Comments Add Comment

अन्तरजातीय बिहे भाड्ने योजनामा स्थानीय तह मुछिएपछि …

१४ चैत, सप्तरी । अन्तरजातीय प्रेम विवाह भाड्ने योजनामा मुछिएपछि कंचनरुप नगरपालिका विवादमा परेको छ ।

कंचनरुप नगरपालिका ९ का मनिष साह र कविताकुमारी रामले तीन महिनाअघि प्रेम गरेर विवाह गरेका थिए । तर, मनिषको परिवारले यो बिहे स्वीकार गरेन ।

मनिष र कवितालाई अलग गराउने अनेक प्रयास असफल भएपछि केटाका परिवार नगरपालिकाको न्यायिक समितिमा आएको थियो । तर, समितिले आफ्नो क्षेत्राधिकार नै भएको विषयमा सुनुवाइ मात्र गरेन, फैसला नै सुनाएको छ ।

तर, केटाकेटी अलग हुन नमानेपछि केटापक्ष कुटपिटमा उत्रिँदा स्थानीय जनप्रतिनिधि मुखदर्शक बनेका छन् ।

इजलासको निर्णय अलगअलग राख्नू

मनिषका पिता शिबनारायणले उजुरी दिएपछि न्यायिक समितिले मनिष, उनका पिता शिवनारायण, कविता र उनका पिता बिनोद रामलाई पत्र काटेर बोलाइएको थियो ।

मंगलबार दुबै परिवार इजलास हाजिर भए । छलफलपछि इजलासले निर्णय सुनायो, ‘अहिले केटा र केटीको विवाह गर्ने उमेर नरहेकाले आ-आफ्नो परिवारको जिम्मा लगाउनू ।’

मनिषको उमेर १९ बर्ष र कविताको उमेर १६ बर्ष रहेको भन्दै न्यायिक समितिको इजलासले दुबैलाई परिवारजनले जिम्मा लिने फैसला सुनाएको छ । युवतीको उमेर विवाह योग्य भएपछि युवकको जिम्मा लगाउने निर्णय समितिको छ ।

तर, मनिष र कविता यो निर्णय मान्न तयार छैनन् । तर, स्थानीय तहको न्यायिक समितिको आदेश नमानेको भन्दै मनिषलाई उनका बुबाले कुटपिट गरेका छन् ।

‘उनीहरुले हामी अलग भएर बस्न नसक्ने बताए लगत्तै मनिषका पिता शिवनारायणले इजलासकै समयमा छोरालाई कुट्न थाले’ कविताका पिता बिनादले भने, ‘आफ्नै छोरालाई छतबाट फ्याँक्न लाग्दा केहि व्यक्तिहरुले बचाएका थिए ।’

श्रीमान मनिषलाई बचाउन जाँदा आफूलाई पनि कुटपिट गरेको कविताले बताइन् । मनिषका पितासहितको समूहले आफूहरुलाई कुटपिट गर्दा पनि नगरपालिकाका पदाधिकारीहरुले रोक्ने प्रयास समेत नगरेको उनीहरुको भनाइ छ । ‘साँझतिर आएको प्रहरीको सहयोगमा आफूहरु घर जान सकें’ बिनोदले भने ।

गर्भवती कविता र मनिषको प्रेम

मनिष र कविताका अनुसार उनीहरु ६ महिनादेखि प्रेममा थिए र तीन महिनाअघि भागी बिहे गरेका हुन् । सुनसरीको इनरुवास्थित राधाकृष्ण मन्दिरमा विवाह गरेपछि कोठा भाडामा लिई दुई महिना सँगै बसे । यस क्रममा मनिषा गर्भवती पनि भइन् ।
छोराले दलित युवतीसँग विवाह गरेर भागेको थाहा पाएका शिबनाराययण उनको खोजी शुरु गरे । इनरुवामा रहेको थाहा पाएपछि उनी आफ्नो छोरालाई नियन्त्रणमा लिई करिब दुई साता सुनसरीमै आफन्तको क्रममा राखे ।

कविताले सुनसरी र सप्तरीका प्रहरीलाई गुहारेकी थिइन् । मनिष जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित भए । विवाहका लागि उमेर नपुगेपनि कविता गर्भवती रहेको भनेपछि दुबैलाई सँगै बस्न दिइयो । तर, मनिष आफ्नो घर गएनन् ।

बुबाले कुटपिट गर्ने गरेको भन्दै कविताकै घरमा बस्न थाले । मनिषका पिता शिबनारायणले भने उच्च अदालत जनकपुर इजलास राजविराजमा आफ्नो छोराको अपहरण गरेको भन्दै कविताका परिवारबिरुद्व रिट दायर गरे ।
प्रतिउत्तर दिने क्रममा कविताको परिवारले अपहरण गरेको नभई राजीखुसी बिहे गरेको बताए । कविताले आफू गर्भवती पनि रहेको मेडिकल रिपोर्ट पनि पेश गरे ।
अदालतले अपहरणको दाबी अस्वीकार गर्‍यो । तर, शिबनारायणले अदालत प्राङ्गणमै छोरालाई कुटपिट गरेको भन्दै बिनोदले भने, ‘त्यहाँ उपस्थित भएकाहरुले बचाए ।’

मनिष र कवितालाई अलग पार्ने योजना विफल भएपछि शिवनारायणले नगरपालिकाको न्यायीक समितिमा पुगेका थिए ।

उप प्रमुख भन्छिन्ः त्यस्तो केहि भएको छैन
इजलासकै समयमा प्रेम विवाह गर्ने जोडीलाई कुटपिट गरिएको घटनाबारेे सोध्दा कंचनरुप नगरपालिकाकी उप प्रमुख निरु पोखरेलले भने यस्तो केहि नभएको बताएकी छन् । उनले भनिन्, ‘त्यस्तो केहि घट्ना भएन् । हामीले एकमतका साथ निर्णय सुनायौं ।’
उनले बाँकी कुरा आफूलाई भन्न नमिल्ने र नगरपालिकाको प्रबक्तासँग बुझ्न भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment