Comments Add Comment

‘राष्ट्रपतिले राजाले छाडेको जुत्तामा खुट्टा हाल्न चाहेको जस्तो लाग्यो’

२९ फागुन, काठमाडौं । संघीय सांसद मात्र होइन, प्रदेशसभाका संसदहरुले पनि लाइन लागेर राष्ट्रपतिलाई मत दिए ।

तर, त्यहाँ चुनावको रौनक थिएन । राष्ट्रपतिका उम्मेदवारले मतदातासँग मत मागेको दृश्य देख्न पाइएन ।

राष्ट्रपतिका लागि कांग्रेस उम्मदेवार कुमारी लक्ष्मी राई पूर्वसांसद हुन् । उनी मतदान स्थलमा देखिएकी थिइन् । तर, अर्का उम्मेदवार विद्यादेवी भण्डारीले मतदान स्थल पुगिन् न कसैसँग मलाइ मत दिनुस् भनेर मागिन् ।

उनी बहालवाला राष्ट्रपति हुन् । त्यसैले पनि उनलाई प्रतिस्पर्धी उम्मेदवारलाई जस्तो मतदाता माझ जान सहज थिएन ।

त्योसँगै वाम गठबन्धनको प्रष्ट बहुमत छ, एमाले र माओवादीले मत हाल्न भनिसकेका छन्, त्यसैले उनले मत माग्नै परेन ।

अरुलाई के लाग्यो थाहा छैन ? तर, कांग्रेस सांसद गगन थापाले भने सार्वभौम मतदाताको अनुभव गर्न नपाएको बताएका छन् ।

‘यसअघिका चुनावमा मत माग्दै आउनुहुन्थ्यो । हात जोड्दै मत मागेको देख्दा मतदाताको सार्वभौम अधिकार प्रयोग गर्न लागेको जस्तो लाग्थ्यो’ मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘राष्ट्रपति भएका हुनाले हामी जनताका प्रतिनिधिका बीचमा आउन नहुने अवस्था छ । त्यसैले राष्ट्रपति भन्दा पनि राजसंस्थाको निरन्तरताको अभ्यास गर्न खोजेको भन्ने लाग्यो ।’

साथै विगतका अभ्यासले राष्ट्रपति भनेको राजाले छाडेपछि खाली भएको ठाउँ भर्ने भन्ने जस्तो देखिएको उनले बताए । बाटोको सवारीदेखि तामझामको लोभ, सार्वजनिक कार्यक्रममा सहभागिता छनोट सबैले त्यस्तो लागेको थापाले सुनाए ।

पूर्वराष्ट्रपति रामवरण यादवको नाम नलिई उनले भने, ‘पूर्वराष्ट्रपति सामान्य जीवनमा फर्किनुपर्छ । पूर्वराष्ट्रपतिलाई अस्पतालमा उपचार गरिरहेको देख्यो भने बल्ल नागरिकलाई गणतन्त्र आएको महसुस हुन्छ ।’

नयाँ राष्ट्रपति यसबाट मुक्त हुनुपर्ने उनले बताए । सांसद थापाले भने, ‘राष्ट्रपतिले कताकता राजाले छाडेको जुत्तामा खुट्टा हालेर ठाउँ भर्न चाहेको जस्तो पाएका छौं । यो बाट आफूलाई बाहिर निकाल्न सक्नुपर्छ ।’

राष्ट्रियसभा सदस्यको मनोनयनमा राष्ट्रपति भण्डारीले सरकारको सम्वन्धका सन्दर्भमा दलगत आस्थाका आधारमा व्यवहार गरेको देखिएको उनले बताए ।

थापाले भने, ‘अब उहाँको अगाडि चुनौती छ, बहुमत भएको दलको प्रतिनिधित्व गर्दै राष्ट्रपति बन्दै हुनुहुन्छ । अस्तिको तीतो अनुभवले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुहोला र भन्ने आशंका बोकेर राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने अवस्था छ । उहाँको भूमिका निर्धारण गर्छ, सबैको राष्ट्रपति बन्न सक्नुहुन्छ कि हुन्न ?’

नयाँ राष्ट्रपतिले संविधानले दिएको भूमिका निर्वाह गर्नुपर्ने र समाजलाई जरादेखि नै हल्लाउन सक्ने सामाजिक आन्दोलनलाई अघि बढाउन मद्दत गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment