Comments Add Comment

छोराको नाम डोनाल्ड ट्रम्प राख्दा अफगानी बाबुलाई सास्ती


अफगानिस्तानको एउटा सानो गाउँमा जब असादुल्लाह पोयाकी श्रीमतीले उनीहरुको तेस्रो सन्तानलाई जन्म दिइन् उनको दिमागमा तुरुन्तै डोनाल्ड ट्रम्पको नाम आयो ।

तर, उनले त्यतिबेला अमेरिकी राष्ट्रपति पदको दौडमा रहेका व्यक्तिलाई होइन, सेलिब्रेटी व्यापारी डोनाल्ड ट्रम्पलाई सोचिरहेका थिए ।

पोयाले भर्खरै एउटा अनुवादित किताब पढेका थिए, जसको शीर्षक थियो ट्रम्पः हाउ टु गेट रिच । सन् २००४ मा प्रकाशित भएको यो किताब त्यतिबेला निकै चर्चित बनेको थियो ।

‘मलाई उनको व्यक्तित्व मन परेको थियो । मैले सोचेँ कि उनी अर्थशास्त्रमा उत्कृष्ट छन् र राजनीतिमा महान छन्,’ पोयाले भने ।

जब उनकी श्रीमतीले २०१६ को अगष्टमा छोरा पाइन्, उनले छोराको नाम राखिदिए डोनाल्ड ट्रम्प ।

उनले सोचेका थिए, यो नाम छोरालाई फाप्ने छ । तर त्यस्तो भएन । सुरुमा त आफ्नो नातिलाई गैर मुस्लिम नाम दिइएकोमा पोयाका आमाबाबु नै रुष्ट भए । यसैगरी गाउँमा रहेका मस्जिदका उनको व्यापक आलोचना भयो ।

‘दिनदिनै यो नामले दुख दिन थाल्यो,’ पोया भन्छन्, ‘प्रत्येक दिन जब म घरमा छोरालाई ट्रम्प भनेर बोलाउथेँ, मेरो बुवा रिसले आगो बन्नुहुन्थ्यो ।’

त्यसपछि पोयाले कठोर निर्णय लिए । उनले आफ्नो मास्टरी जागिर छोडिदिए, खेत बेचिदिए र परिवारलाई लिएर काबुलतिर लागे ।

पोया र उनका बच्चाहरु, डोनाल्ड ट्रम्प, उनकी दिदी फतिमा र भाइ करिम, अहिले काबुलमा एकतल्ले घरमा बस्छन् । तर यहाँ पनि पोयाको दुख सकिएन ।

गत बिहीबार पाँच जना छिमेकीहरुले उनको घरबेटीलाई भेटे र पोयालाई घरबाट निकाल्न दबाब दिए । उनीहरुको पनि आपत्ति ‘ड्रोनाल्ड ट्रम्प’ प्रति नै थियो । भविष्यमा अमेरिकामा शरणार्थीको भिसा पाउन सजिलो हुने भनेर उनले छोराको गैरमुस्लिम नाम राखेको उनीहरुमध्ये केहीले आरोप लगाए ।

पोया आफूले आफ्नो देश छोड्न नचाहेको बताएँछन् । साथै आफ्नो छोरा समाचारमा आओस भनेर यो नराखेको पनि उनको भनाइ छ । उनका अनुसार स्थानीय एक सरकारी अधिकारीले उनको छोराको परिचयपत्र फेसबुकमा राखिदिएका थिए । यसले लगत्तै सामाजिक सञ्जाल तताएको थियो ।

थुप्रै आक्रोशित सन्देश र धम्कीहरु आएपछि आफू र आफ्नी श्रीमतीले फेसबुक पेज नै ब्लक गर्नुपरेको पोयाले बताए । फेसबुकमा एक जनाले आफू चार व्यक्तिहरुलाई लिएर उनलाई मार्न आउन लागेको सन्देशसमेत पठाएका थिए ।

‘जाबो एउटा नाममा पनि यत्रो बितन्डा ?’ पोया भन्छन्, ‘के मलाई आफ्नो छोराको नाम राख्ने अधिकार छैन ?’

उनी अहिले पनि छोराको नाम बदल्ने मुडमा छैनन् । बरु एक दिन अमेरिकी राष्ट्रपतिले आफ्नो छोरालाई बोलाएर भेट्ने आशामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment