Comments Add Comment

बैंकर संज्ञालाई अभिनयको भोक

पोखरा । फुटबलको फ्यान हुन्, बैंकर संज्ञा श्रेष्ठ । विदेशमा हुने फुटबल उनी भरसक टिभीमै भए पनि हेर्न छुटाउँदिनन् । देशका ठूला फुटबल प्रतियोगितामा उनी ताली ठोक्न स्टेडियममै पुग्छिन् । पोखरामा हुने अहा रारा गोल्डकप उनी छुटाउनै चाहन्नन् । यसै पनि उनलाई मनपर्ने सहर हो, पोखरा । पोखराको मौसम र यहाँको प्रकृतिले उनलाई मोहनी लगाएको रहेछ । त्यसैले पनि बेलाबेलामा हानिएर आइपुग्छिन् । त्यही मेसोमा यसपटक भने संज्ञा अनलाइनखबरसँग गफिइन् ।

बैंकिङ क्षेत्रलाई करिअर बनाइरहेकी २९ वर्षीया संज्ञा यतिबेला भने अभिनेत्रीको संज्ञा कसरी पाउन सकिएला भन्ने बाटो खोज्दैछिन् । १० वर्षदेखि सनराइज बैंक काठमाडौमा काम गरिरहेकी संज्ञालाई किन अभिनयतिर किन मोह जाग्यो त ? ‘२/४ वटा म्यागेजिनमा फोटो सुट गराएँ । एउटा मुभीमा खेल्ने मौका पाएँ । त्यही मुभीले नै अरु फरक खालको क्यारेक्टरमा खेल्ने मोह जगाएको छ,’ संज्ञाले भनिन् ।

मट्टिमालापछि ऐतिहासिक फिल्ममा अभिनयको रहर

अलि बढी नै निगरानी राख्ने नेवारी परिवार भएकाले संज्ञासँग भविष्यमा यही बन्छु भन्ने थिएन । तर फिल्ममा भने खुबै चाख थियो । बढी पढाइमै ध्यान गयो । जति बढी पढ्यो, उति बढी अवसर पाइन्छ भन्ने लागिरहन्थ्यो, उनलाई ।

चितवनकी चेली संज्ञाको परिवार व्यवसायमा छ । ‘ब्यापारिक फेमिली भएकाले मेरो मनमा पनि बेजनेस गर्नुपर्छ भन्ने छाप थियो । प्लस टु सक्नेबित्तिकै काठमाडौं गएपछि सनराइज बैंकमा जागिर पाइहालें,’ संज्ञा भन्छिन्, ‘७/८ वर्षअघि एउटा म्यानेजिनलाई फोटो सुट गराएँ । त्यसपछि अनेक प्रतिक्रिया आए । त्यसले मलाई उत्साहित बनायो ।’

प्लस टु पढ्दै गर्दा संज्ञाले चितवनमै मिस्टर एन्ड मिस कलेजमा भाग लिइन्। त्यसले उपाधि नै दिलाएन तर बेस्ट पर्सनालिटिज, बेस्ट ड्रेसर बनायो । त्यसैले हो उनलाई मोडलिङको भोक जगाएको ।

२०१२ तिर लाइफ एन्ड टाइम्स भन्ने म्यागेजिनका लागि उनले फोटो सुट गराइन् । त्यसलगत्तै उनलाई फोन आउन थाल्यो, आफन्तले चासो राखे, साथीभाइले अहो भने । ‘यसले आफैंलाई अनौठो मात्रै लागेन, आनन्द पनि आयो,’ संज्ञाले भनिन्, ‘त्यसलगत्तै थुप्रै म्युजिक भिडियोमा खेल्न अफर आए तर भर्खरै खाएको बैंकको जागिरले हिँड्ने मौका नै मिलेन ।’ बरु उनले त्यसपछि पनि १, २ वटा म्यागेजिनमा फोटो सुट गराइन् । १९ वर्षकै उमेरमा उनी बैंकको जागिरे बनिन् । बैंकलाई करिअर ठानिन् । अहिले भने उनको मानसिकता फेरिएको छ, ‘अब अभिनयको भोक मेट्नुपर्छ ।’ अहिले उनीसँग मास्टरको क्वालिफिकेसन र १० वर्षको बैंकिङ अनुभव छ ।

यसै क्रममा उनलाई एकदिन फिल्ममा अभिनयको अफर आयो । नयाँ निर्देशक, नयाँ निर्माण, नयाँ नायक, नयाँ नायिका र कलाकार पनि सबै नयाँ राख्ने फिल्मको युनिटको योजना मुताबिक उनलाई अफर आएको थियो । फिल्म थियो, मट्टिमाला । जुन फिल्म अहिले रिलिजको तयारीमा छ ।

‘स्क्रिप्ट हेरें फरक खालको मुभी भएपछि खेल्ने निर्णय गरें,’ संज्ञाले भनिन्, ‘वुद्धि तामाङबाहेक मुभीमा सबैजसो नयाँ कलाकार छन् । मुभीभरी नै पुरै एक्टिङ नभए पनि मेन रोलमै खेलेकी छु ।’ टेक राइको निर्देशन, उनैको कथा र पृथ्वी राइले निर्माण गरेको ‘मट्टिमाला’ नै उनको पहिलो फिल्म हो । त्यसको कस्तो प्रतिक्रिया कस्तो आउँछ र अभिनय कस्तो छ ? उनी दर्शकको समीक्षा सुन्ने पर्खाइमा छिन् । सामान्य केटीको भूमिकामा मट्टिमालामा देखिएको संज्ञा बताउँछिन् ।

अब उनलाई हिस्टोरिकल फिल्ममा अभिनय गर्ने रहर छ । हुन त यो बीचमा थुप्रै फिल्मबाट अफर आएको उनी बताउँछिन् । हुर्रे फिल्ममा अभिनय गर्न अफर आएर पनि छाड्नु परेको संज्ञाको भनाइ छ । ‘तर, यत्तिकै हुन्छ भन्न सक्दिन । मलाई अभिनयको रहर हो तर जस्तोपायो त्यस्तै फिल्ममा खेल्ने रहर होइन,’ संज्ञा भन्छिन् । रियल स्टोरी बेसको चलचित्रमा काम गर्ने रहर जागेको छ । नोबल वा कुनै काव्यमाथि बनेका चलचित्र भएर त्यसमा आफूले अभिनय गर्न पाए हुन्थ्यो भन्ने उनलाई लागिरहेको छ ।

‘मुभीमा कथा, पात्र, अभिनय, रंग, रमाइलोमात्रै हुँदैन,’ संज्ञा भन्छिन्, ‘ती कथाले एउटाको समाजको कथा पनि बोलेको हुन्छ । कुनै समयलाई बोलेको हुन्छ । म ऐतिहासिक कथामाथि बनेको मुखी खेल्ने मन छ ।’

देशको राजनीतिक तथा ऐतिहासिक कालखण्डमाथि बन्ने चलचित्र कसैले मलाई अफर गरोस् भन्ने पर्खाइ छ उनलाई । झोला कृतिमाथि बनेको फिल्म उनलाई मन परेको मुभी थियो ।

‘भल्गर सिनमा खेल्न मन लाग्दैन’

छोटो नलाइकन, अंग प्रदर्शन नगरीकन पनि अभिनयबाटै हिट हुन सक्निछ भन्ने लागिरहने संज्ञा बताउँछिन् ।

‘छोटो लगाउने नराम्रो भन्न खोजेको होइन । मुख्य कुरा अभिनय हो भने मान्छेको ध्यान अभिनयबाटै तान्नुपर्छ नाकी अंग प्रदर्शनबाट,’ संज्ञा भन्छिन्, ‘मलाई भल्गर सिन पर्दैन ।’

कसैले अफर गरे पनि भल्कर सिनमा नखेल्ने संज्ञाले बताइन् ।

‘हुन त कस्तोलाई भल्गर भन्ने आआफ्नो सोचाइ र हेराइ होलान्,’ उनी भन्छिन्, ‘बैंकको जागिरे पनि हुँ । मैले गर्ने रोलले बैंकलाई पनि असर गर्छ ।’

फिल्म बढी बुझ्नुपर्ने, अभिनय गर्दा पात्रलाई बढी न्याय गर्नुपर्ने उनी बताउँछिन् । बैंकबाट बचेको समय उनी, मोडलिङ र अध्ययनका लागि छुट्याउने गरेकी छन् ।

आफू ठीक भए कोही हिरोइन प्रयोग हुँदैनन्

बेलाबेलामा बाहिर हल्ला चल्छ, निर्देशक वा निर्माणले हिरोइनलाई प्रयोग गर्छन् । तर, उनलाई त्यस्तो लाग्दैन । केही घटना भए त्यो अपवाद मान्छिन् उनी ।

किन त्यस्तो लाग्छ त ? ‘सबैभन्दा ठूलो कुरा मान्छेको नियत हो । नियत ठीक छ भने कुनै नायिका बिक्नु पर्दैन । कोही हिरोइन, निर्देशक, निर्माताबाट प्रयोग हुनु पर्दैन्,’ संज्ञा भन्छिन्, ‘हिट हुने नाममा, फिल्ममा खेल्ने रहरले सस्तो काम गर्दा पो यस्तो घटना बाहिर आएका छन् कि ?’

हिरोइन बन्छु भनेर पैसा तिर्नेहरु पनि भएको उनी बताउँछिन् । ‘म भोलि मेरो फिल्म खेल्ने रहरले यो क्षेत्रमा हौंला, नहौंला तर यो क्षेत्रलाई हेर्ने र बुझ्नै आफ्नै खालको लेबल बनाउनुपर्छ,’ उनले भनिन्, ‘अहिले नेपाली फिल्म व्यवसायिक भएका छन् र यही क्षेत्रमा धेरै अवसर पनि छ ।’

फिल्ममा खेल्न यति हाइट, कोकाकोला जस्तो शरिर, गोरी, मिलेको अनुहार चाहिन्छ भन्ने पनि लाग्दैन उनलाई, । यस्ता मान्यताहरु भत्किँदै गएको देखेकी छन्, उनले ।

सानो छँदा भुवन केसी, मौसमी मल्लका फिल्म धेरै हेरको उनी बताउँछिन् । मिथिला शर्माको अभिनय उनलाई मन पर्छ । उनीलाई आफ्नो भूमिकालाई न्याय गर्न सक्ने कलाकार लाग्न मिथिला । नयाँ पुस्ताका कलाकारमा दयाहाङ रार्इ, बुद्धि गुरुङ सौगाम मल्ल लगायतका थिएटरबाट आएका कलाकार एक्स्ट्रा लाग्छन्, उनलाई । ‘थिएटरबाट आएका कलाकार अभिनयमा तिखारिएजस्तो लाग्छ मलाई,’ उनले भनिन् ।

‘आफू सक्षम भए दबिनु पर्दैन’

समय व्यवस्थापन र पैसा महत्वपूर्ण कुरा लाग्छ उनलाई । क्यालेन्डर हेरेरै कामको सची तयार पाछिन्, संज्ञा । बैंकमा काम गर्दागर्दै ब्याचलरदेखि मास्टर गरिन् ।

बैंकको जागिर अब करिअर भइसकेको उनी बताउँछिन् । ‘क्वालिफिकेसन छ, सीप छ, क्षमता छ भने जहाँ पनि काम गर्न सकिन्छ’ उनको आत्मविश्वास छ ।

लभ अफेयरमा रहेको बताउने संज्ञा अझै २/४ वर्ष नगर्ने बताउँछन् । तर, आफू सक्षम भए बिहे अघि वा पछि कहिँ दबिनु पर्दैन भन्ने लाग्छ भन्ने लाग्छ उनलाई । ‘आफूसँग आत्मविश्वास, सीप र आत्मनिर्भर भए बिहे अघि र पछि पनि कुनै समस्या पर्दैन,’ संज्ञा भन्छिन्, ‘समय व्यवस्थापन सबैभन्दा ठूलो कुरा हो, आफू सक्षम हुने अर्को ठूलो कुरा हो ।’

मिस नेपालमा भाग लिने रहर भएर पनि पढाइमै बढी लागेकी संज्ञासँग परिवार पनि चाहन्थ्यो, ‘छोरीले पढाइमै ध्यान दिओस् ।’ अब भने उनी आˆनै खुट्टामा उभिएकी छन् । पहिले त्यो क्षेत्रमा नलाग भन्ने अभिभावकले अब आफैं विचार गर भन्न थालेका छन् ।

अभिनय क्लासको योजना

प्रत्येक शुक्रबार उनलाई फिल्म हेर्नैपर्छ । त्यसमा कहिले नेपाली पर्छन् त कहिले हिन्दी, अंग्रेजी । अचेल बढी नेपाली फिल्मले हलसम्म तान्ने गरेको छ ।

अभिनयको भाक जागेरमात्रै हुँदैन, पात्रलाई न्याय गर्न सक्ने खालको ज्ञान र दक्षता पनि चाहिन्छ । त्यसैले उनी समय छुट्याएरै भए पनि अभिनय तथा डान्सिङ क्लास लिने योजनामा छिन् । ‘पहिले थोरै समयमात्रै एक्टिङ क्लास लिन पाएँ अब समय मिलाएर अभिनय र डान्सिङ क्लास लिने योजनामा छु ।’

पहिले र अहिले नेपाली फिल्ममा धेरै परिवर्तन देख्छिन् उनी । ‘पुराना कलाकार पनि राम्रा छन् तर नयाँ अझै तिखारिएर आएका छन्,’ संज्ञा भन्छिन्, ‘समयले नयाँनयाँ माग गरिरहेको हुन्छ । नयाँ कुरालाई नयाँ जेनेरेसनले नै बढी आत्मसाथ गर्ने र बाहिर ल्याउने काम गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment