Comments Add Comment

नेपालको जातवादी राजनीतिमा पश्चिमाहरुको तेस्रो असफलता

जातीय राजनीति सकियो भने हिमालय क्षेत्रमा तीनको भूमिका सकिन्छ

फाइल तस्वीर

भर्खरै सम्पन्न निर्वाचनको पर्यवेक्षण गर्न आएको युरोपियन युनियनको निकै ठूलो टोलीले आफ्नो प्रतिवेदन मार्फत धेरै सुझावहरु सार्वजनिक गरेको छ । सुझावहरु कार्यान्व्यन गर्न नेपालको संविधानमा नै ब्यापक परिवर्तन ल्याउनु पर्ने हुन्छ । समानुपातिक प्रतिनिधित्व र संघीयताको स्वरुपमा परिवर्तन गरी जिल्ला र राज्यका सिमानामा नै ब्यापक हेरफेर गर्नुपर्ने हुन्छ ।

दुइवटा सुझावहरु खास गरी खसआर्यलाई समानुपातिक प्रतिनिधित्वको क्लस्टरबाट हटाउनु पर्ने र चुनाव क्षेत्र लगायतका सिमानाहरु परिवर्तन हुनु पर्नेले दीर्घकालीन भू-राजनैतिक महत्व राख्दछन् । सरकारमा बसेका ‘बाहुन’ हरुले सुझावहरुको खरो बिरोध गरे । उता जनजाति संगठनहरुले समर्थन गरे । युरोपियन यूनियनले खोजेको ठ्याक्यै यही हो । कुनै न कुनै जातवदी राजनीति नेपालमा चलिरहोस् भनेर यी सुझावहरु फालिएका हुन् ।

युरोपियन युनियनलाई थाहा छ कि यी सुझावहरु तत्काल कार्यान्वयन हुँदैनन् । ठूलो राजनैतिक यात्रा तय गरेेर वनेको संविधान तत्काल फेरिने सम्भावना छैन । तर पनि सुझाव दिने वाहानामा नेपालमा मत्थर हुँदै गएको जातवादी राजनीतिलाई पुनः उकास्ने र जातीय नारामा नेपाल र हिमालय क्षेत्रमा आफ्नै भू-राजनितिक अस्तित्व कायम गर्ने राणनीति घुसेको छ ।

जातवादी राजनीतिको माध्यमवाट मात्रै आफ्नो भू-राजनैतिक स्वार्थ पुरा गर्न सकिन्छ भन्ने कुरा युरोपियन साम्राजवादले धेरै पहिलादेखि प्रयोग गर्दै आएको तरिका हो र हालका घटनाहरु तीनै पुराना मान्यताको निरन्तरता मात्रै हो । तर, इतिहासले के पुष्टि गरेको छ भने नेपालको जातवादी राजनीतिमा पश्चिमाहरु सँधै असफल मात्रै भए, सँधै हार खाए । वेलायती साम्राज्यवादले नेपालमा जातीय राजनीतिको महत्वकांक्षा पृथ्वीनारायण शाहको पालादेखि नै राखेको थियो ।

बेलायतले काठमाडौंका मल्ल राजाहरुलाई पृथ्वी नारायण शाहविरुद्ध लड्न सेना पठाउँदा नै उच्च जातका खस राजाहरुलाई आफ्नो साम्राज्य वढाउन नदिने उद्देश्य राखेको थियो । पछि क्रिस्चियन धर्म प्रचारकहरुलाई देश निकाला गरिएपछि पृथ्वीनारायण शाहविरुद्ध वेलायत र सिंगो पश्चिमा जगत सँधै आक्रामक बनि रह्यो र उनलाई एउटा दानवको रुपमा चित्रण गरिरहे ।

पृथ्वी नारायण शाहले अन्य जनजाति राज्यमा आक्रमण गरेकै हुन् । ती जातजातिहरुलाई हेपेको र शोषण गरेकै हो । तर, जनजातिहरुलाई राज्य विस्तारको अभियानमा र राज्य सञ्चालनमा समेत सहभागी गराउन पृथ्वी नारायण शाह सफल भएका थिए ।

जनजातिका अधिकांश चाडपर्वहरु विषेश गरी काठमाडौंका नेवार समुदायका संस्कृतिलाई राष्ट्रिय संस्कृती बनाउँदै हिन्दु धार्मिक परम्परा र जनजाति परम्परालाई मिश्रति रुपमा नेपाली संस्कारको रुपमा विकासित गरियो । फलस्वरुप नेपालको हिन्दु परम्परा ‘जनजाति हिन्दु’ को रुपमा विकास भयो, जुन अहिले पनि भारतिय हिन्दु परम्परा भन्दा अधिकांश कुरामा फरक छ ।

नेपालको बहुल जातीय परम्परा र एक आपसको घुलमिललाई राम्रोसँग बुझ्न नसकेको बेलायतको जातवादी अभियानलाई पृथ्वी नारायण शाहको ‘चार जात छत्तिस बर्णको फूलबारी’ भन्ने अभियानले असफल बनाईदियो । यो उनीहरुको जातवादी राजनीतिको पहिलो हार थियो ।

सरकारमा बसेका ‘बाहुन’हरुले सुझावहरुको खरो बिरोध गरे । उता जनजाति संगठनहरुले समर्थन गरे । युरोपियन यूनियनले खोजेको ठ्याक्यै यही हो । कुनै न कुनै जातवादी राजनीति नेपालमा चलिरहोस् भनेर यी सुझावहरु फालिएका हुन्

काठमाडौंका मल्ल राजाहरुलाई जोगाउन सेना पठाउँदा होस् अथवा जनजाति राजाको पक्षमा वोल्दा होस्, बेलायती सामा्राज्यवादले कुनै जातीय समानता र अधिकारको लागि तेसो गरेको थिएन ।

नेपालको एकीकृत राज्यलाई कमजोर बनाउन चाहान्थ्यो र आˆनो प्रभुत्वलाई मजवुत बनाउन त्यसो गरेको थियो । फुटाउ र राज गर भन्ने साम्राज्यवादी नीति अनुसार नै बेलायतले नेपालमा जातवादी नारा अगाडि सारेको थियो । त्यो नीति हालसम्म पनि कायम नै छ । इतिहासकालदेखि नै पश्चिममा जगतले नेपालमा जातवादलाई राजनीतिको केन्ऽमा राख्न खोज्नुमा आफ्नो भू-राजनीतिक स्वार्थ जोडिएको छ ।

यो स्वार्थ भारतीय स्वतन्त्रता र चीनमा कम्युनिष्ट शासनको उदय भएपछि झन वढेर गयो । त्यो वेला भारत सोभियत यूनियनसँग बढी हिमचिम गर्थ्यो  भने चीनमा विकसित वर्गी राजनीतिले नेपाल र भारतका ग्रामिण भेगमा नयाँ राजनितिक बहस श्रृजना गरिसकेको थियो । तिब्बत चीनको नियन्त्रणमा गएपछि अवस्थामा पश्चिमा शक्तिका लागि नेपाल अत्यन्त महत्वपूर्ण भू-राजनितिक क्षेत्र बन्यो । आधुनिक विकासका परियोजनाहरु सञ्चालन गरेर आफ्नो उपस्थिति मजवुत बनाउँदै जातीय कुराहरुलाई सँधै आफ्नो एजेण्डा बनाई नेपालका उपल्लो जातका शासकहरुलाई सँधै तर्साउन र कुनै न कुनै हिसावले जनजातिहरुलाई वर्गीय राजनितीबाट विभूख गराई उनीहरु कम्युनिष्ट विचारसँग नजिक नहोउन् भन्ने चाहना प्राथमिकतामा रह्यो ।

क्रिश्चियन धर्म प्रचारकहरुलाई देश निकाला गरिएपछि पृथ्वीनारायण शाहविरुद्ध वेलायत र सिंगो पश्चिमा जगत सँधै आक्रामक बनि रह्यो र उनलाई एउटा दानवको रुपमा चित्रण गरिरहे

यति हुँदाहुँदै पनि पञ्चायत विरोधी राजनीतिले कांग्रेस र वामपन्थीहरुको प्रभाव बढ्दै गएको अवस्थामा कुनै ढंगको जातीय राजनीति नेपालमा सुरु होस् भन्ने पश्चिमा चाहाना पूर्णरुपमा फेल खायो । जनजाति बाहुल्य क्षेत्रमा सञ्चालित विकासे अयोजनाहरु भएको ठाउँमा झन् वामपन्थीहरुको प्रभाव वढ्दै गयो । जातवादी राजनीतिवाट हिमालयमा आफ्नो भू-राजनैतिक पकड कायम गर्ने पश्चिमा नीतिको यो दोश्रो हार थियो ।

पञ्चायतकाल अल्पसंख्यक गरिव किसान जनजातिका लागि एउटा काहाली लाग्दो समय थियो । सरकारको र स्थानिय सामन्तहरुको दोहोरो शोषणमा परेका थिए । जातीय राजनीतिले यो शोषण र विभेदको कुरा कहिल्यै उठाएन । गरीब जनजातिका वास्तविक जातीय विभेदका कुरा पश्चिमा जगतले चलाएका विकासे अभियानमा कहिल्यै परेनन् । अल्प संख्यकहरुको पहिचानका कुरा प्राथमिकतामा थिएनन् । जातकै कारण नारकीय जीवन जिउन वाध्य दलितहरुको कुरा कहिल्यै उठेनन् । मध्यम वर्गीय सहरिया जनजाति सम्भ्रान्तलाई जातीय राजनीतिमा प्रवेश गराइ जातवादलाई राजनीतिको केन्द्र बनाउनु वाहेक पश्चिमा जातिवादी राजनितीको अरु उद्देश्य थिएन ।

जनजाति बाहुल्य क्षेत्रमा सञ्चालित विकासे अायोजनाहरु भएको ठाउँमा झन् वामपन्थीहरुको प्रभाव वढ्दै गयो । जातवादी राजनीतिबाट हिमालयमा आफ्नो भू-राजनैतिक पकड कायम गर्ने पश्चिमा नीतिको यो दोश्रो हार थियो ।

एनजीओहरुको उदय भए पश्चात ०४६ सालको परिवर्तनसँगै नेपालमा जातीय राजनीतिले पूर्णरुपमा विकासे परियोजनाको जस्तो रुप लियो । टाठाबाठाहरुले जनजाति उत्थानका नाममा एनजीओ आन्दोलन गरे तर, सीमान्तकृत गरीब जनजातिहरु यो अभियानवाट पूर्णरुपमा वाहिर परे । सहरिया मध्यम वर्गको हातमा रहेको यो आन्दोलनले जनजिविकाको कुरा कहिल्यै उठाएन र जातीय विभेदको राजनीतिलाई पहिचानको राजनीतिमा परिणत गर्‍यो ।

गणतन्त्रस्थापना संगै यो पहिचानको राजनीति यति अघि बढ्यो कि झण्डैझण्डै देशको सवै क्षेत्रमा पहिचानको राजनीति मूख्य राजनीतिक विचारको रुपमा स्थापित भयो । देशको मुख्य शासन प्रणाली नै जातीय पहिचानका आधारमा स्थापना हुने अवस्था ल्याइदियो । हरेक पार्टीहरुमा बिद्रोह ल्याइदियो । ठुलो संख्यामा पहिचानवाला पार्टीहरु सृजना भए । पहिलो संविधानसभापछि पहिचानको राजनीति नेपालको सवै भन्दा शक्तिशाली भएर निस्कियो । युरोपियन दाताहरु सवै भन्दा धेरै दौडधुपमा लागे ।

धर्म निरपेक्ष राज्य घोषणा हुनु र नेपालको राजनीति जातीय पहिचानमा प्रवेश गर्नु उनीहरुको सबै भन्दा ठुलो सफलता थियो । पहिलो संविधानसभाका सभासदहरुले युरोप भ्रमण र गोष्ठीमा धेरै समय खर्च गरे । जातीय राजनीतिको उत्कर्षताले अझ धेरै लिन खोज्दा पहिलो संविधानसभा फेल भयो ।

पहिचानको राजनीतिले गरिब किसान जनजातिको बास्तिविक समस्यालाई भन्दा ठूलाठालुको राजनीतिक दाउपेचलाई प्राथमिकता दिएको कारण दोस्रो संविधानसभामा जातवादी राजनीति कमजोर बन्यो । पश्चिमा जगतले धेरै आश राखेको जातीय राजनीति संविधानको घोषणासँगै झण्डै झण्डै बिलिन भयो । अहिलेको चुनावपछि त जातीय राजनीति एक ढंगले अन्त्य नै भएको हो । यो अवस्था आउनु भनेको पश्चिमा जगतले अपनाएको जातवादी राजनीतिको तेस्रो हार हो ।

स्थिर सरकार र समृद्धिको अभियानमा जुटेको नेपालमा जातीय राजनीतिलाई सजिलै ब्युझाउन सकिने अवस्था छैन । जनताले संविधानलाई पूर्णरुपमा आत्मासाथ गरिसकेका छन् । जातीय राजनीतिका लागि फेरि तत्कालै आन्दोलनमा होमिन तयार देखिँदैनन् । जातीय विभेद, जिविकोपार्जनका समस्या र छुवाछुत जस्ता जघन्य समस्या ज्यूकातिहु छन् तर, जातीय राजनीतिबाट यि समस्याको समाधान आउँदैन भन्ने सोचको बाहुल्यता देखिन्छ ।

समानुपातिक प्रतिनिधित्वको प्रावधानले ठूलाठालु जनजातिको राजनीतिक अभिलाशा केही हदसम्म पुरा गरिदिएको छ । यसले पनि सजिलै जातवादी राजनीति मूख्य एजेण्डाको रुपमा अगाडि बढ्ने सम्भावना देखाउँदैन ।

नेपालको समृद्धिको अभियानका मुख्य सारथी ठानिएका छिमेकीहरु भारत र चीन पनि नेपालमा जातीय द्वन्द बढेको देख्न चाहँदैनन् । चीन यो बिषयमा अझ धेरै सचेत देखिन्छ । यस्तो परिस्थीतीमा युरोपियन यूनियनले संविधान नै फेर्नु पर्ने गरी जातीय राजनीति उक्साउने खालको धारणा किन सार्वजनिक गर्‍यो होला ? यो जानी बुझी र सोच विचार गरेरै आएको धारणा हो । धार्मिक, सांस्कृतिक र रहनसहनमा विचलन ल्याई जातीय द्वन्द सृजना गरेर मात्रै पश्चिमा आधुनिकताको विस्तार गर्न सकिन्छ र यही आधुनिकतामा युरोपियन युनियनको भू-राजनीतिक स्वार्थ टिकेको कुरा उनिहरुलाई राम्रोसँग थाहा छ ।

बाबुराम भट्टराइले फेसबुकमा भने जस्तो ‘गुड र गोवर छुट्याउन नजानेर’ मात्रै यस्तो धारणा आएको हैन । समानुपातिकता र आरक्षणको विभेद छुट्याउन नसकेर यस्तो अधिव्यक्ति आयो भन्ने आसय बावुराम भट्टराइको टिप्पणी देखिन्छ ।

खासमा भन्ने हो भने यो योजनाबद्ध ढंगले जातवादी राजनीतिको विउ नमरोस् भनेर विउ जोगाउन आएको अभिब्यक्ति हो ।

जातीय राजनीति सकिनु भनेको यूरोपियनहरुको भूमिका हिमालय क्षेत्रमा सकिनु हो । आर्थिक र राजनीतिक हिसावले अहिले नै भूमिकाविहीन छन् । उनीहरुले चलाएका एनजीओहरु बद्नाम छन् । हालको अवस्थामा जातवादी राजनीतिको बीउ फेरि छरेर अहिलेको सरकार र नेपाली समाजको पाइन जाच्न खोजिएको हो । समृद्धिको अभियानबाट नेपालको भू-राजनीतिमा पूर्णरुपमा विस्थापित भइने अवस्थाको आंकलन गर्दै आफ्नो ‘स्पेस’ बनाउन खोजिएको हो । स्थिरता र समृद्धि नेपाली जनताले दिलैदेखि चाहेको वर्तमान अवस्थामा पश्चिमा शक्तिले छरेको जातवादी राजनीतिको बीउ उसको चौथो हार भएर निस्कने सम्भावना धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment