+
+
Shares

गगन-विश्वको अग्निपरीक्षा

गगन-विश्वको सहकार्यले केवल कांग्रेसमा मात्र होइन, अन्य पार्टीका एउटै पुस्ताका नेताहरूका लागि पनि उदाहरणीय अभ्यास र सकारात्मक सन्देश दिएको छ ।

गेजा शर्मा वाग्ले गेजा शर्मा वाग्ले
२०८३ कात्तिक १७ गते ७:४५

१५ औँ महाधिवेशनबाट करिव ९५ प्रतिशत मतका साथ पुनः सभापति निर्वाचित भएपछि गगन थापाले असोज ३१ गते फूलपातीका दिन शपथग्रहण गर्दै कांग्रेसको रूपान्तरण गरी जनताको विश्वास जित्ने पार्टी बनाउने घोषणा गरेका छन् । आफ्नो राजनीतिक जीवनको नयाँ अध्याय प्रारम्भ भएको संज्ञा दिँदै थापाले नयाँ इतिहास बनाउने म्यान्डेट र सामर्थ्य महाधिवेशनबाट पाएको आत्मविश्वासपूर्ण अभिव्यक्ति दिएका छन् ।

यो महाधिवेशनले जनतामा आशाको सन्देश प्रवाह गरेको छ भने कांग्रेसजनमा उत्साहको सञ्चार भएको छ । कांग्रेसको इतिहासमै शक्तिशाली र प्रभावशाली सभापति बनेका थापाको जति चर्चा भएको छ, त्यत्तिकै चर्चा सर्वसम्मत रूपमा वरिष्ठ उपसभापति भएका विश्वप्रकाश शर्माको पनि भएको छ ।

वास्तवमा यो महाधिवेशनमार्फत कांग्रेसजनहरूले पार्टीको बागडोर गगन-विश्वलाई सुम्पिएका छन् । विद्यार्थी राजनीतिको संघर्षपूर्ण मैदानबाट उदाएका गगन-विश्व अहिले कांग्रेसमा करिव सर्वस्वीकार्य र निर्विवाद भएको देखिन्छ ।

२०७९ को निर्वाचनपछि विश्वले गगनको सारथीको भूमिका निर्वाह गर्दै आइरहेका छन् । गगन-विश्वको सहकार्यले नै अहिलेको अनुकूल राजनीतिक वातावरण सिर्जना भएको हो ।

त्यसैले समकालीन राजनीतिका सर्वाधिक चर्चित जोडी गगन-विश्वका एजेन्डा, अवसर र चुनौतीको बारेमा वस्तुनिष्ठ विश्लेषण गर्ने प्रयास गरिएको छ ।

गगन-विश्वले पाएको असाधारण अवसर

कांग्रेसको इतिहासमा गगन-विश्वले अहिले असाधारण विश्वास र अवसर पाएका छन् । कांग्रेसजस्तो परम्परागत, ‘हाइरार्किकल’ र अग्रज पुस्ताका धेरै नेता भएको पार्टीमा यस्तो विश्वास र अवसर पाउने कल्पना स्वयं गगन-विश्वले समेत गरेका थिएनन् ।

यदि जेन-जी विद्रोह भएपछिको विशिष्ट परिस्थितिमा विशेष महाधिवेशन नभएको भए यस्तो अवस्था सिर्जना हुने सम्भावना पनि थिएन ।

कांग्रेसका संस्थापक नेता एवं सैद्धान्तिक-वैचारिक प्रणेता बीपी कोइराला अत्यन्त लोकप्रिय थिए । वास्तवमा बीपीको परिकल्पना अनुसार नै कांग्रेस स्थापित भई शक्तिशाली र लोकप्रिय पार्टी भएको थियो ।
त्यसैले २००७ मा १०४ वर्ष लामो निरंकुश जहानीय राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भएको थियो ।

बीपीबाहेक अहिले गगन-विश्वले पाएको जस्तो असाधारण अवसर र विश्वास कुनै नेताले पाएका थिएनन् । वास्तविकता के हो भने कांग्रेस प्रारम्भदेखि नै सामूहिक नेतृत्वको अवधारणा अनुसार सञ्चालन हुँदै आएको छ ।

बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायलाई कांग्रेसका चार तारा भनिन्थ्यो । कांग्रेसको झण्डामा चार तारा भएको कारणले चार नेतालाई प्रतिकात्मक रूपमा चार तारा भन्ने गरिन्थ्यो । बीपी पार्टीमा लोकप्रिय र शक्तिशाली भएपनि सामूहिक नेतृत्वको आधारमा नै पार्टी सञ्चालन गरेका थिए ।

बीपीको प्रारम्भमा मातृकाप्रसाद कोइराला र डिल्लीरमण रेग्मीसँग राजनीतिक प्रतिस्पर्धा र सैद्धान्तिक-वैचारिक द्वन्द्व थियो ।

तर राजनीतिक तथा सैद्धान्तिक-वैचारिक दृष्टिले बीपीसँग पराजित भएपछि कोइराला र रेग्मी कांग्रेसबाट पनि पलायन भए । त्यसैले कोइराला र रेग्मीसँगको प्रतिस्पर्धा र द्वन्द्वको अध्याय पनि समाप्त भएको थियो ।

राजनीतिक जीवनको लामो कालखण्डसम्म बीपीलाई सहयोग र समर्थन गर्दै आएको भए पनि उत्तरार्द्धमा बीपी र सुवर्णशमशेरका बीचमा पनि केही असमझदारी र द्वन्द्व भएको थियो । जसको असर कांग्रेसको आन्तरिक जीवनमा समेत परेको थियो ।

तर बीपीले सुवर्णशमशेरसँग संवाद, सहमति र सहकार्य गरेरै कांग्रेसलाई अगाडि बढाउनुपर्ने आवश्यकता भएको वास्तविकता उक्त ऐतिहासिक सन्दर्भले पुष्टि गरेको छ ।

२०३९ मा बीपीको देहावसानपछि त्रय नेता (सर्वोच्च नेता गणेशमान सिंह, कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराई, महामन्त्री गिरिजाप्रसाद कोइराला) को अवधारणा अनुसार कांग्रेस चल्यो ।

२०३४ मा भारतको पटनामा भएको कांग्रेसको सम्मेलनमा उक्त प्रस्ताव स्वयं बीपीले नै गरेका थिए । यो अवधारणाको सकारात्मक राजनीतिक परिणाम पनि देखियो । कांग्रेसको नेतृत्वमा भएको जनआन्दोलन सफल भई २०४६ मा लोकतन्त्र पुनर्बहाली भयो र २०४८ को आमनिर्वाचनमा बहुमत हासिल गर्न पनि सफल भयो ।

तर सिंह, भट्टराई, कोइरालाबीच सहकार्य पनि थियो, सत्ता संघर्ष पनि थियो र विवाद पनि थियो । त्यही सत्ता संघर्ष र विवादको कारणले २०५१ मा मध्यावधि निर्वाचन भएपछि कांग्रेसको पतन प्रारम्भ भएको थियो । मध्यावधि निर्वाचनपछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाका बीचमा सत्ता संघर्ष र विवादको अर्को दुर्भाग्यपूर्ण कालखण्ड सुरु भयो ।

गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत कोइरालाविरोधि समूहको समर्थन हासिल गरेपछि देउवा बलियो शक्तिकेन्द्रको रूपमा स्थापित हुन सफल भए ।

कोइराला-देउवाको त्यस्तो सत्ता संघर्ष र विवाद उत्कर्षमा पुगेपछि २०५९ मा कांग्रेस नै विभाजित भएको थियो । कांग्रेसको यस्तो विवाद र विभाजनले २०४६ को जनआन्दोलनबाट स्थापित लोकतन्त्रसमेत दुर्घटनाग्रस्त भएको थियो ।

तर २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि २०६४ मा कांग्रेस पुन: एकीकरण भयो । एकीकरणपछि कोइराला र देउवा बीचको साझेदारी र समझदारीमा नै कांग्रेस अगाडि बढ्यो । २०६६ मा कोइरालाको देहावसान भएपछि सुशील कोइराला र देउवाबीच संघर्ष र सहकार्यको अर्को चरण प्रारम्भ भएको थियो भने त्यसपछि रामचन्द्र पौडेल र देउवाको ।

२०७८ मा भएको १४ औं महाधिवेशनमा शेखर कोइराला-गगन थापा समूहले देउवालाई चुनौती दिएका थिए । देउवा सभापतिमा निर्वाचित भएपनि पार्टीभित्र प्रतिपक्षी आवाज र जनसमर्थन बलियो थियो ।

गगन-विश्वका एजेन्डा

विगत लामो समयदेखि गगन-विश्वले प्रमुख रूपमा तीनवटा एजेन्डा सशक्त रूपमा उठाउँदै आएका थिए । ती हुन्, सैद्धान्तिक-वैचारिक स्पष्टता, पार्टी पुनर्गठन र पुस्तान्तरणसहितको नेतृत्व हस्तान्तरण । उक्त एजेन्डाप्रति पार्टी कार्यकर्ता, सार्वजनिक सञ्चारमाध्यम, बौद्धिक समुदाय तथा नागरिक समाजको व्यापक समर्थन भएपनि कांग्रेसको आन्तरिक संरचना र पार्टी नेतृत्वको अनुत्तरदायी प्रवृत्तिको कारणले अपेक्षाकृत सफलता हासिल गर्न सकेका थिएनन् ।

तर २०८२ को भदौमा भएको जेन-जी विद्रोहपछि आत्मसमीक्षा, आत्मचिन्तन र आत्माआलोचना गरी क्षमायाचनासहित गगन-विश्वले कांग्रेस पुनर्गठन र रूपान्तरणको निर्णायक पहल र वैधानिक विद्रोह सुरु गरेका थिए । गत वर्ष पुसमा भएको विशेष महाधिवेशन त्यही विद्रोहको वैधानिक स्वरूप थियो ।

अहिले जनता र कार्यकर्ताले मात्रै अनुमोदन गरेका छैनन्, नेपालका अन्य राजनीतिक पार्टीहरूका साथै विदेशी राजनीतिक पार्टीहरूले समेत शुभकामना सन्देश पठाएपछि राष्ट्रिय-अन्तर्राष्ट्रिय वैधानिकता पाएको छ ।

पहिलो, कांग्रेसको सिद्धान्त र विचार, यसको सान्दर्भिकता र भावी दिशाबारे बहस हुँदै आएको थियो । सभापति थापाद्वारा प्रस्तुत ‘राष्ट्रिय जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक-वैचारिक धारको स्पष्ट परिभाषा र व्याख्या मात्रै होइन, परिवर्तित राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक परिवेशअनुरूप पुनर्परिभाषा र पुनर्व्याख्या पनि गरिएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा निरन्तरता दिँदै लोकतान्त्रिक समाजवादलाई थप व्याख्या तथा पुनर्व्याख्या गरिएको छ ।

लोकतान्त्रिक मूल्य-मान्यता, उत्पादनमुखी अर्थतन्त्र, आर्थिक वृद्धि, प्रतिस्पर्धात्मक निजी क्षेत्र, व्यक्तिगत स्वतन्त्रता, उद्यमशीलता, रोजगारी र सामाजिक न्याय लोकतान्त्रिक समाजवादको परिभाषा र उद्देश्य हो ।

कांग्रेसले परिकल्पना गरेको समुन्नत र समन्यायिक समाज निर्माण गर्न बीपीको सिद्धान्त र विचारलाई निरन्तरता दिँदै परिवर्तित समय र जनताको भावनाअनुसार समयसापेक्ष नीति अनुसरण गर्न खोजेको देखिन्छ ।

त्यसैले गौरवशाली इतिहास र वैचारिक विरासतको निरन्तरता, सैद्धान्तिक-वैचारिक पुनर्व्याख्या र भविष्यको मार्गचित्रलाई वैचारिक पुनर्जागरणको आधारको रूपमा दस्तावेजमा व्याख्या गरिएको छ ।
दोस्रो एजेन्डा हो, पार्टी पुनर्गठन । यदि कांग्रेसलाई पुनर्जीवन दिने हो भने पार्टी प्रणालीलाई मौलिक रूपमा पुनर्गठन गर्न आवश्यक छ । विशेष महाधिवेशनबाट पुनर्गठन प्रक्रिया प्रारम्भ भएको थियो । यो महाधिवेशनबाट रूपान्तरण प्रक्रिया प्रारम्भ भएको छ ।

पार्टी पुनर्गठन र रूपान्तरण भनेको लामो र पेचिलो प्रक्रिया हो । गुटगत भागबण्डा र नेता व्यवस्थापन गरेर पुनर्गठन र रूपान्तरण हुँदैन । अब कांग्रेस गुटगत भागबण्डा र नेताहरूको व्यवस्थापन गर्ने पार्टी होइन, जनताको विश्वास आर्जन गर्ने पार्टीका रूपमा रूपान्तरित गर्न आवश्यक छ । तर पदाधिकारीको सङ्ख्या र केन्द्रीय समितिको आकारको आधारमा विश्लेषण गर्दा पुनर्गठन र रूपान्तरणका दृष्टिले उत्साहजनक देखिँदैन ।

तेस्रो, पुस्तान्तरणसहितको नेतृत्व हस्तान्तरण गगन-विश्वको प्रमुख एजेन्डा हो । विगत लामो समयदेखि कांग्रेसमा नेतृत्व विकास र हस्तान्तरणको प्रक्रिया र एजेन्डा अत्यन्त जटिल र विवादित हुँदै आएको थियो । त्यही कारणले विगतमा केवल विवाद मात्रै भएन, पार्टी नै विभाजन हुने अवस्थासमेत सिर्जना भएको थियो ।

विशेष महाधिवेशनबाट थापा सभापति भएपछि पुस्तान्तरणसहितको नेतृत्व हस्तान्तरणको प्रक्रिया प्रारम्भ भयो । विशेष महाधिवेशनले जेन-जी पुस्ताका युवालगायत समाजका सबै समुदाय, पुस्ता, भूगोल, तह र तप्काको सहभागिता, प्रतिनिधित्व र नेतृत्व विकास सुनिश्चित गरी विधान संशोधन गरेपछि संरचनागत दृष्टिले नै मौलिक परिवर्तन आएको छ ।

अहिले केन्द्रदेखि वडासम्म जनता र जेन-जी पुस्ताको भावनाअनुसार पुस्तान्तरणसहितको नेतृत्व हस्तान्तरण भएको छ ।

कांग्रेसको भविष्य र सान्दर्भिकताका लागि यो अपरिहार्य थियो । यसले कांग्रेसलाई पुनर्जीवन दिने सम्भावना देखिएको छ । त्यसैले यो महाधिवेशन कांग्रेसको इतिहासमा अर्को ‘माइलस्टोन’ भएको छ ।

जमेको जोडी, मिलेको केमेस्ट्री

सार्वजनिक मञ्चदेखि पार्टीका आन्तरिक बैठकहरूमा गगन–विश्वबीच एक-अर्काप्रति सम्मान, आत्मीय र घनिष्ठ सम्बन्ध प्रतिबिम्बित भएको देखिन्छ । गगन-विश्वबीच दाजुभाइ, सहकर्मी र सहयात्रीको सम्बन्ध भएको प्रतीत हुन्छ । त्यसैले गगन-विश्वको जोडी मात्रै जमेको छैन कि केमेस्ट्री पनि मिलेको देखिन्छ ।

गगन-विश्वका केही विशेषता र स्वभाव साझा छन् भने केही पृथक । जनता र कार्यकर्तासँग प्रत्यक्ष संवाद गरी आफ्ना विचार स्पष्ट रूपमा राख्न सक्ने गगन–विश्व दुवै कुशल वक्ता हुन् र दुवै लोकप्रिय छन् । गगन–विश्व दुवैले लोकतन्त्रवादी, उदारवादी, बहुलवादी, प्रगतिशील र समावेशीकरणवादी धारको नेतृत्व गर्छन् भने जनताप्रति उत्तरदायी भएर राज्य तथा पार्टी सञ्चालन गर्ने शैली र संस्कार भएको देखिन्छ ।

राष्ट्रिय राजनीतिदेखि पार्टीका आन्तरिक मामलामा गगनले दूरगामी, साहसिक र जोखिमपूर्ण निर्णय पनि लिन्छन् । तर विश्वले परिस्थिति र परिणामको विश्लेषण गरी रणनीतिक आयामलाई प्राथमिकता दिन्छन् । गगन नीतिगत दृष्टिले दृढतापूर्वक अडान लिन्छन् भने रणनीतिक दृष्टिले लचक हुने विश्वको छवि बनेको छ । गगनको प्रस्तुति सैद्धान्तिक र व्याख्यात्मक हुन्छ, विश्वको सूत्रात्मक ।

यसैगरी गगनको विद्रोह र जुझारुप्रधान व्यक्तित्व छ भने विश्वमा शालीनता र भद्रताप्रधान । गगनको पहिचान संघर्षप्रधान छ, विश्वको समन्वयकारी । गगन विचारप्रधान छन्, विश्व भावनाप्रधान । गगनको प्राथमिकता नीति र नेतृत्व छ भने विश्वको रुचि कार्ययोजना । त्यसैले नेतृत्व र व्यक्तित्व दुवै दृष्टिले गगन-विश्व एक–अर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक हुन् ।

पार्टी सदस्यता, ल्याटरल इन्ट्री, क्रियाशील सदस्यहरूबाटै नेतृत्व छनोट, जुनसुकै तहको जनप्रतिनिधि हुन क्रियाशील सदस्यहरूबीच प्राइमरी इलेक्सन (प्राथमिक निर्वाचन) जस्ता इन्ट्री पोलिसी (प्रवेश नीति) मा गगनको प्राथमिकता छ भने विश्वको एक्जिट पोलिसी (अवकाश नीति) मा । विश्वले एक्जिट पोलिसीलाई यसरी सूत्रात्मक रूपमा व्याख्या गरेका छन् – एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद ।

गगन-विश्वको सहकार्य तात्कालिक, रणनीतिक र अस्थायी हो, स्थायी, दीर्घकालीन र वैचारिक होइन । अन्ततः उनीहरूबीच पनि प्रतिस्पर्धा मात्रै होइन, संघर्ष नै हुने आशंकापूर्ण भविष्यवाणी पनि गरिएका छन् । सत्ता, शक्ति र पदलाई नै सर्वोच्च प्राथमिकता दिएर धोका, षड्यन्त्र र छलकपटको राजनीति हुँदै आएको पृष्ठभूमिमा त्यस्तो प्रक्षेपण गरिनु अस्वाभाविक पनि होइन ।

तर कुनै पनि पार्टीमा एउटै पुस्ताका नेताहरूले एकले अर्कालाई स्वीकार गरेर सहकार्य गरेको पाइँदैन । उनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ, आरोप-प्रत्यारोप छ । तर गगन-विश्वको सहकार्यले केवल कांग्रेसमा मात्र होइन, अन्य पार्टीका एउटै पुस्ताका नेताहरूका लागि पनि उदाहरणीय अभ्यास र सकारात्मक सन्देश दिएको छ । उनीहरू बीचको सहकार्य र दीर्घकालीन समझदारीमा नै कांग्रेस र उनीहरूको भविष्य अन्तर्निहित भएको वास्तविकता गगन-विश्व जस्ता स्मार्ट र रणनीतिक सोच भएका नेताले नबुझ्ने प्रश्नै भएन ।

विश्वचर्चित जोडीका उदाहरणीय सहकार्य

समान तथा फरक पुस्ताका नेताहरूको सहकार्यले पार्टीको जीवनमा कति महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने जीवन्त उदाहरण बेलायतको लेबर र भारतको बीजेपी हुन् । बेलायतको लेबर पार्टीका टोनी ब्लेयर र गोर्डन ब्राउन तथा बीजेपीका नरेन्द्र मोदी र अमित शाहको जोडी विश्वचर्चित मानिन्छ । ब्लेयर र ब्राउनको सहनेतृत्व र सहकार्यमा नै लेबर पार्टीलाई सैद्धान्तिक तथा वैचारिक दृष्टिले रूपान्तरण गरी नयाँ लेबरका रूपमा स्थापित गर्न सफल भएका थिए । राजनीति र उमेर दुवै दृष्टिले ब्लेयरभन्दा ब्राउन अग्रज थिए । तर ब्लेयरको भिजन, लोकप्रियता र सांगठनिक क्षमता भएका कारणले ब्राउनले नै ब्लेयरलाई नेताका रूपमा प्रस्ताव गरेका थिए ।

विश्वको सबैभन्दा ठूलो पार्टी बीजेपीका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जोडीले अर्को नजिर स्थापित गरेको छ ।

सन् २०१० को दशकदेखि सुरु भएको मोदी-शाह जोडीको सहकार्यले बीजेपीलाई लोकप्रिय पार्टीका रूपमा मात्रै स्थापित गरेको छैन, भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मोदी-शाह जोडीलाई ‘इलेक्सन मेसिन’ (चुनाव जित्ने यन्त्र) को संज्ञा दिएका छन् ।

बीजेपीको आइडियोलोजी र मोदी–शाहको राज्य सञ्चालन प्रक्रियाप्रति फरक दृष्टिकोण वा असहमति हुन सक्छ । पंक्तिकारको पनि असहमति छ । तर पार्टी सञ्चालनका दृष्टिले यो पनि विश्वचर्चित सफल जोडी मानिन्छ ।

सायद अग्रज भएर पनि ब्राउनले ब्लेयरलाई अगाडि सारे जस्तै भिजन, लोकप्रियता र छविको मूल्यांकन गरेर होला, विश्वले पनि गगनलाई सहर्ष नेता प्रस्ताव गरेका छन्, जुन संस्कार अनुकरणीय छ ।
के ब्लेयर-ब्राउन तथा मोदी-शाहको जस्तै दीर्घकालीन साझेदारी र भावनात्मक सहकार्य गरी गगन-विश्वको जोडी पनि सफल होला ?

निष्कर्ष

गगन-विश्वप्रति जनता र कार्यकर्ताको आशा उच्च छ । अब उक्त आशालाई विश्वासमा रूपान्तरण गर्नुपर्छ । अहिले गगन-विश्वसँग अवसर र चुनौती दुवै छन् । अब चुनौतीलाई पनि अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ । विशेष महाधिवेशनसम्म प्रश्न गर्दै आएका थिए, अब परिणाममुखी काम गर्नुपर्छ । गगन-विश्वले हालसम्म ‘बेनिफिट अफ डाउट’ पाउँदै आएका छन् ।

तर अब यदि, तर, यद्यपि, तथापि नभनी पूर्वप्रतिबद्धता अनुसार डेलिभरी गर्नुपर्छ । अब गगन-विश्वसँग न कुनै बहाना छ, न विगतमा जस्तो असफल हुने छुट । तर समय भने सीमित छ । कांग्रेसका लागि यो अन्तिम अवसर हो भने गगन-विश्वका लागि अन्तिम परीक्षा । गगन-विश्वका लागि यो यस्तो अन्तिम परीक्षा हो, जुन अग्निपरीक्षासमेत हो ।

लेखक
गेजा शर्मा वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?