Comments Add Comment

ओली निवास बन्यो सञ्चार राज्यमन्त्रीको ‘क्वार्टर’

गोकुल बास्कोटा भन्छन्-उहाँले घरभाडा लिनुहुन्न, म पनि राज्यकोषबाट लिन्न

११ चैत, काठमाडौं । झण्डा र डण्डासहितको टोली अटाउने फराकिलो घर खोज्दै हिँडेका सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा बालकोटस्थित प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको घर अगाडि पुगे ।

मन्त्री क्वार्टरमा ठाउँ खाली नभएपछि घर खोज्दै हिँडेका बास्कोटा रामनवमीकै साइतमा ओली निवासमा सरे ।

अब ओली सरकारका सञ्चार राज्यमन्त्रीलाई भेट्नुपर्‍यो भने अब बालकोटस्थित ओली निवास जानुपर्नेछ । प्रधानमन्त्री ओलीको परिवार सरकारी निवास बालुवाटार सरेपछि यो घर खाली थियो, जहाँ अब सूचना तथा सञ्चार राज्यमन्त्री बास्कोटाले डेरा जमाएका छन् ।

ओलीको घरमा बस्न थालेको पुष्टि गर्दै राज्यमन्त्री बास्कोटाले अनलाइनखबरसँग भने, ‘घर खोज्दै जाँदा आफ्नै अध्यक्ष तथा प्रधानमन्त्रीको घर फेला पर्‍यो, आजदेखि म उहाँकै घरमा बस्न थालेको छु । प्रधानमन्त्रीज्यूको सरकारी सम्पत्ति सदुपयोगको सिद्धान्त मैले नै लागू गरेँ ।’

प्रधानमन्त्री ओलीले सरकारी खर्च कटौतिको सिद्धान्त अघि सारेर त्यसको शुरुवात आफ्नै सचिवालयमा ब्यापक कटौतीबाट थालेका छन् । त्यस्तै सरकारको खर्चमा विदेश भ्रमणमा रोक लगाएका छन् ।

बास्कोटाले ओलीको बालकोटस्थित घरमा बसुन्जेल मन्त्रीले आवास वापत पाउने भाडा रकमसमेत नलिने बताए । उनले भने, ‘प्रधानमन्त्रीले मसँग घर भाडा लिनुहुन्न, म पनि सरकारी कोषबाट घरभाडा लिन्न । सदुपयोगको सिद्धान्त यहीँबाट लागू हुन्छ ।’

उनले अघि भने, ‘आफ्नो अध्यक्ष तथा देशको प्रधानमन्त्रीको घरमा बस्न पाएँ, मैले राज्यकोषमा व्ययभार किन थप्ने ?’

मन्त्रीहरुका लागि राज्यले ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा मन्त्री क्वार्टरको व्यवस्था गरेको छ । तर, सबै मन्त्रीलाई पुल्चोकमा पर्याप्त भवन नभएपछि काठमाडौंमा घर हुने आफ्नै घरमा बस्छन् भने अरुले घरभाडा पाउने गर्छन् ।

एमालेको राजनीतिमा सधैं ओलीको निकट रहेर काम गरेका बास्कोटाले यसपटक प्रतिनिधिसभा निर्वाचनमा पनि ओलीपछि दोस्रो लोकपि्रय मत पाएर विजय हासिल गरेका थिए । ओलीले बास्कोटालाई मन्त्री क्वार्टर नपुगेपछि आफ्नै घरमा बस्न स्वीकृति दिएका हुन् ।

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाका स्थायी बासिन्दा बास्कोटाको भक्तपुर लोहकिल्थलीमा ३ कोठे एकतले घर छ । तर, सुरक्षाकर्मी बस्ने र गाडी राख्ने ठाउँ समेत नभएपछि बास्कोटाले झण्डा र डण्डा -सुरक्षाकर्मी) लाई फर्काउने गरेका थिए ।

प्रधानमन्त्रीले आफ्नो क्याबिनेटका मन्त्रीलाई आवासका लागि आफ्नै घर उपलव्ध गराएको यो पहिलो घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment