Comments Add Comment

स्थानीय सरकार शिक्षक नियुक्ति, सरुवा र बढुवामा केन्द्रित भएको आरोप

१८ चैत, पोखरा । कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले स्थानीय सरकार शिक्षक नियुक्ति, सरुवा र बढुवामा मात्र केन्दि्रत भएको आरोप लगाएका छन् ।

जिल्ला शिक्षा कार्यालय कास्कीले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत आइतबार पोखरामा आयोजना गरेको ‘अभिभावक सचेतनाका लागि सञ्चार सहकार्य’ कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारले शिक्षाप्रतिको आफ्नो जिम्मेवारी बोध गर्नुको साटो नयाँ शिक्षक नियुक्ति, सरुवा र बढुवामा मात्र केन्दि्रत भएको आरोप लगाएका हुन् ।

जिल्ला शिक्षा अधिकारी पौडेलले जिल्ला र क्षेत्रीय शिक्षा कार्यालय यही चैत २८ गतेदेबाट बन्द भएमा शैक्षिक कार्यालयको जिम्मेबारी कसले लिने भन्नेमा अन्यौलता देखिएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने,’शिक्षा कार्यालय चैत २८ गतेदेबाट बन्द हुने भनिएको छ, नयाँ शिक्षा कार्यालय स्थापना गर्ने तयारी पनि छैन, यस्तो अवस्थामा शिक्षा कार्यालयको जिम्मेवारी कसले लिन्छ ? हालै भइरहेको एसईई परीक्षाको उत्तर पुस्तिकाको जिम्मेवारी कसले लिन्छ ? ती उत्तरपुस्तिकाको जाँचको ब्यबस्था कसले गर्छ ? जाँची सकेपछि त्यसको जिम्मेवारी कसले लिन्छ ? शिक्षक छनौट समितिको माइन्यूटको जिम्मा कसले लिन्छ ? शिक्षा समितिको माइन्यूट छ त्यो कसले जिम्मा लिन्छ ? भोलि अभिलेख खोज्न आए कहाँ जाने ? सबै लथालिङ्ग हुनेवाला छ ।’

जिशिअ.पौडेलले विद्यालयमा भर्ना अभियान सञ्चालन गर्न परिपत्र आएको सो अनुसार गर्ने तयारी भइरहेपनि अब चैत २८ गतेपछि शिक्षा कार्यालय नै नरहने भएपछि त्यो अभियान कसले सञ्चालन गर्छ ? भनेर प्रश्नसमेत उठाएका छन् ।

सरकारले कर्मचारी ब्यबस्थापन नगरेकोप्रति आक्रोश व्यक्त गर्दै उनले शिक्षा कार्यालयमा कार्यरत आफूसहितका कर्मचारीहरुको ब्यबस्थान कसले र कहाँ गर्नेसमेत टुंगो नलागेको बताए । यसले कर्मचारीमा निरासा छाएको उनको भनाइ थियो ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी भएको दाबी

जिल्ला शिक्षा कार्यालय कास्कीले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम सफल भएको दाबी गरेको छ ।

कार्यक्रममा उप-जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले कक्षा १, २ र ३ का विद्यार्थीमा पढ्ने बानीको विकास गर्ने उद्धेश्यले सञ्चालित सो कार्यक्रम हालसम्मकै सर्बाधिक प्रभावकारी भएको दाबी गरे ।

कास्कीका ३८३ विद्यालयमा सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीमा खोजी खोजी पुस्तक पढ्ने बानीको विकास गरेको, स्कुल छाड्ने विद्यार्थीको संख्यामा कमी ल्याएको, श्रुति लेखनमा उल्लेख्य सुधार आएको, अभिभावकमा पनि पढ्ने वातावरण निर्माण गर्नुपर्छ भन्ने चेतना खुलाएको, अभिभावकमा आफ्ना छोराछोरीसँगै अर्काको छोराछोरीलाईपनि हेर्ने दृष्टिकोण सकारात्मकतर्फ उन्मुख गराएको, शिक्षकलाई विद्यार्थीप्रति जिम्मेबार बनाउन यस कार्यक्रमले सघाएको ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment