+
+

विमानस्थलमा अनौठा ५ दृश्य

गौरव पोखरेल गौरव पोखरेल
२०७४ फागुन २८ गते २२:१३

२८ फागुन, काठमाडौं । सोमबार दिउँसो काठमाडौं प्रहरी परिसरका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल र डीएसपी मोहन थापासँग काठमाडौंको सुरक्षा अवस्थाका बारेमा कुराकानी भइरहेकै बेला विमान दुर्घटनाको खबर आयो ।

करिब साढे २ बजेतिर प्रहरीको सञ्चार सेटमा जानकारी आयो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भयो ।’ लगत्तै, एसएसपी पोखरेलको गाडी विमानस्थलतर्फ लाग्यो ।

विमानस्थल परिसरमा पुग्दा धेरै सञ्चारकर्मीहरु भित्र जाने अनुमतिको अभावमा बाहिरै बसिरहेका थिए । दुर्घटना भएको ठाउँमा पुग्दा त्यहाँ व्यापक भिड लागिसकेको थियो ।

अनलाइनखबकर्मी दुर्घटनाग्रस्त विमान भएको ठाउँमा पुग्दा आगो अझै नियन्त्रणमा आएको थिएन । वारुणयन्त्र, फायरफाइटर, नेपाली सेना, प्रहरी र उद्दारकर्ताहरुको अन्य टोली आगो निभाउन र घाइतेको उद्दारमा सक्रिय थियो ।

हामीले त्यहीँबाट अनलाइनखबर फेसबुकमा लाइभ प्रस्तुत गर्‍यौं र पाठकहरुलाई सूचना पस्कियौं ।

यसक्रममा घटनास्थलमा देखिएका ५ वटा परिदृश्य यस्ता थिएः

१. प्रधानमन्त्री बोलिरहँदा शव चल्मलायो !

सुरक्षाकर्मीले विमानबाट शव निकालेर लस्करै राखेको ठाउँमा पोको पारेर राखेको ठाउँमा एउटा शव हल्लिएको एक व्यक्तिले सुनाए । लगत्तै सबैको ध्यान त्यहीँ केन्दि्रत भयो । त्यसबेला प्रधानमन्त्री केपी ओली बोलिरहेका थिए ।

लगत्तै, प्रधानमन्त्री ओलीलाई छाडेर राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीसहित अन्य व्यक्ति त्यसतर्फ हानिए । हतार-हतार त्यो झोलालाई नै एम्बुलेन्समा हालियो । तर, चिकित्सकले भने मानिस जिवित नभएको बताए ।

‘प्लेनको तातोका कारणले शव त्यस्तो भएको हो । उनी जीवित छैनन्’, ती चिकित्सकले भने । त्यसपछि मानिसहरु फेरि तितर-वितर भए ।

२. सामानसँगै हातको टुक्रा !

दुर्घटनामा परेका मध्ये २७ जनाको शवलाई घटनास्थलकै एकछेउमा राखेर प्रहरीको सोको टिम ‘क्राइम सिन’ मा भएको इभिडेन्स कलेक्ट गर्दै थियो ।

सेनाका केही अधिकारीहरु विमानभित्र रहेका यात्रुका सामग्री निकाल्दै थिए । कतिपय लगेजहरु जस्ताको तस्तै थिए । कतिपय ब्यागहरु फुटेका थिए । आगो निभाउन पानीको व्यापक प्रयोग भएकाले घटनास्थलमा हिलाम्ये थियो ।

सेना लस्करै बसेर एक व्यक्तिबाट अर्को गर्दै सामान पास गरिरहेका थियो । त्यतिकैमा सेनाका एक जवानले समातेको ब्याग फुत्त अर्कोलाई पास गरिदिए । त्यहाँ हेर्दा ब्यागको एक भागमा मानिसको हातको टुक्रा टाँसिएको देखियो ।

उनीहरुले त्यो ब्यागलाई हतार-हतार अर्का सरकारी अधिकारीतर्फ सारे । र, सबै सामग्रीलाई एकीकृत गरेको ठाउँमा थन्क्याए ।

३. जलिरहेको विमानमा सग्ला मान्छे !

उद्दारकर्ताहरु यात्रुलाई उद्दार गरेर निकाल्दै थिए, हठात् एक महिला सबैलाई चकित बनाउँदै विमानबाट फुत्त बाहिरिइन् । खाइलाग्दो मोटो ज्यान भएकी ती युवतीले निस्किने वित्तिकै मोबाइल झिकेर फोन डायल गर्न खोजिन् ।

नजिकै एम्बुलेन्सहरु राखिएका थिए । अलि अगाडि पुगेपछि उनी अत्ताल्लिँदै एम्बुलेन्समा चढिन् । उनी बंगलादेशी नागरिक सरिन अहमद रहिछिन् । उनको जिउको कपडामा आगो सल्किएको देखिन्थ्यो ।

विमानबाट एक युवक खुट्टाले झ्याल फुटाएर बाहिर निस्किए । अर्का युवक रगत्ताम्मे थिए । यद्यपि, उनी चिच्याउँदै आफैं निस्किए ।

उद्दारकर्ताहरुले बोकेर निकाल्न खोज्दा उनले आफै जान सक्ने बताए । र, आफैैं एम्बुलेन्ससम्म पुगे ।

४. रामचन्द्र पौडेलको प्रश्नले सबै चकित

घटना भएको करिब एक घण्टादेखि नै दुर्घटनास्थलमा भीआईपीको आउने क्रम सुरु भएको थियो । सुरुमा गृहमन्त्री रामबहादुर थापा बादल आए । लगत्तै, रक्षामन्त्री ईश्वर पोखरेल पनि पुगे । त्यतिवेरसम्म विमानमा लागेको आगो नियन्त्रणमा आइसकेको थियो ।

त्यसको केहीवेरमा प्रधानमन्त्री केपी शर्मा ओली घटनास्थलमा प्रवेश गरेको खबर फैलियो । यद्यपि, उनी विमानस्थलका कर्मचारीसँग भेट गर्न पहिले पुगेका थिए । र, घटनाबारे जानकारी लिएका थिए ।

विमानस्थल प्रवेश गरेको करिब आधा घण्टापछि ओली घटनास्थलमा पुगे । र, घटनाप्रति दुःख व्यक्त गरे । उनले बंगलादेशकी प्रधानमन्त्रीसँग कुरा गर्ने कोशिश गरेपछि उनी अन्य देशको भ्रमणमा रहेकाले कुरा हुन नसकेको बताए ।

त्यसको केही समयपछि कांग्रेस नेता रामचन्द्र पौडेल आइपुगे । उनको कुरा सुनेर नजिकै रहेका मानिसहरुले भने आश्चर्यमा व्यक्त गरे । पौडेलले सँगै रहेका सुरक्षाकर्मीलाई सोधेका थिए, ‘कहिले दुर्घटना भएको हो ? कुन जहाज हो ? के कति क्षति भयो ?’

पौडेललाई घटना भएको दुई घण्टाभन्दा बढी समय वितिसक्दा पनि घटनाबारे जानकारी रहेनछ । उनको छेउमै रहेका सुरक्षाकर्मीले पौडेलका प्रश्नको जवाफ दिए । उनीहरुलाई हेर्ने अन्य सर्वसाधारण भने ट्वाल्ल परे ।

५. विमानमा बञ्चरो ! कोही रमिता हेर्ने, कोही बाल्टी बोक्ने

दुर्घटना भएको क्षेत्रमा सुकेको घाँसको झाडी भएकाले वरिपरि पनि आगो सल्केको थियो । त्यसैले सुरक्षाकर्मीले सर्वसाधारणलाई अलिपरै रोकेर राखेका थिए ।
विमानको पछाडिपटि्टको भागबाट आगोको मुस्लो निस्किरहेको थियो । अगाडिपटि्ट रहेकाहरु चिच्चाइरहेका थिए ।

केही यात्रुहरु विमानभित्र सिसा फुटाउने कोशिस गरिरहेका देखिन्थे । नेपाली सेना र अन्य उद्दारकर्ताहरु भने बञ्चरो प्रहार गरेर विमानलाई फुटाउने कोशिश गरिरहेका थिए ।

त्यसको केहीवेरमै यात्रुहरु निस्कनै थालेको देखियो ।

एकातिर उद्दारकर्ताहरु धमाधम यात्रुहरुलाई निकाल्न जुटिरहेका थिए भने अर्कातिर दुर्घटनाको जानकारी पाएलगत्तै त्यहाँ छिरेका सर्वसाधारणको एउटा जमात भने मोबाइलबाट घटनाको दृश्य लिन र रमिता हेर्नमै तल्लीन देखिन्थ्यो । केही मनकारी मानिसहरु भने बाल्टीमा पानी बोकेर हतासिँदै दौडिरहेका थिए ।

विमानस्थल रनवेको छेउमा रहेको जाली भत्काएर त्यहाँबाट तल्तिर विमान झरेको दृश्यहरुबाट प्रष्टै हुन्थ्यो । त्यहाँ एउटा सानो रुख पनि छ, जसलाई छोएर विमान गहिरो ठाउँमा धसिएको थियो ।

घटनास्थलमा रहेका केही सरकारी अधिकारी पनि दुर्घटनाग्रस्त विमान भएको क्षेत्रबाट करिब दुई सय मिटर वरै विमानको चक्का भेटिएको बताउँदै थिए ।
उद्दारकर्ताले निकालेको शवलाई चिकित्सकहरुले सामान्य चेक गरेर मृत वा घाइते छुट्टाइरहेका थिए । घाइतेलाई नजिकै राखिएको एम्बुलेन्सहरुबाट काठमाडौंका विभिन्न अस्पतालहरुमा पुर्‍याइँदै थियो ।

मृतकलाई दुर्घटनास्थलबाट ५० मिटर वर खाली ठाउँमा लस्करै राखिएको थियो । केहीवेरमा शवलाई हाल्न झोलासमेत ल्याइयो । र, त्यसभित्र राखियो ।

निकालिएका कतिपय शवमा हात देखिँदैनथे । अंगभंग भएका थिए । कपडा जति डढेर सखाप भइसकेको थियो । एकदमै हृदयविदारक दृश्य थियो, त्यहाँ ।

लेखकको बारेमा
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment