Comments Add Comment

‘व्यापार युद्ध’ले बढायो सुनको भाउ, सातामै १३ सय बढ्यो

साढे चार वर्षयताकै सबैभन्दा महंगो


१२ चैत, काठमाडौं । पछिल्ला दिनमा सुनको भाउ उकालो लागेको छ । एक सातामामात्रै सुनको भाउ प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको बढेको यो मूल्य पछिल्लो साढे चार वर्ष यताकै उच्च हो ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार अघिल्लो साता सोमबार छापावाल सुनको मूल्य ५७ हजार दुई सय रुपैयाँ थियो । मंगलबार ५७ हजार पाँच सय रुपैयाँ पुगेर बुधबार फेरि ५७ हजार चार सय रुपैयाँमा झरेको थियो ।

त्यसयता सुनको मूल्य दैनिक रुपमा बढेको छ । बिहीबार ५७ हजार नौ सय र शुक्रबार ५८ हजार तीन सय रुपैयाँ पुग्यो । सोमबार (आज) भने आइतबारकै मूल्य कायम भएको छ ।

तेजाबी सुनको मूल्य पनि छापावाल सुनकै भाउमा उकालो लागेको छ । यो सुन पनि पछिल्लो एक सातामा एक हजार तीन सय रुपैयाँ प्रतितोलाकै दरमा वृद्धि भएको छ ।

अघिल्लो साताको सोमबार ५६ हजार नौ सय रुपैयाँ प्रतितोला रहेको तेजाबी सुनको मूल्य आज ५८ हजार दुई सय रुपैयाँ पुगेको छ ।

यसअघि २०७० सालमा सुनको मूल्यले सर्वाधिक उचाई चुमेको थियो । भदौ ०७० मा सुनको भाउ ६३ हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता माघ ०७२ मा सुनको भाउ प्रतितोला ५५ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यसकारण बढ्यो सुन

महासंघका उपाध्यक्ष अर्जुन रसाइलीका अनुसार पछिल्लो समय दुई ठूला शक्तिराष्ट्र अमेरिका र चीनबीच ‘व्यापार युद्ध’ को खतरा बढेकाले सुनको भाउमा उतारचडाव आएको हो ।

चिनियाँ वस्तुको आयातले आफ्नो अर्थ व्यवस्थासँग अनुचित प्रतिस्पर्धा गरेको भन्दै अमेरिकाले चिनियाँ सामानमा ६० अर्ब डलरसम्म शूल्क लगाउने र चीनको लगानी सिमित बनाउने घोषणा गरेको थियो । अमेरिकाको उक्त निर्णयले दुई मुलुकबीच तनाव बढाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारसम्बन्धी कार्यालयलाई नयाँ करमा ६० अर्ब डलर शुल्क तिर्नुपर्ने सामानहरुको सूची प्रकाशित गर्न १५ दिनको समय दिइसकेका छन् ।

चीनले भने आवश्यक उपायहरुसहित त्यसको प्रतिकार गर्न आफू तयार रहेको बताएको छ । आफ्नो हितका लागि अन्त्यसम्म ब्यापार युद्ध लड्ने उसले बताएको छ ।

शक्तिराष्ट्रको विवादले विश्व अर्थतन्त्रमा त्रास बढाएको छ । यसले पछिल्लो समय लगानीकर्ताहरू ुनमा लगानी गर्न लालयित भएका कारण भाउ उच्च दरमा बढेको व्यवसायीहरुको दाबी छ ।

‘अन्तर्राष्ट्रिय बजारमा तनाव आउँदा सुनमा मौज्दात गर्ने प्रवृत्ति नै छ, यस्तो अवस्थामा सुनको भाउमा उच्च वृद्धि हुन्छ,’ महासंघका उपाध्यक्ष रसाइली भन्छन् ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस (दुई तोला ६६ लाल) सुनको मूल्य १ हजार ३ सय ४८ दशमलव पाँच डलरमा छ ।

पछिल्लो समय चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो साताको सोमवार प्रति १० ग्राम ४८ हजार ४० रुपैयाँ मूल्य रहेको चाँदीको भाउ आज ५० हजार एक सय ५५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment