शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘शत्रु गते’को व्यापारलाई लिएर यसको निर्माणपक्ष र टिम खुशी देखिएको छ । चलचित्रको प्रतिक्रिया वुझ्न शनिबार बिहानदेखि नै कलाकारको जम्बो टोली हल-हलमा पुगेको हो ।
निर्माता तथा मुख्य कलाकार हरिवंश आचार्य, नायिका प्रियंका कार्की, कलाकार दीपाश्री निरौला, नायक पल शाह र नायिका आँचल शर्मा, निर्देशक प्रदिप भट्टराई, निर्माता किरण केसी काठमाण्डौको गोपिकृष्ण हल पुगेका थिए ।
गोपिकृष्ण हलमा दर्शकको उपस्थिती अपेक्षित भन्दा कम छ । कलाकारले दर्शकसँग सेल्फी खिचे भने ‘रुपै मोहनी’ गीत पनि गाएका थिए । चलचित्रको व्यापार मल्टिप्लेक्समा आक्रामक छ । काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा शनिबारका लागि टिकट पाउन मुश्किल देखिएको छ । सिंगल हलमा बढी चल्छ भन्ने अपेक्षा गरिएको चलचित्रलाई मल्टिप्लेक्सका दर्शकले बढी साथ दिएका छन् ।
‘शत्रु गते’ हेर्न हलमा दर्शकको यस्तो क्रेज, भिडियोमा हेर्नुहोस्ः
निर्देशक प्रदिप भट्टराई दर्शकले दिएको प्रतिक्रियाबाट उत्साहित भएको बताउँछन् । आफूले, जे कुरा दिन खोजेको हो सो कुरामा दर्शक सन्तुष्ट भएको भन्दै उनले खुशी व्यक्त गरे ।
शुक्रबार ७० लाख हारहारीको ग्रस कलेक्शन गरेको चलचित्रले शनिबार १ करोड भन्दा बढीको कारोबार गर्ने अनुमान गरिएको छ । काठमाण्डौ बाहिर चलचित्रको व्यापार कमजोर छ । विशेषगरि, चलिरहेको ‘एसइइको परिक्षा’को प्रभाव चलचित्रको व्यापारमा परेको छ ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी, शिवहरि पौडेल, राजाराम पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
फोटो तथा भिडियोः शंकर गिरी