Comments Add Comment

मोतीपुरमा प्रदेश ५ को औद्योगिक क्षेत्रको डीपीआर तयार

३ सय उद्योग, ५ अर्ब लगानी, ७० हजारलाई रोजगारी

फाइल फोटो

बुटवल, १ चैत । रुपन्देहीको मोतीपुरमा प्रस्तावित प्रदेश ५ को प्रादेशिक औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । परामर्शदाता कम्पनी इन्क्लुसिभ वी लिंक जेभीले ६ महिना भन्दा बढी समय लगाएर तयार पारेको डीपीआर सरकारलाई बुझाएको छ ।

प्रतिवेदन अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ सय बिघामा पूर्ण वातावरणमैत्री अत्याधुनिक औद्योगिक क्षेत्र बन्नेछ । यहाँ साना, मझौला र ठूला गरी तीन सय उद्योग स्थापना गर्न सकिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए ।

‘अहिले परामर्शदाताले बुझाएको प्रतिवेदनको मसिनो गरी अध्ययन भइरहेको छ, थोरै तलमाथि भए पनि कम्तीमा ५ सय बिघा क्षेत्रफलमा उद्योगहरु स्थापना गर्न सकिने देखिएको छ’ उनले भने, ‘एक हप्ताभित्र डीपीआर फाइनल हुन्छ र काम अघि बढ्छ ।’

औद्योगिक क्षेत्रमा सडक, विद्युत, ढल, पानी र फोहोर पानी उपचार संयन्त्र जस्ता विभिन्न पूर्वाधार निर्माणमा ५ अर्ब रुपैयाँ लाग्ने महाप्रबन्धक बस्नेतले बताए ।

डीपीआरअनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ सय बिघामा पूर्ण वातावरणमैत्री अत्याधुनिक औद्योगिक क्षेत्र बन्नेछ ।

सुरुमा पहुँच मार्ग निर्माण, कार्यालय स्थापना, वस्ती व्यवस्थापन र तारबारको काम अघि बढ्ने छ । डीपीआर तयार भएसंगै औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) का लागिसमेत परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको महाप्रवन्धक बस्नेतले बताए ।

पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७५/७६ का लागि ५० करोड रुपैयाँ माग गरिएको छ । औद्योगिक क्षेत्र स्थापनापछि ७० हजारले प्रत्यक्ष र अप्रत्यक्षरुपमा करिब ५ लाख जनाले रोजगारी पाउने बस्नेतले बताए ।

पूर्ण वातावरणमैत्री बन्ने

औद्योगिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको र पूर्ण वातावरणमैत्री बनाउने सरकारको तयारी छ ।

उद्योगहरुबाट उत्सर्जन हुने प्रदूषित पानीलाई शुद्धिकरण गरी नदीमा मिसाइनेछ, यसका लागि एक अर्ब लगानीमा ‘वेस्ट वाटर टि्रटमेन्ट प्लान्ट’ (प्रदूषित पानी उपचार संयन्त्र) राखिने महाप्रवन्धक बस्नेतले जानकारी दिए ।

औद्योगिक क्षेत्रको २५ प्रतिशत क्षेत्रमा बृक्षारोपण गरी हरियाली बनाइने छ ।

बुटवल उपमहानगरपालिकाको वडा नं. १७, १८ र १९, तिलोत्तमा नगरपालिकाको वडा नं. ३, ४, ६, १३ र १४, सियारी गाउँपालिकाको वडा नं. ७ र शुद्धोधन गाउँपालिकाको वडा नं. ३ मा पर्ने तिनाउ नदीको वारी र पारीको नदी उकास क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो ।

मोतिपुरमा औद्योगिक क्षेत्र निर्माणमा निजी क्षेत्रको सहभागीतामा स्थानीइ समन्वय समिति समेत गठन गरेको छ । समितिको संयोजकमा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठ रहेका छन् ।

‘यो रुपन्देहीको महत्वपूर्ण योजना हो’ उनले भने ‘यो औद्योगिक क्षेत्र स्थापनाले औद्योगिक क्रान्तिको थालनीसंगै आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले रुपन्देही मुलुककै अग्रणी औद्योगिक हब बन्ने दिशामा अघि बढेको बताए ।

‘डीपीआर प्रतिवेदन आएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् ।’ रुपन्देहीमा बुटवल औद्योगिक क्षेत्रबाहेक अन्य औद्योगिक क्षेत्रहरु छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment