Comments Add Comment

क्रिकेट रंगशाला बनाउन धुर्मुसमाथि दवाव, के गर्छन् धुर्मुस ?

फाइल फोटो

केही समयअघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसलाई भेट्न पुगेका थिए । सो भेटमा उनले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अत्यावश्यक भएकाले त्यसको पहलकदमी लिन धुर्मुसलाई आग्रह गरे ।

तर, रंगशाला निर्माण हुनुपर्नेमा धुर्मुस पूर्ण सहमत हुँदाहुँदै पनि उनले यसमा तत्काल आफू अघि बढ्ने प्रतिवद्धता भने जनाउन सकेनन् । त्यसको कारण हो, उनले त्यतिबेला ‘नमूना नेपाल’ नामको महत्वाकांक्षी परियोजनामा हात हालिसकेका थिए ।

नेपालले एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाइसकेपछि अन्तर्राष्ट्रियस्तरको रंगशालाको आवश्यकता झन् टड्कारो बनेको छ । बुधबार बिमानस्थलमा क्रिकेट खेलाडीहरु फर्कँदा जम्मा भएको भिडले रंगशाला निर्माण हुनुपर्ने भन्दै नारावाजी नै गरेको थियो ।

चार वटा निर्माण परियोजना समयमा सम्पन्न गरेर पाचौं परियोजनामा तल्लिन रहेका धुर्मुसलाई अहिले ह्वारह्वार्ति म्यासेज र फोनहरु आउन थालेका छन् । सबैको जोड छ, अन्तर्राष्ट्रिय रंगशाला निर्माणको पहलकदमी धुर्मुस–सुन्तली फाउन्डेसनले लिनुपर्‍यो भन्ने ।

सरकारले निर्माण गर्दा भन्दा धुर्मुस–सुन्तलीले निर्माण गर्दा छिटो र प्रभावकारी रुपमा सम्पन्न हुने धेरैको विश्वास छ ।

तर, एउटा बोझ टाउकोमै रहेको अवस्थामा अर्को थप्न धुर्मुसलाई सजिलो छैन ।

‘क्रिकेट रंगशाला निर्माणका लागि देशवासीमा ठूलो आतुरता मैले पाएको छु,’ धुर्मुस भन्छन्, ‘यस्तो आतुरता म स्वयम्मा पनि छ ।’

तर एकैसाथ दुईवटा ठूला परियोजना हाँक्नु चुनौतिपूर्ण हुन सक्ने उनको चिन्ता छ ।

‘नमूना नेपालका लागि नै आर्थिक जोहो गर्ने काम नै बाँकी छ, त्यसमाथि रंगशाला पनि थपियो भने अलि गाह्रो पर्ला कि ! तर, नसकिने भने होइन,’ धुर्मुसले भने ।

रंगशाला निर्माण सरकारकै अग्रसरतामा हुनुपर्ने उनको ठहर छ । यदि सरकारले आर्थिक पाटोको जिम्मेवारी लिएर स्रोत उपलब्ध गराएमा आफूहरुले पुराना अनुभवका आधारमा निर्माणको संयोजन गर्न सक्ने उनले बताए ।

‘क्रिकेटप्रेमीहरु जुर्मुराएका बेला रंगशाला निर्माणका लागि आह्वान गर्दा स्रोत उठ्न सक्छ, तर, हामीले कतिवटा कामका लागि सहयोगको अपिल गर्ने, हाम्रो लागि पनि चिन्ताको विषय भएको छ,’ उनले भने ।

यसैबीच जनस्तरबाट रंगशाला निर्माणका लागि सामाजिक सञ्जालमा आह्वान गरेका हास्यकलाकार कुमार कट्टेल जिग्रीले पनि दाई धुर्मुसकै मुख ताकेका छन् । उनीसहित भद्रगोल टेलिश्रृंखलाको टिम मंगलबार धुर्मुससँग छलफल गर्न पुगेको थियो ।

यो कामको नेतृत्व धुर्मुस सुन्तली फाउन्डेसनले लिएको खण्डमा सबैतिर विश्वासको वातावरण बन्ने कुमारले अनलाइनखबरसँग बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment