Comments Add Comment

पोखरा महानगरपालिकाले १३ हजार जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने


४ चैत, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले १३ हजार जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरपालिकाभित्रका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र नियमित स्वास्थ्य परीक्षण गरौं भन्ने सन्देश प्रवाह गर्न महानगरपालिकाले स्वास्थ्य परीक्षणको अभियान सुरु गर्न लागेको हो ।

विशेषज्ञ चिकित्सकसहित वडा–वडामा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य अवस्थाबारे जानकार रहनुपर्ने जागरण ल्याउन अभियान थाल्न लागेको महानगरपालिकाले जानकारी दिएको छ ।

पोखरा महानगरभित्र ३६ हजार जेष्ठ नागरिक रहेकोमा ७० वर्षमाथिका १३ हजार जेष्ठ नागरिकको वडा–वडामै पुगेर स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

महानगरभित्रका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी र अस्पतालबाट विशेषज्ञसहितको चिकित्सकको टोलीले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने महानगरले जनाएको छ । स्वास्थ्य चौकी नभएका ठाउँमा वडा कार्यालयबाट जनप्रतिनिधिको सहयोगमा परीक्षण गर्ने व्यवस्था मिलाइने महानगरले जनाएको छ ।

‘सरकारले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था त गरेको छ तर स्वास्थ्य अवस्थाबारे जानकारी नहुँदा बिरामी परेपछि मात्रै अस्पताल जाने चलन छ,’ पोखरा महानगरका मेयर मानबहादुर जिसीले भने, ‘आफ्नो स्वास्थ्यवस्थाका विषयमा नियमित स्वास्थ्य जाँच गराउनुपर्छ । ७० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे परीक्षणपछि परापर्श दिन्छौं भने अन्यलाई नियमित स्वास्थ्य जाँच गराऔं भन्ने सन्देश दिन्छौं ।’

३३ वडा रहेको देशकै भौगोलिक हिसाबले ठूलो पोखरा महानगरमा चैत ३ गतेदेखि वडा नम्बर १९ पुरन्चौरबाट ७० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने अभियानको सुरुवात गर्ने मेयर मानबहादुरले जानकारी दिए ।

स्वास्थ्य परीक्षणपछि पोखरा महानगरभित्रका जेष्ठ नागरिकको स्वास्थ्य स्थिति र जीवनको गुणस्तरमा सुधार आउने विश्वास महानगरले लिएको छ ।

‘जेष्ठ नागरिकमा हुनसक्ने मधुमेह, उच्च रक्तचाप, दमलगायतका समस्याको पत्ता लगाइ उपचार हुनेछ,’ मेयर जिसीले भने, ‘स्वास्थ्य परीक्षणबाट हाम्रो महानगरका जेष्ठ नागरिकले आफ्नो अवस्थाबारे जानकारी पाउनेछन् र स्वस्थ जीवन बाँच्नेछन् ।’

परीक्षणका क्रममा गम्भीर अवस्थाका जेष्ठ नागरिक भेटिए उपचारका लागि अस्पतालसम्म पुर्याइने मेयर जिसीले बताए ।

७० वर्षमाथिको ज्येष्ठ नागरिक प्राथमिकतामा परे पनि स्वास्थ्य परक्षिणका लागि आउने ६० वर्ष माथिका नागरिकले पनि सेवा पाउने महानगरका प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले बताए ।

वडावडा पुग्ने चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षणसँगै स्वस्थ्य जीवनशैली, खानपानका विषयमा समेत परामर्श दिनेछ ।

पोखरा महानगरपालिकामा १९ स्वास्थ्य चौकी, २ प्राथमिक स्वास्थ्य केन्द्र र २ जिल्लास्तरीय अस्पताल छन् भने १५ सहरी स्वास्थ्य केन्द्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment