Comments Add Comment

सत्ताबाट चाँडै उत्रिने छैनन् शक्तिशाली पाँच नेता, तर ट्रम्प ?

९ चैत, काठमाडौं । सत्ताको कुर्सी यस्तो हुन्छ, त्यहाँ पुगेपछि कोही पनि ओर्लिन चाहँदैनन् । यो यस्तो माध्यम पनि हो, जसले विश्वका नेताहरुलाई एक ठाउँमा उभ्याउँछ ।

एक फाइनान्सियल सफ्टवेयर र डेटा कम्पनीले राजनीतिज्ञहरुसँगको कुराकानीका आधारमा यो अनुमान लगाउने कोसिस गरेका छन् कि विश्वका शक्तिशाली नेताहरु कहिलेसम्म सत्तामा रहन सक्छन् ?

यसमा डोनाल्ड ट्रम्प, शी जिनपिङ, किम जोङ उनदेखि नरेन्द्र मोदीको सत्ता यात्राबारे विश्लेषण गरिएको छ ।

मोहम्मद विन सलमान, साउदी अरब

उनी २०१७ मा साउदी अरबका राजाका उत्तराधिकारी बनेका थिए । अहिले साउदी अरब सरकार ३२ वर्षे सलमानकै इशारामा चल्छ । ब्लूमबर्गको अनुमान छ कि कम्तिमा ५० वर्ष अर्थात् २०६८ सम्म उनले राज गर्न सक्छन् । किनकी उनले आफ्ना प्रतिस्पर्धीहरुलाई समाप्त पारिसकेका छन् । तर, उनका लागि खतरा यो छ कि थुप्रै दुश्मन कमाएका छन् । यद्यपि उनीहरु शक्तिहीन छन् ।

किम जोङ उन, उत्तर कोरिया

आफ्नो पिताको निधनपछि उनले २०११ मा उत्तर कोरियाको शासन सत्ता सम्हालेका थिए । अनुमान छ कि उनी त्यसबेलासम्म सत्तामा रहन्छन्, जबसम्म सेनाले उनलाई हटाउँदैन । उनको शासनकालको कुनै सीमा छैन ।

सी जिनपिङ, चीन

उनी २०१२ मा चीनको राष्ट्रपति बनेका थिए । पाँच वर्षे कार्यकालमा उनले आफ्ना सबै विरोधीलाई समाप्त पारेका छन् । क्रमशः आफ्नो पकड बलियो बनाएका उनले २०१८ मा दुई कार्यकालको सीमा हटाए । यदि यो नहटाइएको भए उनी २०२३ सम्म मात्र राष्ट्रपति बन्न सक्थे ।

तर, अब अनुमान छ कि उनी २०३० सम्म चीनको राष्ट्रपति हुनेछन् ।

भ्लादिमिर पुटिन, रुस

पुटिन सन् २००० मा चुनाव जितेर पहिलोपटक राष्ट्रपति बनेका थिए । २००८ देखि ०१२ सम्म प्रधानमन्त्री भएका उनले हालै मात्र चौथो कार्यकालका लागि राष्ट्रपतिमा चुनिएका छन् । रुसी संविधानअनुसार उनी २०२४ सम्म राष्ट्रपति हुन सक्छन् । तर, ब्लूमबर्गको अनुमान छ कि त्यसपछि पनि रुसको सत्तामा उनी नै हुनेछन् । त्यसका लागि पुटिनले संविधान संशोधन गर्न पनि सक्छन् वा पपेट राष्ट्रपति बनाउन सक्छन् ।

नरेन्द्र मोदी, भारत

२०१४ मा चुनाव जितेर भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदी दोस्रो कार्यकालको तयारी गरिरहेका छन् । २०१९ मा आमचुनाव हुनेछ । तर, ब्लूमबर्गको विश्लेषण छ कि भारतमा अहिले उनलाई कुनै चुनौती छैन । त्यसैले उनी २०२९ सम्म भारतको प्रधानमन्त्री हुनसक्छन् ।

डोनाल्ड ट्रम्प, अमेरिका

ब्लूमबर्गको विश्लेषण छ कि यदि अमेरिकाको राजनीति यसरी नै अघि बढ्ने हो भने २०२० मा डोनाल्ड ट्रम्पले चुनाव जित्ने छैनन् । किनकी उनको लोकप्रियतामा लगातार गिरावट आएको छ ।

यो सबै अनुमान मात्र हो, जुन असफल हुनपनि सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment