Comments Add Comment

कैलालीमा अरु पनि छन् ‘राधा चौधरी’ हरु

घोडाघोडी 'बोक्सी' प्रकरणले उठाएका सामाजिक प्रश्न

बोक्सीविरुद्धको अभियानमा सहभागी हुँदै राधा चौधरी

दुई वर्षअगाडि कुरीतिजन्य हिंसाविरुद्धको अभियानका क्रममा ‘ए हजुर यसो गरे कसो होला’ भन्ने शीर्षकमा सञ्जय खड्काले एउटा कविता सुनाएका थिए ।

घोडाघोडीमा राधा चौधरीमाथि कुटपिटको घटनापछि फेरि यो कविताको सम्झना आएको छ-

खड्काको कविता यस्तो थियो-
बोक्सी त शक्तिशाली हुन्छ रे !
आफूले चाहेको जे पनि गर्न सक्छे रे !
त्यसोभए विश्वविद्यालय खोले हुन्छ
बोक्सी विद्या सिकाए हुन्छ
किन चाहियो बन्दुक अनि गोली र गठ्ठा ?
किन चाहियो प्रहरी र आर्मी ?
बोक्सीहरुको ब्यारेक बनाए हुन्छ,
राष्ट्रिय प्रतिरक्षाका लागि प्रयोग गरे हुन्छ,
अनि त, के को भारत केको चीन ?
सबैभन्दा माथि नेपाल हुन्छ ।
धामी त झन् शक्तिशाली हुन्छ रे !

०६० चैत्र २३ मा कैलालीको साविक बेला देवीपुर गाविस वडा नं. ७ घोड्सुवाकी ७० वर्षीया राजकुमारी रानालाई उनकै नातेदारहरुले कुटपिट गरेर रुखमा हात बाँधे । कपाल मुण्डन गरियो । दिसा खुवाइयो । गुप्ताङ्गमा कैंची र लठ्ठी घुसाई यातना दिइयो ।

आहा ! यस्तो गर्न सके त
युएनडीपीको रिपोर्टमा
शतप्रतिशत नेपाली स्वस्थ्य हुन्थे होला
नेपालीहरु
भूकम्प वा दैवी प्रकोपबाट सधैं सुरक्षित रहन्थे होला
नेपालीहरु
वैदेशिक हस्तक्षेपबाट स्वतन्त्र हुन्थे होला
दिल्ली र वाशिंटनका शक्तिहरू
काठमाडौंमा केन्द्रीकृत हुन्थे होला
जाबो एटम बमले के लछार्छ ?
बोक्सीले चाहृयो भने एकै वाणले बसीबसी धेरैलाई पछार्छ,
अनि त पोप फ्रान्सिस
हाम्रो स्वास्थ्यमन्त्री अगाडि झुक्थे होलान्
वल्र्ड फस्ट लेडी
हाम्रो रक्षामन्त्रीको अगाडि झुक्थी होलिन् ।
युएनले एकमात्र भिटो पावर नेपाललाई दिन्थ्यो होला
स्थायी समिति सदस्य बन्नका लागि
युएस, युके अनि रुस, चीन र फ्रान्स
नेपाललाई गुहार्थे होलान् ।
ए हजुर यसो गरे कसो होला ?

हप्ता दिन अगाडि विश्वभरि नै महिला दिवस मनाइरहँदा कैलालीको घोडाघोडी नगरपालिका ५ देवकलियाकी २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोपमा ७ घण्टासम्म निर्घात कुटपिट भयो ।

गाउँलेहरुले रमिते बनेर हेरिरहे । राधाले आमा बाबालगायत गाउँलेसँग गुहार मागिन् । रोइन्, कराइन् तर अहँ ! उनको चित्कार कसैको कानमा गुञ्जिएन ।

बरु गाउँलेले मान्दै आएका कथित भोले बाबा रामबहादुर चौधरी र पार्वती चौधरीले राधालाई पिटिरहँदा समाजले ताली बजायो ।

कैलाली जिल्लामा यो घटना पहिलो होइन । राधालाई पिटेकै दिन एकजना शिक्षिकासमेत बोक्सीको आरोपमा त्यहीँ पिटिएकी थिइन् ।

०६० चैत्र २३ मा कैलालीको साविक बेला देवीपुर गाविस वडा नं. ७ घोड्सुवाकी ७० वर्षीया राजकुमारी रानालाई उनकै नातेदारहरुले कुटपिट गरेर रुखमा हात बाँधे । कपाल मुण्डन गरियो । दिसा खुवाइयो । गुप्ताङ्गमा कैंची र लठ्ठी घुसाई यातना दिइयो ।

राजकुमारीले न्यायको पर्खाइमा बस्दाबस्दै ०७१ पुसमा मृत्युवरण गरिन् । दोषीलाई कडा करवाही भए आफूले न्याय पाएको महसुस हुन्थ्यो कि भन्ने उनको सपना चिताको धुँवासँगै आकाशमा विलायो ।

कैलालीमा बोक्सी आरोप लागेकी एक महिला मानसिक तनावको औषधि सेवन गरिरहेकी छिन् । ०७१ सालदेखि मानसिक उपचार गर्दै आएकी ६५ वर्षीया वृद्धाको अनुहारमा अहिलेसम्म चमक देखिएको छैन ।

अहिले फरक यति हो- राजकुमारी रानालाई धामी झाँक्रीले बोक्सीको आरोप लगाएर आफन्तबाट कुट्न लगाएका थिए । अहिले राधालाई धर्मका नाममा आएका भोलेबाबा आफैंले कुटे ।

हाम्रो समाजमा अझै पनि धर्मका नाममा होस् या संस्कृतिका नाममा, महिला हिंसा जारी छ । हिजोका दिनमा हाम्रो समाजमा धामी गुरुबाहरु बहुत हिरो बन्दै आफूलाई मन नपरेको मान्छे अर्थात गरिब, एकल महिला एवं पहुँचविहीनहरुलाई मनपरि ढंगले बोक्सी बनाई विभिन्न यातना दिने गर्थे ।

तर, कानुनले बोक्सी कसुर ऐन ल्याइसकेपछि धामी गुरुवाहरुको मुखमा ताल्चा लागेको थियो । र, कानून आएपछि यस्ता घटना अलि कम भएका थिए । तर, पछिल्लो समयमा फेरि धर्मका नाममा विभिन्न माता, बाबाहरुको जन्म हुने क्रम बढेको छ ।

उनीहरु गाउँगाउँमा महिनौं दिनसम्म पूजा लगाउने र गाउँलेहरुलाई तान्त्रिक शक्ति भएको विश्वास दिलाउन विभिन्नखाले हरकत गरेर अन्धविश्वासको परिबन्धमा पार्न तल्लीन छन् । यसैको परिणामस्वरुप राधाजस्ता अवलाहरुको जीवनमा चोट पुग्ने गरेको छ ।

आफूलाई भोलेबाबा भन्ने रामबहादुर चौधरी कानुनी कठघरामा उभिए पनि गाउँलेको मन कही कतै रोकिएन । कानुनले रामबहादुरलाई अपराधी ठहर गर्ला, तर गाउँलेहरु रामबहादुरलाई बाबाजी भन्दै सम्बोधन गर्नबाट पछि हटेका छैनन् ।

न त उनीहरुले ढुंगाको मूर्तिमा पूजा गर्न नै छाडेका छन्, नत रामबहादुरले नै भगवान भएको दाबी गर्दै ठूलो स्वरमा कराउनै छाडेका छन् । थुनाभित्र पनि उनको स्वर ठूलै छ ।

रामबहादुरले दुई महिना अगाडि सपनामा भगवानसँग विभिन्न कुराकानी गरेको गाउँलेहरुलाई सुनाएका थिए । सपनामा देखेको भन्दै उनले सामाग्रीहरु जुटाए । दुई महिनाको अवधिमै उनले तीन सयको हाराहारीमा उपचारका नाममा विभिन्न मान्छेहरुसँग भेटघाट गरे ।

दुईसय जनालाई त उनले झरफुक गर्ने नाममा कुटपिट नै गरे । राधालाई कुटिरहँदासम्म उन कि आमासमेत केहीबेरसम्म झारफुक गरेको मात्रै हो भन्ने ठानिरहेकी थिइन् ।

कैलालीमा बोक्सी आरोप लागेकी एक महिला मानसिक तनावको औषधि सेवन गरिरहेकी छिन् । ०७१ सालदेखि मानसिक उपचार गर्दै आएकी ६५ वर्षीया वृद्धाको अनुहारमा अहिलेसम्म चमक देखिएको छैन ।

उनलाई साविकको उर्मा गाविसस्थित उर्मी गाउँकी एक कथित माताले बोक्सीको आरोप लगाइन् । यो आरोपपछि उनी मानसिक रुपमा विक्षिप्त भइन् । मानसिक उपचारपछि हाल उनको स्वास्थ्यमा सुधार हुँदैछ ।

हाम्रो समाजमा धेरै महिलाहरु बोक्सीको आरोपबाट प्रताडीत छन् । तर आफ्नो बेइज्यती हुने र मानप्रतिष्ठामा आँच आउने डरले उनीहरु आफ्नो पीडा पचाएर बस्न बाध्य छन् ।

समाजको कहालीलाग्दो रुप

हामीले हाम्रा कलिला राधाहरुलाई यो प्रश्नको प्रतिवाद गर्न किन उत्प्रेणा दिइरहेका छैनौं ? गरीब महिलालाई नै कथित बोक्सीको आरोपमा सताइन्छ ?

कथित गुरुवा, धामीझाँक्रीलाई हिरो बनाउने पितृसत्तात्मक समाजले नै हो । पितृसत्तात्मक सामाजिक प्रणालीले पुरुषलाई नै सर्वश्रेष्ठ र महत्वपूर्ण व्यक्तिको दर्जा दिएका कारण महिलाहरु यस्ताखालका कुरीतिबाट ग्रसित छन् ।

महिलालाई कमजोर, अस्तित्वहीन र गौण पात्रका रूपमा स्थापित गर्नु पितृसत्तात्मक समाजको विडम्वना नै हो ।

अहिले हामी एक्काइसौं शताब्दीमा छौं । तर, हाम्रो समाजको गतिविधि मध्ययुगभन्दा माथि उठेको देखिँदैन ।

हामीले सामाजिक मुद्दाको धरातल कोट्यायौं भने डरलाग्दो पहाडझै‌ं देखिन्छ । नेपाली सञ्चार माध्यमलाई आधार मान्ने हो भने कथित बोक्सीको आरोपमा महिलाले भोगेको पीडामा कहीँ पूर्णविराम लागेको छैन ।

यो पीडा कुनै जाति वा समुदायसँग मात्रै जोडिएको छैन । अहिले थारू समुदायमा यस्तो समस्या देखिएको छ । तर, बोक्सीको आरोपमा थारूबाहेक अरु समुदाय पनि अछुतो छैनन् ।

बोक्सी भन्दै महिलालाई निर्घात कुट्ने, मलमूत्र कोच्याउने, समाज र घरबाट बहिस्कार गर्ने, गाउँ निकाला गर्ने, कपाल मुण्डन गर्ने, नाङ्गो पारेर गाउँ घुमाउने, सिस्नोपानी लगाउने, तताएको रातो फलामले डाम्ने, धारिला हात हतियार प्रहार गर्ने, जिउँदै जलाउने अनि कालोमोसो दलेर गाउँ घुमाउने जस्ता अमानवीय व्यवहार गरेको घटनाले डरलाग्दो संकेत दिँदैछ । जुन भावी पुस्ताले धिक्कार्ने गतिविधि हुन् ।

हामीले हाम्रा कलिला राधाहरुलाई यो प्रश्नको प्रतिवाद गर्न किन उत्प्रेणा दिइरहेका छैनौं ? गरीब महिलालाई नै कथित बोक्सीको आरोपमा सताइन्छ ? यदि समाजले बोक्सा-बोक्सी आरोप लगाएका व्यक्ति साँच्चै शक्तिशाली हुन्थे भने उनीहरू आफैं किन सम्पन्न छैनन् ? यी प्रश्नमा केन्दि्रत रहेर हामीले समाजमा सचेतना जगाउन आवश्यक छ ।

बोक्सी कसुर ऐन ०७२ मा बोक्सी आरोप सम्बन्धी कसुर गर्ने व्यक्तिलाई कसुर हेरी ६ महिनादेखि दुई वर्षसम्म कैद वा ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

साथै कसुर हेरी ५ वर्षदेखि ८ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानासमेत तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment