्कृतिक सम्पदाका कारण पर्यटकीय आकर्षणको केन्द्रमा रहने सिरिया अहिले ध्वस्त हुँदै गई रहेको छ । सन् १९४० मा फ्रान्सको उपनिवेशबाट मुक्त भएपछि यो देश राम्रै्र गतिमा अघि बढिरहेको थियो । ७५ प्रतिशत खेतीयोग्य जमिन थियो । ३० प्रतिशत मानिसको बीचमा इन्टरनेटको पहुँच थियो । दमास्कस, अलेप्पो, पालमिरा जस्ता शहरहरुमा पर्यटकहरुको राम्रै आवतजावत हुने गर्दथ्यो । तर, अहिले एकदम विपरीत अवस्था छ ।

बाटो, पानी, बिजुली, कारखाना सबै ध्वस्त भइसकेका छन् । अलेप्पो शहरका सबै मुख्य मस्जिदहरु ध्वस्त भइसकेका छन् । पालमिरा शहरमा अवस्थित रोम सभ्यताको कालदेखि करिब तीन हजार वर्ष पुरानो विश्व सांस्कृतिक धरोहर समेत ध्वस्त भइसकेको छ । क्रिश्चियन तथा सिया संरचनाहरु कुनै पनि बाँकी छैनन् ।

यहाँ अहिले कुनै उत्पादन हुँदैन । खानपिनका सामग्रीहरु एकदम महङ्गो भइसकेका छन् । स्वास्थ्य समस्याका कारण पोलियो जस्ता रोगहरु समेत देखा पर्न थालेका छन् ।

लेबनान, टर्की, इराक, जोर्डन, इजरायलजस्ता देशहरुबाट घेरिएको मध्य-पूर्वी यो देशमा हालसम्मको युद्धका कारण करिब पाँच लाखभन्दा बढी मानिस मरिसकेका छन् । ६० लाख मानिस विस्थापित भएका छन् । विस्थापितहरुमध्ये सबैभन्दा बढी २७ लाख मानिस टर्की पुगेका छन् । त्यस्तै, युरोपको जर्मनी, लेबनान, जोर्डन जस्ता देशहरुमा ठूलो मात्रामा सिरियनहरु विस्थापित हुन बाध्य भएका छन् ।

कुनै परिवारका सदस्यहरु आपसमा लडिरहने हो भने के होला ? त्यो परिवारको हित नचाहने तेस्रो व्यक्तिले त्यसको फाइदा उठाउन सक्छ । त्यो परिवारमा सदस्यहरुबीच अझ द्वन्द्व चर्काएर आफ्नो निहीत स्वार्थ पूर्तिमा केन्दि्रत हुन सक्छ । कुनै गाउँ वा समाजमा बलियो एकता भएन भने पनि त्यही अवस्था आउन सक्छ । देशको सार्वभौमिकता, अखण्डता कमजोर हुने त्यसको साथै जाति, धर्म, क्षेत्र, भाषाका आधारमा आपसमा लड्ने हो भने त्यो देशको हित नचाहने विदेशी शक्तिले त्यसको फाइदा उठाउन सक्छ । गलत नियत भएको त्यो शक्तिले आफ्नो स्वार्थ पूरा गर्न जस्तोसुकै अवस्थासम्म पनि पुग्न सक्छ ।

अहिलेसम्म संसारका विभिन्न देशहरुमा जात, धर्म, भाषा, क्षेत्रका आधारमा भइरहेका आपसी द्वन्द्व र त्यसका आधारमा हुँदै आएका विदेशी हस्तक्षेपले पनि त्यो कुराको पुष्टि गर्दछ । र, भर्खरैको उदाहरण हो- सिरिया ।

मध्य-पूर्वी देश सिरिया, जसको राजधानी दमास्कस हो, जहाँ मुस्लिम धर्म अन्तर्गत लगभग १३ प्रतिशत सिया तथा ८३ प्रतिशत सुन्नी समुदायका मानिसहरु बसोबास गर्छन् । त्यहाँ ड्रज, क्रिश्चियन समुदायका मानिसहरु पनि बस्छन् । सन् २०११ को जनगणना अनुसार त्यहाँको जनसङ्ख्या दुई करोड २० लाख थियो ।

सिरियाका राष्ट्रपति बसर अल असद सिया अलावाइट समुदायबाट प्रतिनिधित्व गर्छन् । उनका पिता हफिस अल असादको १९९७ देखि २००० सम्मको शासन कालपछि उनी सत्तामा आएका हुन् । सद्दाम हुसेन इराकको राष्ट्रपति हुँदा उनी बाथ पार्टीको प्रतिनिधित्व गर्दथे । बसर अल असद पनि सोही पार्टीको प्रतिनिधित्व गर्दछन् । उनको झुकाव पनि सिया समुदायप्रति नै रहने गरेको छ ।

सिरियामा समस्याको सुरुवात त्यो बेलादेखि भयो, जब सन् २००६ देखि २०११ सम्म त्यहाँ सुख्खाको स्थिति सिर्जना भयो । त्यस प्रकारको सुक्खाग्रस्त अवस्थाका कारण त्यहाँबेरोजगारी, भोकमरी, अकालको अवस्थासम्म सिर्जना भयो । राजनीतिक रूपमा भ्रष्टाचार व्यापकरूपमा बढ्दै गयो, जसका कारण त्यहाँका जनतामा असद सरकारका विरुद्ध आक्रोशको स्थिति सिर्जना भयो ।

परिणाम यो हुन गयो कि २०११ बाट ट्युनिसियाबाट सुरु भएको अरब क्रान्ति -जसलाई जस्मिन क्रान्ति पनि भनिन्छ) बाट सिरिया पनि प्रभावित हुन पुग्यो र मार्च २०११ मा यहाँ ठूलो सडक प्रदर्शन भयो ।

अरब आन्दोलनले इजिप्ट, ट्युनिसियाजस्ता देशहरुको सत्ता परिवर्तन भयो । तर, सिरियामा त्यसो हुनु सम्भव भएन । आन्दोलन चर्कदै गएपछि असद सरकारले त्यहाँको न्यायपूर्ण आन्दोलनलाई अमानवीय प्रकारले दमन गर्न थाल्यो ।

दमन गर्ने राष्ट्रपति सिया समुदाय तथा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने हुनाले बहुसङ्ख्यक सुन्नी समुदाय झनै आक्रोशित हुन थाले । यसरी विस्तारै त्यहाँको आन्दोलनले सिया र सुन्नी समुदायवीचको साम्प्रदायिक रूप लिन थाल्यो । असद सरकारको निर्मम आक्रमणका विरुद्ध विद्रोहीहरुद्वारा समेत हतियारको प्रयोग गर्न थालियो ।

सिरियामा सिया तथा सुन्नीबीच चर्किदै गएको साम्प्रदायिक भावनालाई पक्रँदै विभिन्न आतङ्कवादी सङ्गठन तथा विदेशी शक्तिहरु आ-आफ्ना स्वार्थहरुमाथि केन्दि्रत हुँदै बेग्लाबेग्लै प्रकारले धु्रवीकरणको माध्यमबाट अगाडि बढ्न थाले ।

सन् २०११ मा सिरियन आर्मीबाट विद्रोह गरेर फ्री सिरियन आर्मी गठन भयो, जसले सेक्युलरिज्म जस्ता कुराहरु उठायो । २०१२ तिर त्यहाँ थुप्रै जेहादी (धार्मिक युद्ध गर्नेहरु) देखा परे । सुन्नी समुदायको वकालत गर्ने आईएसआईएसले त्यहाँ आफ्नो नियन्त्रण गर्न सुरु गर्‍यो ।

इराकको फजुला तथा मसुल शहरमा आफ्नो प्रभाव विस्तार गरेको आईएसआईएसले सिरियाको राका शहर कब्जा गर्दै आफ्नो गतिविधि अगाडि बढाउन थाल्यो । अबु बक्र अल बग्दादी यो सङ्गठनको नेता रहने गरेका छन् ।

त्यस्तै, अल-कायदाको शाखा, जबात अल नुस्रा (जसले पछि आफ्नो नाम परिवर्तन गरेर जबात फतेह अल शाम भन्न थाल्यो) ले पनि आफ्नो प्रभाव बढाउन थाल्यो ।

त्यस्तै, टर्कीको समर्थन रहेको मुस्लिम ब्रदरहुड, जातीय सङ्गठन कुर्द (जसले कुर्दिस्तान भनेर स्थानीय सत्ता चलाइरहेको छ), फ्रन्ड्स अफ सिरिया ग्रुप लगायत लगभग ७५ आतङ्कवादी सङ्गठनहरु अहिले पनि त्यहाँ क्रियाशील छन् ।
इजरायलविरुद्ध लडिरहेको सिया सङ्गठन, हिजबुल्ला (जसलाई असाद सरकारको समर्थन छ) ले पनि त्यहाँ आˆनो प्रभाव जमाउन थाल्यो ।

यसरी सिरियामा च्याउजस्तै कट्टरपन्थी सङ्गठनहरु निर्माण हुन थाले । इरान र साउदी अरबबीचको आपसी खटपट चलि नै रहन्थ्यो ।

सेप्टेम्बर ११ को आक्रमणबाट डराएको अमेरिका यी आतङ्कवादी सङ्गठनहरुलाई आफ्नो स्वार्थअनुरूप प्रयोग गर्न कहाँ छुट्थ्यो र ? भूराजनीतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको साउदी अरबलाई आफ्नो पक्षमा पार्दै अमेरिकाले रिसियामा समेत आफ्नो चलखेल सुरु गर्‍यो । सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाली विद्रोही समूहहरुलाई सहयोग गर्न अमेरिकाको केन्द्रीय जासुस एजेन्सी, सीआईएको प्रयोग गरे । विद्रोही समूहलाई विभिन्न प्रकारका हतियार तथा प्रशिक्षण दिएर सहयोग गर्न थालियो ।

एकदमै नकारात्मक पृष्ठभूमि भएका राबर्ट एस फोर्डलाई अमेरिकाले सिरियामा राजदूतका रूपमा नियुक्त गर्‍यो । सिरियाको स्थिति बिग्रँदै जानुमा ती राजदूतको नकारात्मक भूमिका पनि एउटा कारण रहेको बताउने गरिएको छ ।

अमेरिकन गतिविधिलाई बि्रटेन, टर्की, कतार, जोर्डनजस्ता देशहरुले सहयोग गरे । यसप्रकारको सहयोगका आधारमा त्यहाँका विद्रोही सङ्गठनहरुले आफ्ना आतङ्कवादी गतिविधिहरुलाई झनै चर्काउन थाले ।

यस प्रकारका गतिविधिहरुबाट आतङ्कित हुँदै गएको असद सरकारले २०१३ मा सरिन ग्याँसबाट समेत आक्रमण गरेको आरोप लगाइन्छ । रङ तथा वासना नभएको सरिन ग्याँसका कारण सास फेर्न गाह्रो हुने, पसिना धेरै आउने, पेट दुख्ने, बान्ता हुने जस्ता लक्षणहरु देखा पर्दछन् र अन्तमा मानिसको मृत्यु हुन्छ । यस प्रकारको विषम परिस्थिति रोक्न सोही वर्ष जेनेभा कन्फ्रेन्स समेत भयो । तर, त्यो उपलब्धिमूलक रहेन ।

सन् २०१४ मा अल-कायदाबाट अलग भएको आईएसआईएलले सर्वत्र सरिया कानुन लागु गर्नुपर्ने भन्दै कुर्द तथा एफएसएमाथि आक्रमण गर्न थाल्यो । त्यसको प्रतिक्रियास्वरूप सोही वर्षको सेप्टेम्बरतिर अमेरिकाले आईएसआईएलविरुद्ध आक्रमण गर्न थाल्यो ।

सरकारविरुद्ध विद्रोही सङ्गठनहरु मजबुत हुन थालेपछि २०१५ तिर रुसले आफ्ना सेनाहरु पठाएर आईएसआईएल, एफएसए र अल नुस्राहरुमाथि आक्रमण गर्न थाल्यो ।

सिरियामा विभिन्न शक्तिहरु अस्तित्वमा रहे पनि मुख्य शक्ति भनेको असद सरकार, एफएसए, आईएसआईएस, कुर्द र अल नुस्रा हुन् । यी शक्तिहरुमध्ये एफएसएलाई अमेरिकाको समर्थन रहने गरेको छ । असद सरकारलाई रुसको समर्थन छ ।

कुन शक्ति कसका विरुद्ध सङ्घर्षमा उत्रिन्छ ? त्यसको कुनै निश्चित नै हुँदैन । त्यहाँकहिले विद्रोही पक्ष त कहिले सरकारी पक्ष बलियो हुने र त्यसका पछाडि अमेरिका तथा रुसले विभिन्न प्रकारले भूमिकाहरु खेल्दै गए ।

कैयौँ पटक शान्तिवार्ता, शान्ति सम्झौताहरु भए । तर, तिनीहरु सबै असफल हुँदै गए । विशेष गरेर २०१२ मा जेनेभा प्रथम, २०१४ मा जेनेभा द्वितीय, २०१५ मा भियना शान्ति वार्ता, २०१६ मा जेनेभा तेस्रो शान्ति सम्झौताहरु भए । तर, मुख्य विषय असद सरकारको व्यवस्थापन कसरी गर्ने ? यो विषयमा सहमति हुन नसक्दा ती सम्झौताहरु असफल हुँदै गए ।

केही विद्रोही सङ्गठनहरुका बीच शान्ति सम्झौता गर्‍यो भने पनि त्यहाँ ७५ भन्दा बढी त्यस्ता सङ्गठनहरु छन् र सबैका बीच सहमति हुनै नसक्ने अवस्था छ ।

द्वन्द्व चर्किंदै जाँदा ४ अपि्रल २०१७ मा सिरियन सरकारले खान सेकुवान शहरमा रासायनिक आक्रमण गर्‍यो । त्यसकै भोलिपल्ट अमेरिका, बि्रटेन, फ्रान्सको सहयोगमा फेरि रासायनिक आक्रमण गरियो ।

त्यस्तै ६ अपि्रलको राति सामरिकरूपमा महत्वपूर्ण मानिएको अल शायरत एयरफिल्ड -सिरियन आर्मीको बेस) मा ५९ युएस टोमाहक मिसाइलद्वारा आक्रमण भयो ।

सरकार र विद्रोहीहरुमध्ये कोही पनि कमजोर हुने अवस्था रहेन । सरकार कमजोर हुँदा रसिया, इरान आदि देशको समर्थन पाउने, विद्रोहीहरु कमजोर हुँदा अमेरिका, साउदी अरब आदि देशको समर्थन पाउने, यसप्रकारको विषम परिस्थिति सदैव रही रह्यो ।

यसप्रकारको जटिलता बढ्दै जाँदा यही वर्षको फेबु्रअरीदेखि फेरि त्यहाँ भीषण द्वन्द्व चर्किएको छ । राजधानी दमास्कसबाट १५ किमी टाढा रहेको गुटा शहरमा विद्रोही सङ्गठन जैश-ए-इस्लामले कब्जा गरेको भन्दै असद सरकारद्वारा हेलिकप्टरबाट बेरल बमद्वारा आक्रमण गरियो । सरकारमाथि क्लोरिन नामक रासायनिक हतियार समेत प्रयोग गरिएको आरोप लागिरहेको छ र विद्रोही तथा सरकार दुवैले एक-अर्कालाई सङ्घर्षविरामको सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।

सिरियन द्वन्द्वका कारण र समाधान

सिरियन द्वन्द्वको चर्चा गर्दा विभिन्न कारणहरु त्यसमा जोडिएको प्रष्ट हुन्छ । पहिलो कारण, त्यहाँको बेरोजगारी, भ्रष्टाचार र त्यसलाई दबाउन सरकारबाट भएको बर्बरता । दोस्रो कारण, धार्मिक मनमुटाव, जसका कारण विभिन्न आतङ्कवादी सङ्गठनहरुको चलखेल । तेस्रो कारण, अमेरिका तथा रुस जस्ता देशहरुको वैदेशिक हस्तक्षेप, जसलाई प्रोक्सी वार तथा कोल्ड वार पनि भन्ने गरिन्छ । चौथो कारण, अरब स्पि्रङ । पाँचौ कारण, सिया संगठन हिजबुल्लाको बढ्दो प्रभाव, जसले इजरायललाई ठूलो चोट पुर्‍याउँदै आएको छ । जुन कुरा अमेरिकालाई मन परेको छैन । र, सबैभन्दा महत्वपूर्ण छैठौ कारण हो, ग्यासको राजनीति ।

असदले जनवरी २०११ मा एउटा ग्याँस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । यदि यो सम्झौता कार्यान्वयन भएमा इरान, इराक, सिरिया जस्ता देशहरुलाई निकै फाइदा पुग्थ्यो भने टर्की, कतार जस्ता देशहरुलाई नोक्सान पुग्थ्यो ।

यस प्रकारको ग्याँसको राजनीति पनि सिरियामा युद्ध जन्मिनुको एउटा कारण हुन पुग्यो । अमेरिका ती देशहरुको ग्यासमाथि कब्जा कब्जा गर्न चाहन्छ र त्यही स्वार्थमाथि केन्द्रित हुुँदै उसको विभिन्न प्रकारको चलखेल चली रहेको छ ।

सिरियामा युद्धका सन्दर्भमा अर्को कुरा के देखियो भने त्यहाँ युद्धका नियमहरु कसैले पनि पालना गरेको छैनः शान्ति सम्झौता गर्ने तर त्यसलाई कसैले पनि पालना नगर्ने, १९९७ मा नै उत्पादनमा प्रतिबन्ध लगाइएको सरिन जस्तो रासायनिक हतियारको प्रयोग गर्ने, सम्पूर्ण क्षेत्र नै ध्वस्त पार्ने क्लस्टर बमहरुको प्रयोग गर्ने, मानिसलाई जिउदै जलाउने, अपहरण गरेर हत्या गर्ने, मानिसहरुको सामूहिक हत्या गरेको भिडियो बनाएर प्रसारित गर्ने, बच्चाहरुको निर्मम हत्या गर्ने, महिलाहरुमाथि दुव्र्यवहार गर्ने जस्ता अत्यन्तै अमानवीय घटनाहरु त्यहाँ हुँदै आएको छ ।

अमेरिकाको स्वार्थअनुरूप नचलेकै कारण इराक, अफगानिस्तान जस्ता देशहरु ध्वस्त भएर गए । उत्तर कोरिया अहिलेसम्म अमेरिकाको अगाडि झुकेको छैन ।

त्यस्तै, सिरिया पनि एउटा त्यस्तो देश हो, जसलाई अमेरिकाले परास्त गर्न सकेको छैन । विश्वभरि आफ्नो दादागिरी देखाउँदै आएको अमेरिका जुनसुकै कारणले भए पनि सिरियामा असफल भएको स्वीकार गर्नु पर्ने नै हुन्छ ।

असद सरकार सही छ, उसका गतिविधिहरु न्यायोचित छ-त्यस्तो निष्कर्ष त कसैको हुँदैन होला । तर, मुख्य कुरा के हो भने सिरियामा बढ्दै गइरहेको जटिलताको समाधान सिरियाली जनताले नै गर्नु पर्दछ । कुनै बाह्य देश आएर उनीहरुको समस्या समाधान गरी दिने होइन । विश्वभरि आफ्नो साम्राज्य फैलाउँदै आइरहेको अमेरिकाको त चाहना नै यही हुन्छ कि मानिस धर्म, जात, भाषा, क्षेत्रको आधारमा आपसमा लडून् र त्यो द्वन्द्वको आधारमा आफ्नो स्वार्थ पुरा गर्न सकियोस् । सिरियाली द्वन्द्वको मूल कारण पनि यही हो ।

संयुक्त राष्ट्रिय सुरक्षा परिषदको भूमिकाले सिरियाली द्वन्द्वको समाधान हुने होइन । अमेरिका त द्वन्द्व झनै चर्किदै जाओस् भन्ने चाहन्छ । असद सरकार पनि जनविरोधी सरकार भयो नै ।

आईएसआईएस, अल नुस्राजस्ता कट्टरपन्थी सङ्गठनहरुले समाजमा झनै आतङ्क मच्चाउँदै गइरहेका हुन्छन् । त्यसकारण सिरियाजस्ता देशहरुमा प्रजातान्त्रिक तथा जनवादी शक्तिहरुको विजारोपण हुनु पर्छ । त्यो शक्ति सिरियाली जनताका बीचबाट नै उदय हुनुपर्छ र त्यो शक्तिले अहिले बढ्दै गइरहेको जटिलताको समाधान गर्न सक्ने छ ।

नेपालले सिरियाबाट के सिक्ने ?

नेपाली जनताले पनि सिरियाली द्वन्द्वबाट केही शिक्षा त लिनुपर्ने नै हुन्छ । जात, क्षेत्र, धर्मको नाममा आपसमा लड्दाको परिणाम के हुँदो रहेछ त ?

सङ्घीयताको नाममा हामीले आफ्नो देशको सार्वभौम सत्ता, अखण्डतालाई क्रमशः कमजोर बनाउँदै गई रहेका छाैं । त्यसरी हामी आफै कमजोर हुँदै जाँदा विदेशी हस्तक्षेप कसरी हुँदो रहेछ त ?

सिरियाली द्वन्द्वका नराकारात्मक पक्षहरुबाट पनि शिक्षा ग्रहण गर्दै सर्वप्रथम आफ्नै देश त्यसका साथै विश्वव्यापी रूपमा प्रजातान्त्रिक, जनवादी तथा समाजवादी आन्दोलनको दिशामा अगाडि बढ्नु नै सही तथा न्यायोचित कदम हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment