News Summary
Generated by OK AI. Editorially reviewed.- गगनकुमार थापाले बिहीबार भिडियो सन्देश जारी गर्दै आफ्नो नैतिक धरातल कमजोर नभएको र कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूलाई बदनाम गर्न खोजिएको बताएका छन्।
- उनले इनम सापकोटासँग जोडेर आफूविरुद्ध चरित्रहत्या गरिएको भन्दै 'मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सधैँ सफा छन् ।' भनेका छन्।
- थापाले आफ्नै पार्टीको सरकार हुँदा पनि गलत कामविरुद्ध प्रश्न गर्न नछाडेको उल्लेख गर्दै आफू सफा र स्वच्छ रहेकाले ढुक्क रहन आग्रह गरेका छन्।
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नैतिक धरातल कमजोर नभएको प्रष्टीकरण दिएका छन्। बिहीबार एक भिडियो सन्देश जारी गर्दै थापाले पार्टीको आधिकारिकताको विषयलाई लिएर आफूलाई विवादमा मुछिएको भन्दै खण्डन गरेका हुन्।
बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूलाई बदनाम गर्न खोजिएको उनको भनाइ छ । ‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,’ उनले भनेका छन्, ‘मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सधैँ सफा छन् । यति नभएको भए लड्ने आँट आउँथ्यो ?’
विगतमा आफूभन्दा शक्तिशाली सरकारका गलत कामको समेत विरोध गर्दै आएको उनको भनाइ छ। उनले आफ्नै पार्टी नेतृत्वको सरकारलाई पनि आफूले प्रश्न गर्न नछोडेको सम्झिँदै उनले भने, ‘म आज मात्र हो ? योभन्दा बलियो सत्ता भएको समयमा गलत गरेको बेला त्यससँग लडेर प्रश्न गर्दै आएको छु । आफ्नै पार्टीको सरकार हुँदा पनि गलत हुँदा बोल्न छाडिनँ। बोल्ने आँट कहाँबाट आउँछ ? कतै कमजोर भएको भए, मेरो स्वच्छता र इमानदारीमा सम्झौता गरेको भए बोल्ने आँट आउँथ्यो ? आउँदैनथ्यो ।’
पटक–पटक विभिन्न विवाद र चुनौतीको सामना गरेर आफू अघि बढेको उनको भनाइ छ । ‘मेरो वरिपरि विवाद ल्याइएको छ । व्यापक रूपमा मेरो चरित्रमाथि प्रश्न गरिएको छ । प्रत्येक पटक लडेर आएको हुँ म, प्रत्येक पटक बाँचेर आएको हुँ । ढलेको छैन नि म । किन थाहा छ ?,’ उनले थपे, ‘तपाईंहरूको शुभेच्छा, आशिर्वाद आफ्नो ठाउँमा छ । सबैभन्दा ठूलो कुरा मेरो मोरल स्ट्रेन्थ हो । यो लडाइँमा म किन बाँचेको छु भने म सफा छु, स्वच्छ छु र ठिक ठाउँमा उभिएको छु । त्यसैले ढुक्क रहनुस्।’
प्रतिक्रिया 4