Comments Add Comment

जुर्मुराउँदै पोखरेली रंगमञ्चः सेतो दरबारदेखि गन्धर्व नाटक घरसम्म

९ चैत, पोखरा । कुनै ताका पोखराका टोलटोलमा नाटक मञ्चन हुन्थे । नाटकमा काम गर्ने दर्जनौं संस्था पोखरामा क्रियाशील थिए । पोखराको नाटकले राजधानीसम्म मात्रै होइन, देशका विभिन्न ठाउँमा सुगन्ध छाडेको थियो । नाटकको मानकै रुपमा चिनिएको पोखरा सधैं उस्तै भने बनिराखेन । पोखरेली नाटक यात्रामा पनि थुप्रै उतारचढाव आएका छन् ।

पोखरेली रंगमञ्चमा वि.सं. १९९५ तिर नाटक र अभिनयको एउटा भोक जागेको हो । बडाहाकिम भएर पोखरा बसेका धनशमशेर राणाले आफ्नै सेतोदरबारमा त्यतिबेला ‘पोखराको चक्कर’ नाटक मञ्चनबाट जगाएको पोखरेली रंगमञ्चको भोक अझै मेटिएको छैन । बरू लामो कालखण्ड पार गर्दै ७० को दशकसम्म आइपुग्दा नाटक र अभिनयमा पोखरा अझ भोकाएको छ ।

२००७ सालतिरै पोखरामा ‘रतन’ र ‘प्रेम परिवर्तन’ नामका नाटक मञ्चनँगै विन्ध्यवासिनी नाटक मण्डली खुलेको इतिहास छ । ज्वाला धोंजुको जग्गामा एउटा हल  निर्माण गरी विन्ध्यवासिनीले नाटक मञ्चन गर्ने गरेको जानकार बताउँछन् । त्यसपछि पनि पोखरामा थुप्रै नाट्य संस्था र नाटक घरसमेत खुले । तर, निरन्तरता पाउन सकेनन् ।

२००७ सालतिरै पोखरामा टिकटमा पहिलो पटक मञ्चन भएको नाटक हो, भीमनिधि तिवारीको ‘सहनशिला सुशीला’ । ७० पछिको ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’, ‘एक रुपैयाँ’, ‘पुलिस’ र ‘प्यास’ हुँदै ‘सिरुमारानी’सम्म आइपुग्दा पोखरेली नाटकले धेरै उतारचढाव खेपेको छ ।

पोखरेली नाट्यकृति र रंगमञ्चले एकताका नेपालभर नै चर्चा कमाएको सरुभक्त सम्झन्छन् । ‘कनै बेला नाटक भनेपछि नेपालका रंगकर्मीले पोखरालाई सम्झन्थे,’ ३० को दशकमै पोखरेली नाटकलाई केन्द्रसम्म पुर्‍याएका नाटककार एवम् हालका संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त भन्छन् ।

२०१३ सालतिर ‘भूल’, ‘विषालु साप’, ‘किस्मतको फैसला’ आदि नाटकहरूको मञ्चन गरिएको इतिहास छ । चन्द्रकुमार पालिखे र स्थानीय राणाहरूको सक्रियतामा खुलेको ‘विनायक नाट्यशाला’मा नाटक देखाइन्थ्यो । किस्मतको फैसला नाटकले त १८ दिनसम्म मञ्चन भएर ऊ बेलै कीर्तिमान कायम गरेको थियो । निरन्तरता, साधना, आर्थिक अभाव जस्ता कारणले अहिलेको पुस्तासम्म पोखरेली नाटक सलल् बगेर आउन नसकेको नाटककार प्रकाश घिमिरे बताउँछन् ।

२०५५ सालमा नेपालमै दोस्रोपटक र पोखरामा पहिलोपटक तीनदिने पश्चिमाञ्चल क्षेत्रीय नाटक महोत्सव भएको थियो । त्यस पछाडि यस्ता उत्सवको स्वाद चाख्न नपाउँदा भोकै छ, पोखरा । पोखरामा पहिले नाटक मञ्चनमात्रै हुन्थेन, विकास निर्माणमा समेत सहयोगी बन्थ्यो । महेन्द्रनाथ खनालको सक्रियतामा २०१९ सालमा महेन्द्रपुल निर्माणका लागि नाटक मञ्चन गरिएको इतिहास छ पोखरासँग ।

२०२१ सालमा तत्कालीन नेसनल मल्टिपर्पोज हाइस्कुल (हाल, राष्ट्रिय उच्च मावि) का प्रधानाध्यापक श्यामप्रसाद पन्तको निर्देशनमा ‘राजा हरिश्चन्द्र’को मञ्चनसँगै २०२२ सालमा पृथ्वीनारायण क्याम्पसमा तिलकमान गुभाजुद्वारा निर्देशित शेक्सपियरको ‘म्याक्वेथ’ प्रदर्शन भएको थियो । सोही वर्ष चेतन कार्कीको लेखन तथा निर्देशनमा ‘आत्मा बेचेको छैन’ प्रदर्शित पोखरामा त्यस पछाडि पनि थुप्रै नाटकले बसाएको जग कसैले उखेल्न सक्दैन ।

२०२६ सालमा क्याप्टेन मीनबहादुुर गुरूङको सक्रियतामा खुलेको डाँफे कला मन्दिरले पोखरेली नाट्य र संगीतको क्षेत्रमा विषेश योगदान पुर्‍याएको कवि तीर्थ श्रेष्ठ बताउँछन् । यो संस्था अहिले पनि संगीतको क्षेत्रमा क्रियाशील छ । पोखरेली नाट्यमञ्चनको परम्परालाई स्थापित गर्न यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको तीर्थको भनाइ छ ।

डाँफे कला मन्दिरमा सरुभक्त, दुर्गा बराल ‘वात्सायन’, उनैका छोरा अनुप बराल, प्रकाश घिमिरे, प्रकट पंगेनी लगायत थुप्रै कलाकारले नाटक देखाएका थिए । तीसको दशक र त्यसभन्दा पछाडि पोखरेली नाट्यकर्मले लेखन, निर्देशन र अभिनय क्षेत्रमा स्वर्ण युग नै बनाएको बताउँछन् सरूभक्त ।

२०३० सालपछि पोखरामा थुप्रै संस्थाहरू रंगकर्ममा संलग्न हुन पुगेका थिए । २०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवारलेसमेत नाटक मञ्चन गरेको कवि तीर्थ बताउँछन् । वि.सं. २०४७ सालमा स्थापित प्रतिविम्ब नाट्य समूहले पोखरेली रंगकर्मको इतिहास नै रचेको थियो ।

कलाकार दुर्गा बराल, सरूभक्त, कवि तीर्थ श्रेष्ठ, रंगकर्मी अनुप बराललगायत ४० जना साहित्यकार, कलाकार, संगीतकार र रंगकर्मीको संलग्नतामा प्रतिबिम्ब नाट्य समूहको जन्म भएपछि पोखरेली नाटक अझै उचालिएको हो ।

ऊ बेलै पोखराबाट तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको नाटक महोत्सवमा नाटक मञ्चन भएको सरुभक्त बताउँछन् । महोत्सवमा निर्देशनतर्फ उत्कृष्ट र अभिनयतर्फ सान्त्वना भएपछि असहमति जनाउँदै सरूभक्तले पुरस्कार बहिस्कारसमेत गरेका थिए । युनापको अर्को नाटक ‘गोलार्धको कालो आकाश’मार्फत राष्ट्रिय नाटक उत्सवमा प्रकट पंगेनी ‘शिव’ उत्कृष्ट अभिनता बनेका थिए ।

विन्ध्यवासिनी युवा क्लब, सूर्योदय युवा क्लब, हिमशिखर कला परिवार, ओम शिवकला केन्द्र, आदर्श नाट्य समूह, हिमाली सांस्कृतिक परिवार, क्षितिज नाट्य परिवार, दीर्घजीवी, नवप्रतिभा नाट्य परिवार, धर्मसेवा परिवार, जमर्को साहित्य प्रतिष्ठान, सिर्जनशील साहित्य सदन जस्ता संस्था पोखरेली नाट्य कर्ममा जोडिए ।

केही संस्था अझै पनि छन् तर, नाट्य क्षेत्रमा क्रियाशील छैनन् ।  ६० को दशकपछि पोखरेली रंगमञ्चमा लेखन, चर्चा र सम्भावनाको विविध आयामहरूमा आफ्नो सक्रियता कम हुँदै गयो । ७० पछि दशकमा आइपुग्दा फेरि जुर्मुराउँदै गरेको पोखरेली रंगमञ्चमा स्तरीय नाटक र अभिनयको भोक अझै मेट्न नपाइएको पोखरेली पारखीको गुनासो थियो । नाटक देखाउनका लागि मात्रै देखाउने काम भएपनि राष्ट्रियस्तरमै ख्याती कमाउने गरी नाटक आउन सकेनन्, पछिल्लो समय ।

लामो इतिहास बोकेको पोखरेली रंगकर्मले नेपालको वाङ्मयमा महत्वपूर्ण भूमिका खेलेको छ । सरुभक्त भन्छन्, ‘नाटक लेखेर वा खेलेरै मात्र जीवन धान्न नसक्ने स्थिति र समयको विकासलाई पोखरेली कलाकारले पछ्याउन नसक्दा पोखरेली रंगमञ्च सुस्ताएको हो ।’

कताकति नाटक मञ्चन भए पनि प्रविधि र समयसापेक्ष पोखरेली नाटकले फड्को मार्न नसकेको पोखरेली नाटक पारखीले गुनासो गरेका थिए । पोखराली नाटकले अहिलेसम्म, अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरुङ, प्रमीला तुलाचनजस्ता सयौं कलाकार जन्माएको छ तर क्रियाशील र देशैभरि चर्चा कमाएका भने औंलामा गन्न सकिने छन् ।

रंगकर्म आर्थिक दृष्टिकोणबाट उत्पादक विधाका रूपमा स्थापित हुन नसक्नु पनि यसको विकासमा बाधा पुर्‍याउने गम्भीर विषय हो । नाटक प्रदर्शनपछि त्यसको मञ्चनमा लागेको खर्च पनि नउठ्ने परिस्थितिले पनि नाटक मञ्चन पछि पर्‍यो । पोखरामा नाटक मञ्चन गर्ने काम प्राय शून्य अवस्थामा रहेजस्तै नाटकसम्बन्धी अन्तक्रिर्या, बहस, विकसित प्रविधिसँगै पोखरेली रंगक्षेत्रलाई कसरी विकास गर्ने भन्ने विषयमा छलफल गर्ने परीपाठी पनि बसेन । जसले गर्दा पोखरेली नाटक पछि पर्दै आयो ।

टेलिभिजन, सिनेमा जस्ता माध्यमबाट मनोरञ्जन लिन अभ्यस्त दर्शकमाझ नाटकले मन जित्न सजिलो छैन । अभिनय, मञ्चसज्जा, मञ्चसामग्रीको प्रयोग, भेषभूषा प्रयोगमा पाइने परिपक्वताको अभाव खेप्यो पोखराले । विषयवस्तु र शैलीमा भेटिने विसंगति, नाट्यशैली र मञ्चन शैलीबीच तालमेल मिलाउन पछिल्ला समय पोखराले राम्रै अभ्यास र अध्ययन गर्नुपर्ने पुराना नाटककारको सुझाव छ ।

पोखरेली नाटकमा पछिल्लो जागरण

लामो समय उत्कृष्ट र चोपिलो नाटकको स्वाद लिन नपाएका पोखरेली दर्शकले ७० को दशकपछि भने कम्तीमा नाटक हेर्ने अवसरसम्म पाएका छन् । ७० यता लगभग वर्षैपिच्छेजसो नाटक मञ्चन भइरहेको पोखरामा नाटकप्रति मान्छेको चासो बढेको छ ।

खुल्दै बन्द हुँदै, बन्द हुँदै खुल्दै, जाग्दै सेलाउँदै, सेलाउँदै जाग्दै गरेको पोखरेली रंगमञ्च पोखरामा फेरि तात्न थालेको छ । पोखराका केही तन्नेरीहरुले नाटक घरको परिकल्पनामात्रै गरेनन्, नाटकको जागरण नै ल्याउने काम गरेका छन् । गएको महिनादेखि पछिल्लो समय नाट्यकर्ममा सक्रिय कलाकार परिवर्तनको नेतृत्वमा पोखरा थिएटरको गन्धर्व नाटक घर सञ्चालनमा आएको छ । पोखरामा अरु केही नाट्य संस्था अहिले क्रियाशील छन् । पोखरा आर्ट स्कुल, ओथेलो समूह लगायतले पनि नाट्य कर्म गरिरहेका छन् ।

कलाकार अनुप बराल अब पोखरामै आएर थिएटर खोल्ने र नियमित नाटक मञ्चनसँगै नाट्य पाठशाला नै चलाउने सोचमा रहेको सुनाउँछन् । ‘पोखराबाटै नाटकमा चिनिएँ । लामो समय राजधानीमा बसेर नाट्य कर्म गरें । अब पोखरै फर्कन्छु र फेरि पोखरामा नाटकको माहोल ल्याउने योजनामा छु,’ अनुप सुनाउँछन् ।

कपिल शर्मा, सौगात पोखरेल लगायत युवाको नेतृत्वको युथ क्रियसन थिएटर पोखराको अर्को नाटक घर निर्माणाधीन छ । थिएटरले पछिल्लो समय रामलाल जोशीको मदन पुरस्कार बिजेता पुस्तक ‘ऐना’बाट भर्जिन कथालाई नाटकमा मञ्चन गर्‍यो । पोखराकै मानक नाटककार तथा साहित्यकार, देशकै कुलपति सरुभक्तको नाटक सिरुमारानीबाट नाटक घरले व्यावसायिक नाटक मञ्चनको थालनी गरेको छ । नाट्यकर्मले पछिल्लो समय फेरि पोखरेली रंगमञ्चमा जागरण ल्याएको छ ।

पोखरामा राष्ट्रिय नाटक महोत्सव

पोखरेली नाट्य क्षेत्रलाई उठाउने प्रयास यस अगाडि पनि पटकपटक नभएका होइनन् । तर, समयसँगै ती इतिहास बने । बेलाबेला यहाँ बेतोडले हल्ला चल्छ । हल्लाहरूले हल्लाए, केही समय पोखरेली नाटकका सम्भावनाहरूलाई । हल्लासँगै केही कामको थालनी पनि भए र कहिले हल्ला स्वयं हल्ला नै भएर बिलाए पनि ।

नाटक घर मात्रै होइन, कला, साहित्य संगीतका प्रतिष्ठान नै पोखरा ल्याउन एकताका आन्दोलन पनि चल्यो । त्यही आन्दोलनका एक अभियन्ता सरुभक्त नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति छन् । उनै सरुभक्त नेतृत्वको प्रतिष्ठानले विश्व रंगमञ्च दिवसकै दिन पारेर बिहीबारदेखि गन्धर्व नाटक घरमा राष्ट्रिय नाटक महोत्सव गरेको छ । सरुभक्तकै लेखन र अनुप बरालको निर्देशनमा २ दशकअघि बनेको ‘थाङला’ नाटकबाट बिहीबारदेखि राष्ट्रिय नाटक महोत्सव सुरु भएको हो । महोत्सव ७ दिनसम्म चल्नेछ ।

स्थानीय व्यवस्थापन पोखरा थिएटरले गरेको छ । थिएटरको गन्धर्व नाटक घरमा सुरु महोत्सव प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गरे । मुख्यमन्त्री गुरुङले कला तथा साहित्यको विकास गर्नका लागि विधान तयार पारिसकेको बताए । ‘सभ्य समाजका लागि महत्वपूर्ण भूमिका कला तथा साहित्यको पनि हुन्छ,’ उनले थपे, ‘यसैका लागि प्रतिष्ठानको अवधारणा ल्याउनुपर्छ ।’

आफूले स्वच्छ, शान्त, समृद्ध र सभ्य प्रदेशको कल्पना गरेको जनाए । ‘४ नम्बर प्रदेशलाई सफल बनाउन पनि कला साहित्य र संगीतको महत्व छ,’ उनले थपे ।

पोखरामा नाटय महाविद्यालय खोल्नुपर्‍यो

देशमा फरकफरक ठाउँमा रहेका सम्पूर्ण नाटयकर्मीलाई एउटै स्टेजमा ल्याउन सफल भएको प्रतिष्ठानका कुलपति सरुभक्तले जनाए । ‘महोत्सवले नाट्यकर्मीलाई एकीकृत तथा हौसला प्रदान गरेको छ,’ सरुभक्तले भने, ‘महोत्सवले नयाँनयाँ गतिविधि सञ्चालन गर्न पनि सघाउ पुगेको छ ।’ पोखराको मात्र नभएर समग्र राष्ट्रकै नाटक क्षेत्रको विकास गर्न पोखरामा नाटय महाविद्यालयको मागसमेत गरे । ‘महाविद्यालयको स्थापना भएमा नाटकबारे शिक्षा हासिल गर्न सजिलो हुन्थ्यो,’ उनले भने । नाट्य पाठशालाको स्थापनाले पोखरामा पर्यटकीय नगरीको रुपमा मात्र नचिनिएर नाटय नगरीको रुपमा समेत चिनिने धारणा राखे ।

नाट्य क्षेत्रमा दक्षिण यसियामा नेपाल एकदमै सक्रिय राष्ट्र भएको महोत्सवका सहसंयोजक रमेशरञ्जन झाले जानकारी दिए । काठमाडौं केन्दि्रत नाटय गतिविधिलाई बाहिर ल्याउन राजधानी बाहिर महोत्सव गर्न थालेको उनले बताए ।

मानव जीवन र त्यस वरिपरिको संवेगको संगमस्थल नै नाटक भएको प्रतिष्ठानका पूर्वसदस्य सचिव तीर्थ श्रेष्ठले जनाए । पहिलेपहिले पोखरामा नाटक चल्यो भन्दा पनि कस्तोकस्तो चल्यो भन्ने कुरा हुने उनले स्मरण गरे ।

महोत्सवमा १० नाटक प्रस्तुत हुने संयोजक पुस्कर गुरुङले जानकारी दिए । महोत्सवमा चैत ९ गते थाङ्ला, १० र ११ गते एन्टिगोनी नाटक मञ्चन हुनेछ । महोत्सवमा पोखरेली युथ क्रियसनको ‘भर्जिन कथा’, पोखराकै नेसनल आर्ट स्कुलको ‘सान्नानीको सन्ते राजा’, हिमाली सांस्कृतिक परिवारको ‘नारी शिक्षा’, ओथेलो थिएटरको ‘जय गान’, लमजुङको ‘पानीघट्ट’, ‘एक चिहान’, ‘चाँदीको घेरा’, ‘सखी’ लगायत नाटक मञ्चन हुने छन् । महोत्सव अवधिभर हरेक दिन दिउँसो १ बजे र साँझ ५ बजे नाटक मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment