+

म अध्यक्ष भए एन्फामा हुकुमी शैलीको अन्त्य गर्छु : शेर्पा

२०७४ फागुन  २३ गते १७:३२ २०७४ फागुन २३ गते १७:३२
म अध्यक्ष भए एन्फामा हुकुमी शैलीको अन्त्य गर्छु : शेर्पा

२३ फागुन, पोखरा । अखिल नेपाल फुटवल संघ (एन्फा) को अध्यक्षका प्रत्यासी कर्मा छिरिङ शेर्पाले फुटबलमा रहेको हुकुमी शैली अन्त्य गर्ने घोषणा गरेका छन् ।

आगामी चैत १४ गते हुने एन्फाको १६ औं अधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका उनले  पोखरामा आयोजित कार्यक्रममा आफू अध्यक्षमा निर्वाचित भए नेपाली फुटबलमा रहेको हुकुमी शैलीको अन्त्य गरेर विधिको शासन स्थापित गर्ने बताएका हुन् ।

घुमाउरो पारामा एन्फाका पूर्व अध्यक्ष गणेश थापाको हुकुमी शैलीले फुटबल बिग्रेको आरोप लगाउँदै उनले एन्फामा रहेको विकृति विसंगतिको अन्त्य गर्ने उद्घोष गरे । नेपाली फुटबल क्षेत्रले परिवर्तन खोजिरहेको भन्दै शेर्पाले भने, ‘नेपाली फुटबलले परिवर्तन खोजिरहेको छ, खास गरेर नेतृत्व परिवर्तन, नेतृत्वको कार्यशैली परिवर्तन, भ्रष्टाचारको अन्त्य र ब्यवस्थित ढंगको सञ्चालन, म यसैका लागि उम्मेदवार बनेको हुँ ।’

शेर्पाले देश दौडाहाका क्रममा कास्कीसम्म आइपुग्दा निर्वाचन जितिसकेको महसुस भएको बताए । जुन जिल्लामा पुगे पनि सबैले सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र कास्कीले देखाएको दृढता र समर्थनले आफूसहित आफ्नो प्यानललाई नै जित सुनिश्चित गरेको शेर्पाले दावी गरे ।

उनले ७७ भोटमध्ये हालसम्म ७३ समितिले पूर्णता पाएको र भक्तपुर, नवलपरासीको बाँकी रहँदा आफू भारी मत ल्याएर बिजयी हुने लक्षण देखिएको दावी गरे । ‘यो सब यसअघि फुटबलमा भएका विकृति बिसंगतिबिरुद्ध मैले उठाएको आवाजका कारण हो, मेरो जित सुनिश्चित जस्तै छ ।’

शेर्पाले आफू अध्यक्ष भए फुटबलको गुरु योजना बनाएर काम गर्ने फेहरिस्त सुनाए । फुटबल तल्लो तहबाटै सिकाउने पद्धति नहुँदा खेलाडी उत्पादनमा समस्या रहेको भन्दै उनले आफू अध्यक्ष भएपछि स्थानीय तहमा फुटबल टे्रनिङ सेन्टर र प्रदेश स्तरमा सबै प्रदेशमा फुटवल एकेडेमी बनाउने घोषणा गरे ।

एन्फा चुनाव
लेखक
सन्देश श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय